‘मेरो हातको सीपले श्रीमानलाई कतारबाट फर्काएँ’

 साउन १४, २०७६ मंगलबार १७:३४:४४ | मेरो कथा मेरो भोगाई

सुनिता मगर, रोल्पा/हाल, काठमाण्डौ ।

दुःख नगरी सुख हुँदैन । यो कुराको अनुभव म आफैंले गरको छु । मेरो घर रोल्पा । आजभन्दा झण्डैं २२ वर्ष अघि म ईँटाभट्टामा काम गर्न रोल्पाबाट काठमाण्डौ आएको थिएँ ।

ईँटाभट्टामा अरु काम गर्न हातमा सीप थिएन । जानेको त्यही भारी बोक्न हो । त्यही काम गरियो । भारी बोक्ने कामबाट काठमाण्डौमा मेरो संर्घष सुरु भएको थियो । तर अहिले म अरुलाई काम दिन सक्ने भएको छु । यो मेरो मेहनतको प्रतिफल हो । 

श्रीमान् श्रीमती नै ईँटाभट्टामा काम गर्‍यौं । । दुई तीन वर्ष त भट्टामै बस्यौं । केही वर्षपछि बुढोले गाडी सिकेर चलाउन थालेपछि कोठा लिएर बस्यौं । तर दुःखै थियो । अलिक धेरै कमाइ हुने बाटो त्यो बेला विदेश नै थियो । 

मेरा श्रीमान् पनि साउदी जानुभयो । तर चार पाँच वर्ष बस्दा पनि कमाइ भएन । उल्टो ऋण लागेर फर्किनुभयो । 

त्यसपछि फेरि उहाँ डोजर ड्राइभरको काममा कतार जानुभयो । कतार गएपछि उहाँको काम र कमाइ राम्रो नै भयो । तर मलाई लाग्यो उहाँको कमाइले मात्र केही हुँदैन । त्यसपछि मैले पाँच वर्ष अघि सिलाइबुनाईको सीप सिकेँ । र तीन वर्ष अघि आफैले लूगा सिलाउने पसल पनि खोलेँ । 

मैले आफैंले कमाउन थालेपछि धेरै कुरा फेरियो । दाङमा जग्गा किनियो । पहिले पहिलेको कमाइ त ऋण तिर्दै ठिक्क भइहाल्यो । फेरि छोराछोरीको पढाइमा पनि त खर्च भयो । उहाँ ९ वर्ष कतार बस्नुभयो ।

तर मैले यता कमाइ गर्न थालेपछि उहाँलाई यतै फर्किएर आउनुस् भनेर बोलाएँ । सधै परिवारसँग टाढा बसेर पनि के गर्नु । बुढेशकालमा पनि अर्काको देशमा दुःख गर्नुपर्‍यो । 

हातमा सीप नहुँदा पहिले भारी बोक्न पर्‍यो । श्रीमानलाई विदेश पठाउन पर्‍यो । तर अहिले राम्रो छ । सुख छ भन्दा पनि हुन्छ । श्रीमान् पनि फर्किएर आएपछि दुई लाखमा टेम्पो किनेर चलाइरहनुभएको छ । दिनको दुई हजार रुपैयाँभन्दा माथि नै छ कमाइ । 

म पनि महिलाका सबै डिजाइनका लूगा सिलाउँछु । चेटपटे पनीपुरी पनि बेच्छु । यसो गर्दा झण्डै दुई हजार रुपैयाँ त मेरो पनि छ कमाइ । 

अरु दुई तीन जनालाई रोजगारी पनि दिएको छु । हामीलाई यहाँ कामको भ्याइनभ्याइ छ । हातमा सीप हुने हो भने त जताततै पैसा रहेछ । म त सबै दिदीबहिनीलाई पनि यही भन्छु कि सीप सिक्नुस् । आफ्नै ठाउँमा केही गर्नुस् । हातमा सीप भयो भने जहाँ जाँदा पनि सँगै जान्छ तर पैसा र अरु कुरा केही क्षणका लागि हो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया