भारतको अटारी आउने रेल ‘सम्झौता एक्सप्रेस’ सधैँका लागि बन्द गरिएको पाकिस्तानको घोषणा

 साउन २३, २०७६ बिहिबार १७:११:३८ | एजेन्सी
unn.prixa.net

पाकिस्तानले लाहोरबाट भारतको अटारीबीच चल्ने रेल ‘सम्झौता एक्सप्रेस’ सधैँका लागि बन्द गर्ने घोषणा गरेको छ ।

पाकिस्तानका रेल मन्त्री शेख रशीद अहमदले आफूले सम्झौता एक्सप्रेस ‘सधैँका लागि बन्द गर्ने’ घोषणा गरेको बताएका छन् ।

भारतले जम्मू–कश्मीरलाई विशेष राज्यको भूमिका प्रदान गरेको संवैधानिक प्रावधान धारा ३७० खारेज गरेसँगै पाकिस्तानले यस्तो कदम चालेको हो । पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशीले पनि यस कुराको पुष्टि गरेका छन् । तर यसबारेमा भारतीय प्रतिक्रिया भने आइसकेको छैन । 

भारतको पछिल्लो कदमबाट रिसाएको पाकिस्तानले प्रतिक्रियात्मक कदम चालिरहेको छ । उसले भारतसँगको द्विपक्षीय कारोबार बन्द गरिसकेको छ । पाकिस्तानले इस्लामाबादमा रहेको भारतीय उच्च आयुक्तलाई फिर्ता पठाउने तथा नयाँ दिल्लीमा रहेका आफ्ना उच्च आयुक्तलाई फिर्ता बोलाउनेसमेत निर्णय गरिसकेको छ ।

सम्बन्धित समाचार


सम्झौता एक्सप्रेस बन्द गर्ने घोषणा गर्दै पाकिस्तानी रेल मन्त्रीले भने, ‘कश्मीरीमाथि लगातार अत्याचार भैरहोस् अनि पाकिस्तानले टुलुटुलु हेरिरहने । यस्तो कदापि हुन सक्दैन । यस्तो अवस्थामा सम्झौता एक्सप्रेस सधैँ–सधैँका बन्द गरेको घोषणा गर्दछु ।’ उनले अगाडि भने, ‘जसले टिकट बुक गरेका छन्, त्यो टिकट काटिने छैन । उनीहरुलाई पूरा पैसा फिर्ता गरिनेछ ।’

के हो सम्झौता एक्सप्रेसको इतिहास ?

सम्झौता एक्सप्रेस भारत र पाकिस्तानको बीचमा हप्तामा दुई दिन चल्ने रेल हो । जुन रेल भारत–पाकिस्तान विभाजन हुनुअघि बिछ्याइएको भारतको अटारीदेखि पाकिस्तानको लाहोरसम्मको लिकमा चल्छ ।

यो रेल शिमला सम्झौतापछि २२ जुलाई १९७६ देखि लाहोरबाट अमृतसरसम्म चलाइएको थियो । पछि सन् १९९४ मा यसलाई अटारी–लाहोर चलाउन थालिएको हो ।
सम्झौता एक्सप्रेस पनि भारत–पाकिस्तानबीचको तनावको साक्षी बन्दै आएको छ । जब–जब दुई देशबीचमा तनाव पैदा हुन्छ, यो रेल सेवा पनि बन्द गरिन्छ ।

हालसालै भारत प्रशासित कश्मीरको पुलवामामा भएको आतंककारी आक्रमणपछि यो रेल सेवा रोकिएको थियो ।

याे पनि पढ्नुहाेस्

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया