नदी नियन्त्रणमा सहयोग गर्न प्रदेश २ सरकारको आग्रह

 साउन १३, २०७६ सोमबार १५:८:४६ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - प्रदेश दुईमा भीषण वर्षा र बाढीका कारण भएको क्षतिबारे जानकारी गराउँदै सहयोग जुटाउने उद्देश्यले काडमाण्डौ पुगेको मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सर्वदलीय टोलीले साेमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसँग छलफल गरेको छ ।

मन्त्रालयको सभाकक्षमा भएको छलफलमा मुख्यमन्त्री राउतले बाढीबाट भएको क्षति भयावह रहेकोले तत्कालीन र दीर्घकालीन योजना बनाएर तटबन्ध मर्मत तथा निर्माणमा सहयोग गर्न आग्रह गर्नु भएको छ ।

कटानका कारण नदीको पानि सोझै गाँउमा पसिरहेकोले त्यस्ता ठाँउहरुमा तत्काल मर्मतको काम गर्नु पर्ने  उहाँले बताउनुभयो ।  मर्मत कार्यमा सहयोग गर्न संघीय मन्त्री पुनसँग आग्रह गर्दै उहाँले दीर्घकालीन रुपमा चुरे संरक्षण, चुरेमा भइरहेको अनियन्त्रित बसोवासको नियन्त्रण, नदीहरुमा पक्की तटबन्ध निर्माणसहितको योजना बनाउनु पर्ने बताउनुभयो ।

उहाँले दीर्घकालीन योजनाअनुरुप कार्य नभए मधेश मरुभूमिमा परिणत हुने भएकाले संघीय मन्त्रालयलाई तत्काल यस विषयमा सोच्नु पर्ने आवश्यक समेत औल्याउनुभयो ।

छलफल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आवश्यक रकम अर्थ मन्त्रालयसँग माग गरेर तत्काल गर्न सकिने कामहरु अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको मुख्यमन्त्री राउतले बताउनु भएको छ।

छलफलमा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, राजपा संसदीय दलका सचेतक परमेश्वर साह, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिवका साथै प्राविधिक टोलीको समेत सहभागिता रहेको थियो ।

अन्तिम अपडेट: चैत ७, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया