रुद्राक्षको दानामा लगाइएको प्लास्टिकको क्लिप प्रहरीले हटायो

 साउन २०, २०७६ सोमबार १८:१८:३० | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – षडानन्द नगरपालिकामा ठेकेदारले रुद्राक्षको दाना राम्रो बनाउनका लागि लगाएकोे प्लास्टिकको क्लिप प्रहरीले हटाएको छ ।

किसानबाट ठेकेदारले बगान नै खरिद गरेर आफूखुशी नगरपालिकाको विभिन्न ठाउँमा रुद्राक्षमा लगाएको क्लिप प्रहरीले हटाएको जनाएको छ ।

रुद्राक्षमा क्लिप राखेर दाना अप्राकृतिक बनाएको भन्दै गृह मन्त्रालयबाट निर्देशन आएपछि क्लिप हटाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डवकुमार राजवंशीले जानकारी दिनुभयो ।

षडानन्द नगरपालिका–६, केउरेनीपानी र साल्मा क्षेत्रको रुदाक्षको बोटमा लगाइएको क्लिप हटाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर राजवंशीले जानकारी दिनुभयो ।

प्रहरीले केउरनेपानीका पीताम्बर लम्सालको बगानमा लगाइएको १ सय ६ वटा र साल्माका ज्ञानेन्द्र बस्नेतको बगानमा लगाइएको २ सय २५ वटा क्लिप हटाएको हो । कृषकहरूबाट नेपाली व्यवसायीले बोटमै ठेक्का लिएर आफूखुशी क्लिप लगाएर आकार परिवर्तन गरेकाले  गृह मन्त्रालयको निर्देशनअनुसार क्लिप हटाइएको प्रहरीले जनाएको छ ।

चिनियाँ व्यापारीले प्लास्टिक क्लिपको सहायतामा रुद्राक्षको दानालाई गोलो, अण्डा र थेप्चो आकारमा आवश्यकताअनुुसार बनाउने गरे पनि अप्राकृतिक रुद्राक्षले अन्तर्राष्ट्रिय बजारमा पार्ने असरका बारेमा भने कृषक अझै अनभिज्ञ रहेका छन् ।

रुद्राक्षको अप्राकृतिक आकार र रूपले विश्व बजारमा नेपाली गुणस्तर र छवि बिग्रने भएकाले क्लिप हटाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सेपेक्टर राजवंशीले बताउनुभयो । 

 

अन्तिम अपडेट: चैत १२, २०८०

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया