देश परदेशको अंक ३७० मा वैदेशिक रोजगारीमा हुने ठगीबाट बच्ने उपाय

 साउन १४, २०७६ मंगलबार ६:५:३९ | उज्यालो सहकर्मी

काठमाण्डाै - नवलपरासीका ईश्वरी पौडेल, चार दिनअघि साउन १० गते यूएई उड्ने तयारीमा हुनुहुन्थ्यो । घरबाट ८ गते बिदा भएर निस्कने तयारीमा रहेका ईश्वरीलाई ५ गते नै काठमाण्डौबाट एक जना साथीले फोनमा भने : 'विदेश उडाउने एजेण्ट त भाग्यो ।' 

प्रहरीबाट अवकाश लिएका ईश्वरीलाई एजेण्ट रम्तुल्ला मियाले यति विश्वास दिलाएका थिए की आफू प्रहरी भएर पनि शंका गर्ने ठाउँ नै भेट्नुभएको थिएन । भिसा आयो भन्दै इमोमार्फत कपि पठाएका थिए । १० गते उडान हुन्छ भनेर मिति नै तोकेका थिए ।

तर यति धेरै विश्वास दिलाएका एजेण्ट ईश्वरीको पैसा लिएर बेपत्ता भए । ईश्वरी नचिनेका एजेण्टको कुरामा विश्वास गर्दा ठगीमा पर्नुभयो । तर बाराका बर्मदेव यादवलाई त आफ्नै मामाले ठगे ।

बर्मदेवलाई उहाँका मामाले असार १२ गतेभित्र ओमान पठाइदिने भन्दै ८५ हजार रुपैयाँ मागे । मामाले नै विदेश पाठइदिन्छु भनेकाले उहाँले सयकडा पाँचका दरले ऋण काढेर मागेजति पैसा दिनुभयो ।

तर टीकाटालो गरेर पैसा दिनुपर्ने मामा उल्टै भाञ्जाको पैसा कुम्ल्याएर फरार भए । मामाले ठगेको रकम फिर्ता पाउँ भन्दै बर्मदेवले वैदेशिक रोजगार विभागमा उजुरी दिनुभएको छ ।

नचिनेका एजेण्टबाट ठगिएका ईश्वरी चाहिँ प्रहरीको अपराध महाशाखामा उजुरी दिने तयारीमा हुनुहुन्छ । ईश्वरी र बर्मदेव मात्रै होइन, यसरी ठगीमा पर्ने अरु पनि धेरै छन् ।

गएको आर्थिक वर्षमा मात्रै यसरी ठगीमा परेका २०३९ उजुरी वैदेशिक रोजगार विभागमा दर्ता भएको छ । आफू चनाखो हुने हो भने ठगीबाट बच्ने विभिन्न उपायहरु छन् ।

वैदेशिक रोजगारीमा हुने ठगी रोक्नकै लागि सरकारले मोबाइल एपदेखि एसएमएस, हरेक पालिकामा रोजगार सेवा केन्द्र र अनलाइन प्रणालीको शुरुवात भएको छ।

सरकारको नयाँ नियमअनुसार अब कसैले पनि एजेण्ट बनेर विदेश पठाउने काम गर्न पाउँदैन । विदेशमा हुने काम, कमाइ र सेवासुविधाको बारेमा एजेण्ट वा म्यानपावरको भर पर्नै पर्दैन ।

अनलाइनबाटै पनि जानकारी लिन सकिन्छ । अनलाइनको पहुँच छैन भने फोन गर्दा पनि हुन्छ । स्वदेश र विदेशको रोजगारीको जानकारीसँगै गुनासो सुन्न सिंहदरबारभित्रै कल सेन्टरको स्थापना भएको छ ।

फोन गरेर सबै जानकारी लिन र गुनासो राख्न सकिन्छ ।

वैदेशिक रोजगारीकामा हुने ठगी र यसबाट बच्ने उपायबारे विस्तृतमा थाहा पाउन मंगलबार बिहान ८ बजेको  नेपालखबर पछि प्रसारण हुने  कार्यक्रम ‘देश परदेश’ को अंक ३७० सुन्न नभुल्नुहोला । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया