कालिकोटकाे कालेखोलामा पहिरो: कर्णाली राजमार्ग ठप्प

 साउन १२, २०७६ आइतबार १७:५:२२ | मनिराज पाण्डे
unn.prixa.net

कालिकोट - शनिबार रातिदेखिको अविरल वर्षाका कारण शुभकालिका गाँउपालिका–१, कालेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग पूर्णरुपमा ठप्प भएको छ ।

कर्णाली राजमार्गको जुम्ला सुर्खेत सडकखण्ड अन्तर्गत शुभकालिका गाउँपालिकाकाे गगने खोलाको पहिरोले राजमार्ग अवरुद्ध गर्दै आएकोमा आइतबार नयाँ ठाँउमा पहिरो गएको हो । कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले कालेखोलामा गएको पहिरोका कारण कर्णाली राजमार्ग पूर्ण रुपमा ठप्प भएकाे बताउनुभयाे।

पहिरोकाे अवस्था बुझ्न सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर र जिल्लाका प्रहरी प्रमुखसहितको टोली घटनास्थल जान लागेको प्रमुख जिल्ला अधिकारी कार्कीले जानकारी दिनुभयाे । ‘तत्काल पहिरो पन्छाउन सकिने अवस्था छैन’, प्रजिअ कार्कीले भन्नुभयाे, ‘सानो डोजरले काम गर्न नसक्ने जानकारी आएको छ, ठूलो मेसिन खोजी भइरहेको छ।’

वर्षायाम सुरु भएसँगै कर्णाली राजमार्गमा सामान्य पानी पर्दा पनि पहिरो खस्ने समस्या छ । यसले गर्दा राजमार्गमा गुड्ने सवारी साधन र यात्रुहरुले सास्ती खेप्नु परिरहेको छ । आइतबार बिहानदेखि कालिकोट दैलेखको सिमाना दही खोलादेखि गगने भीरसम्म र हुल्मदेखि जिते बजारसम्म सवारी साधनहरुको लाइन लागेकाे छ भने यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया