डिजेल प्लान्टबाट बिजुली बलेपछि जुम्ला सदरमुकाम तीन हप्तापछि उज्यालो

 साउन २२, २०७६ बुधबार १३:१०:५० | नेत्र शाही
unn.prixa.net

जुम्ला - गएकाे तीन हप्तादेखि अँध्यारो जुम्ला सदरमुकाममा डिजेल प्लान्टबाट बिजुली बालिएको छ । 

प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले निर्वाचन क्षेत्र विकास कार्यक्रमको सहयोगमा जुम्ला सदरमुकाममा डिजेल प्लान्टबाट अल्पकालीन रुपमा बिजुली बालिएको हाे । २०४० सालमा कर्णाली प्राविधिक शिक्षालय घुगुत्तिबाट उत्पादन भएको जुम्लाको एक मात्र २४० किलोवाटको मेशिन फेर्ने क्रममा ढिलाइ भएकाेले पूर्ण रुपमा अँध्यारो भएपछि विकल्पको रुपमा डिजेलबाट बत्ति बालिएको हो ।

भारतीय राजदूतावासको सहयोगमा नयाँ मेशिन फेर्ने कामको जिम्मा लिएका भारतीय ठेकेदार पुुस्करलाल दुदैले ढिलाइ गरेका कारण जुम्ला अँध्यारो भएको भन्दै सांसद गजेन्द्रबहादुर महतले निर्वाचन क्षेत्र विकास कार्यक्रमको ५० लाख रुपैयाँ डिजेल प्लान्टमा विनियोजन गर्ने निर्णय गर्नुभएकाे थियाे । त्यसपछि २४ लाख ६० हजारको खर्चमा डिजेल प्लान्ट खरिद गरी सञ्चालनमा ल्याइएको साना जलविद्युत उपभोक्ता समिति जुम्लाका अध्यक्ष बिष्णुबहादुर बुढ्थापाले जानकारी दिनुभयो ।

डिजेल प्लान्टबाट उत्पादित बिजुली स्थानीयलाई सहुलियत दरमा उपलब्ध गराइने समितिले जनाएको छ । 
तत्कालीन जिल्ला विकास समितिले टेण्डर गरेको मेशिन बिग्रेपछि मर्मत गर्न धनगढी पुर्‍याइएको र एक महिनामा बनेर जुम्ला फर्किने निर्माण व्यवसायी पुष्करलाल दुवैले जानकारी दिए ।

समयमै काम गर्न नसकेपछि दुवै अहिले जिल्ला प्रशासनको निगरागनीमा छन् । बत्ति बलेपछि स्थानीय खुसी भएका छन् भने  दैनिकपत्रिकाहरु समेत सञ्चालनमा आएका छन् । यसबाहेक विद्यार्थीलाई पढ्न, माेबाइल तथा सञ्चार उपकरणहरु चार्ज गर्न सजिलो भएको छ । 

प्रशासन र नगरपालिकालाई झरो र चिम

यसैगरी जुम्लामा दिर्घकालीन बिजुलीकाे माग गर्दै संसदमा सांसद गजेन्द्रबहादुर महतले उर्जा मन्त्री वर्षमान पुन र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई मंगलबार व्यङ्ग्य गरेसँगै जुम्लामा युवाहरुले नेपाल सरकार र स्थानीय सरकारलाई झरो र चिम उपचार दिँदै बिजुलीकाे दिर्घकालीन माग गरेका छन् ।

जागौँ युवा कर्णाली नेपालले चन्दननाथ नगरपालिका र जिल्ला प्रशासन कार्यालय जुम्लालाई ध्यानाकर्षण स्वरुप चिम र झरो (दाउराको दियालो ) उपहार दिएको अध्यक्ष हरिस रोकायाले जानकारी दिनुभयो । 

पहिलेकाे कर्णाली मुकाम जुम्लामा दिर्घकालीन बिजुली नहुँदा समस्या भइरहेको छ । नेपाल विद्युत प्राधिकरणले ३३ केभी प्रसारणलाइन पुरर्‍याउने भने पनि ढिलाइ भइरहेको गुनासो छ । यसैगरी यहाँको पातारासी गाउँपालिकामा ९९८ किलोवाटको चुकेनी जलविद्युत पनि टेण्डरमा गएको र चाँडै बन्नुपर्ने जनताले मागगर्दै एका छन् । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया