अमेरिकाको टेक्सासमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको मृत्यु

 साउन १९, २०७६ आइतबार ७:१९:३३ | एजेन्सी
unn.prixa.net

अमेरिकाको टेक्सास राज्यको एक ‘शपिङ मल’मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको छ । घटनामा अन्य २६ जना घाइते भएका छन् । 

स्थानीय अधिकारीहरुका अनुसार टेक्सस राज्यको एल पासो इलाकामा रहेको सिएलो विस्ता मलमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका हुन् । यो क्षेत्र अमेरिका–मेक्सिको सीमा क्षेत्रको नजिकै पर्छ ।
घटनाको पुष्टि गर्दै टेक्सासका गभर्नर ग्रेग एबोटले टेक्सस राज्यको इतिहासमा यो अहिलेसम्मकै भयानक घटना भएको बताएको बीबीसीले उल्लेख गरेको छ । 

स्थानीय समय अनुसार शनिबार बिहान १० बजे घटना भएको प्रहरीले जनाएको छ । अन्धाधुन्ध गोली चलाएको आरोपमा २१ वर्षीय व्यक्ति पक्राउ परेका छन् । ती व्यक्ति डालास क्षेत्रका बासिन्दा प्याट्रिक क्रुसियस रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै घटना निकै दुःखद रहेको बताएका छन् ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया