थुनाबाट छुटाइदिन्छु भन्दै ठगी

 साउन १८, २०७६ शनिबार ७:४५:१७ | रासस
unn.prixa.net

काठमाण्डौ – थुनामा रहेका व्यक्ति छुटाइदिन्छु भनी ठगी हुने गरेको पाइएको छ । 

महानगरीय प्रहरी परिसर काठमाण्डौले एक व्यक्तिलाई पक्राउ गरेपछि यो रहस्य खुलेको हो । थुनामा रहेका व्यक्तिलाई छुटाइदिने भनी एक लाख रुपैयाँ ठगी गरेको खुल्न आएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । 

प्रहरी र वकिललाई बुझाउनुपर्छ भन्दै अरु पाँच लाख रुपैयाँ माग गरेकोसमेत खुल्न आएको छ । यो घटनामा संलग्न रहेको आरोपमा महोत्तरीका प्रवीणकुमार लाभलाई पक्राउ गरी परिसरले अनुसन्धान थालेको छ ।

धनुषा जनकपुर उप–महानगरपालिका वडा नं–२ का ३४ वर्षीय मोहम्मद आर्फिन अलिनसँग साउन २ गते एड्भान्स स्वरूप एक लाख रुपैयाँ लिएको पाइएको बोगटीले जानकारी दिनुभयो । बानेश्वरमा रहेको एक क्याफेमा पैसा लिएर फरार भएपछि घटना प्रहरीमा आइपुगेको हो ।

काठमाण्डौको कलङ्कीबाट उनलाई शुक्रबार पक्राउ गरिएको हो । ठगी मुद्दामा गएको असार ३१ गते पक्राउ परी अहिले प्रहरीको हिरासतमा रहेका आकिव जावेद, यमदादुल मोमिन र सगिर शेखलाई छुटाउन प्रहरी र सरकारी वकिललाई पैसा दिनुपर्ने भन्दै उनले ६ लाख रुपैयाँ माग गरेका थिए । 

जावेद भारतीय नागरिक हुन् । उनीहरू अनलाइनमार्फत ५० लाख रुपैयाँ बिगो बराबरको ठगी गरेको आरोपमा पक्राउ परेका व्यक्ति हुन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया