स्वर्गद्वारी आश्रमले जग्गा लिजमा दिएर आम्दानी जुटाउन थाल्यो

 साउन १४, २०७६ मंगलबार १९:२०:५४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – एक हजार बिघाभन्दा बढी जग्गा भएर पनि आयस्ता नआउने भएपछि स्वर्गद्वारी आश्रमले जग्गा लिजमा दिएर आम्दानी जुटाउन थालेको छ ।

आश्रमले आफ्नो एकल स्वामित्वमा रहेको दाङ र देउखुरी उपत्यकाको २४ बिघाभन्दा बढी जमिन व्यक्ति र स्थानीय सरकारलाई लिजमा दिएको छ । जसबाट आश्रमलाई वार्षिक झण्डै ३२ लाख रुपैयाँ आउने गरेको स्वर्गद्वारी आश्रम घोराहीका लेखापाल गोविन्द न्यौपाने बताउनु हुन्छ ।

लिजमा दिएको जग्गामा घोराही उपमहानगरले सेवारखोला नजिक अटो भिलेज सञ्चालन गरेको छ भने घोराहीकै झिगौरामा व्यवसायीलाई राख्नका लागि संरचना निर्माण भैरहेको छ ।

देउखुरी उपत्यकामा रहेको जग्गा भने इँटा भट्टा सञ्चालनका लागि व्यक्तिलाई दिइएको छ । प्यूठानमा रहेको स्वर्गद्वारी मन्दिरमा चढाएको भेटी र जग्गाको भाडाबापतको यही रकमले अहिले आश्रमको सम्पूर्ण कार्य सञ्चालन हुँदै आएको छ ।

किसानले लगाएको जग्गाबापत आश्रमलाई बुझाउनु पर्ने सबै कुत बुझाए वार्षिक झण्डै ७० लाख रुपैयाँ उठ्नु पर्ने हो । तर अहिले वार्षिक झण्डै ८ लाख रुपैयाँ मात्रै उठ्ने गरेको आश्रमले जनाएको छ । यही अवस्था देखेपछि जग्गा लिजमा दिने निर्णयमा पुगिएको आश्रमले जनाएको छ ।

मोही नलागेको जग्गामा मात्रै अहिले स्वर्गद्वारी आश्रमले आफ्नो अधिकार प्रयोग गर्दै आएको छ । आश्रमको झण्डै ७ सय बिघा जग्गामा मोही रहेको छ ।

अन्तिम अपडेट: चैत २१, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया