विश्वकप फुटबलकाे छनाेट खेल नेपालमै हुनेमा अन्याेल

 साउन १४, २०७६ मंगलबार २१:६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सन् २०२२ मा आयोजना हुने विश्वकप फुटबलका लागि छनोट चरणअन्तर्गत नेपालमा हुने खेल अन्योलमा परेको छ ।

आगामी भदौमा नेपालमा पहिलो होम गेमअन्तर्गत अस्ट्रेलियासँग खेल्नु पर्ने तालिका सार्वजनिक भइसकेको छ । तर नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशाला मर्मत सम्भारका क्रममा रहेकाले नेपालको होम गेम अन्योलमा परेकाे हो ।

एन्फाको मंगलबार बसेको आपतकालीन बैठकले एसियाली फुटबल महासंघलाई होम म्याचको सट्टा अवे म्याच खेल्ने र अन्य खेलहरु एएफसी.को खेलतालिका अनुसार नै खेल्नका निम्ति एसियाली फुटबल महासंघसँग समन्वय गर्ने निर्णय गरेको छ ।

तालिकाअनुसार १९ नोभेम्बरमा हुने नेपालको होम म्याचलाई पनि कुवेत फुटबल संघसँग समन्वय गरी कुवेतमा नै खेल्ने गरी कुवेत फुटबल संघ र एएफसीसँग आवश्यक पत्राचार गरी समन्वय र स्वीकृति प्राप्त भएपछि खेल्ने निर्णय गरिएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए ।

त्यस्तै बैठकले एन्फाको टेक्निकल डाइरेक्टरमा अस्ट्रेलियन नागरिक गेरी फिलिप्सलाई नियुक्त गरेको छ । हेड अफ् कोचेज एजुकेशन पदमा संजित सिंहलाई नियुक्त गर्दा हेड अफ् इलिट एण्ड युथ पदमा नवीन महर्जन र हेड अफ् वुमेन्स पदमा हरि खड्कालाई नियुक्त गरिएको छ ।

फिफा ग्रास रुटका लागि ४५ जिल्ला फुटबल संघहरुलाई अनुदान रकम प्रदान गर्ने निर्णय पनि गरिएको छ ।

यसैगरी विश्वकपको र एएफसीका लागि राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्नेलगायतका निर्णय गरिएको छ । आपतकालीन बैठकले खेलाडीसँग प्रशिक्षणका क्रममा विवाद गरेका एथलेटिक्स ट्रेनर विवेक विक्रान्त अधिकारीलाई  जिम्मेवारीबाट मुक्त गरिएको छ ।

साथै घटनामा सामेल भएका खेलाडीहरुलाई भने सचेत गराएको छ । त्यसैगरी खेलाडीहरुलाई सम्मान गर्नका लागि कार्डको व्यवस्था गर्ने पनि निर्णय गरेको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया