ग्लाेबल टी २० क्रिकेट : सोमपाल आवद्ध हक्सद्वारा सन्दीप आवद्ध टोरन्टो तीन विकेटले पराजित

 साउन १४, २०७६ मंगलबार ७:१४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

क्यानडामा जारी ग्लोबल टी २० क्रिकेट लिगमा सोमपाल कामी आवद्ध विनिपेग हक्सले सन्दीप लामिछाने आवद्ध टोरन्टो नेशनल्सलाई तीन विकेटले पराजित गरेको छ ।

क्यानडामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको टोरन्टोले २० ओभरमा सात विकेट गुमाउँदै २ सय १६ रन बनाएको थियो । भारतीय खेलाडी युवराज सिंहको कप्तानीमा रहेको टोरन्टोले सन्दीपलाई आइतबारको खेलमा बेन्चमा राखेको थियो । यही खेलका लागि सन्दीप र सोमपाल सिंगापुरबाट टी २० विश्वकपको एसिया छनोट सकिएको केही समयपछि क्यानडा गएका थिए ।

टोरन्टोका लागि रोद्रिगो थोमसले ६५ रन बनाए भने युवराज सिंहले ४५ तथा कायरन पोलार्डले विस्फोटक ५२ रन बनाए । पोलार्डले २१ बलमा तीन चौका र ५ छक्का प्रहार गरेका थिए । बलिङमा ड्वायन ब्राभोले चार विकेट लिए ।

जवाफमा सोमपालको टिम विनिपेगले २० ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । उसका शीर्ष तीन खेलाडीले मात्र दोहोरो अंक बनाए पनि जित निकाल्न सफल भयो । उसका लागि क्रिस लियोनले विस्फोटक ८९ रन बनाए । जसमा उनले ४८ बलमा दुई चौका र १० छक्का प्रहार गरेका थिए ।

यस्तै, सेइमन अनवरले ४३ तथा सन्नी सोहलले ५८ रन बनाए । उसको जितमा सन्नी सोहल र क्रिस लियोन बीचको सतकीय साझेदारी नै जितको आधार बन्यो । दोस्रो विकेटका लागि लियोन र सोहलबीच एक सय १७ रनको साझेदारी भएको छ ।

यो खेलमा सोमपाल पनि बेन्चमा रहेका थिए । यो जितले विनिपेगले तीन खेलमा चार अंक बनाउँदै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया