शिक्षामा चरम राजनीति : एउटै विद्यालय नेकपा र कांग्रेसले भाग लगाए

 साउन २७, २०७६ सोमबार १६:३६:३४ | नेत्र शाही
unn.prixa.net

जुम्ला – हिमा गाउँपालिका वडा नम्बर-५ बाजागाडा गाउँको रुपाकोट आधारभूत विद्यालय अभिभावकहरुको राजनीतिक लडाइँका कारण समस्यामा परेको छ ।

अभिभावकहरुबीच मतभेद हुँदा महिनौँदेखि एउटै विद्यालय दुई स्थानमा विभाजन गरी सञ्चालन भैरहेको छ । अभिभावकहरुको व्यक्तिगत स्वार्थका कारण एक पक्षले पुरानो विद्यालयमा एकदेखि आठ कक्षासम्म र अर्को पक्षले नयाँ विद्यालयमा एकदेखि आठ कक्षासम्म सञ्चालनमा ल्याउँदा बालबालिकाहरुको शैक्षिक भविष्य अन्योलमा परेको छ । 

गाउँमा नेपाल कम्युनिष्ट पार्टी पक्षले पुरानो भवनमा विद्यालय सञ्चालन गरिरहेका छन् भने नेपाली कांग्रेस पक्षले छुट्टै नयाँ भवनमा विद्यालय सञ्चालनमा ल्याएका छन् ।

स्थानीयवासी निलो कामीले अब यी दुई विद्यालय मिल्नु बाहेक केही उपाय नभएको बताउनुभयो । त्यस्तै स्थानीय लालबहादुर रोकायाले भवन निर्माण गर्ने क्रममा जग्गा अपुग भएपछि आफूहरुले जग्गा दिएको र भवन नै भाग लगाउने विषयमा विवाद भएको बताउनुभयो । 

विद्यार्थी दुई भागमा विभाजित

अभिभावकहरु नमिल्दा एकै कक्षाका विद्यार्थीहरुसमेत एक वर्षदेखि विभाजित भएका छन् भने शिक्षकहरुको भागमा पनि दुई विद्यालय परेको छ । विद्यालयका ३ जना दरबन्दी, २ जना निजी र  एक जना ईसीडी (प्रारम्भिक बाल विकास) शिक्षकले १८ ओटा कक्षा धानेका छन् । 

यसका साथै अभिभावकहरुले आफ्नै निजी शिक्षकहरुसमेत निःशुल्क राखेको विद्यालयका प्रधानाध्यापक शान्ति शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार एउटै विद्यालय दुई ठाउँमा बाँडिएकाले शिक्षक तथा शैक्षिक सामग्री अपुगदेखि विभिन्न समयमा अभिभावकहरुबीत झगडा नै हुने गरेको छ । 

समस्या सामाधान गर्नका लागि जिल्ला समन्वय समिति, गाउँपालिका, जिल्ला प्रशासन, शिक्षा विकास समन्वय इकाइ र राजनैतिक दलहरुसँग गुहार गरिरहेको प्रधानाध्यापक शाहीले गुनासो पोख्नु भयो । 

हिमा गाउँपालिका वडा नं ५ का वडाध्यक्ष नन्दबहादुर राउतले सत्ता पक्षले शक्तिको पहुँच देखाएका कारण विद्यालय दुई धारमा विभाजित भएको बताउनुभयो । उहाँले विभाजित भएको विद्यालय मेल नहुने हो भने जुनसुकै समयमा घटना घट्न सक्ने चेतावनी दिनुभयो । त्यस्तै गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले समस्या सामाधानका लागि प्रयास भैरहेको बताउनुभयो  । 

पटक-पटक छलफल र बहस हुँदा पनि समस्या समाधान नभएपछि आफूहरुलाई समस्या भएको र आफ्ना साथीहरु छुट्टै विद्यालयमा पढ्दा नराम्रो लागेको विद्यार्थीहरुले जनाएका छन् । त्यस्तै शिक्षक दुई ठाउँमा बाँडिएपछि बहुकक्षामा विद्यार्थी पढाउनुपर्ने वाध्यता छ । 

पुरानो विद्यालयमा पढाउने जिम्मा पाउनु भएको एक जना शिक्षक परीक्षामा फेल भएको र अर्को शिक्षक नआइपुगेकाले समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर रोकायाले जानकारी दिनुभयो ।

विद्यालयको समस्यासामाधान गर्न पहल गरिएको अर्का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलसिंह रावतले बताउनुभयो ।

नयाँ व्यवस्थापन समितिको निर्वाचनमा समेत दुई अध्यक्षको मत बराबर भएकाले अहिले दुई अध्यक्षले काम गरिरहेको विद्यालयले जनाएको छ । यसैगरी अभिभावक नमिलेपछि गाउँका ४८ विद्यार्थी गाउँमै विद्यालय भए पनि एक घण्टाको समय लगाएर कालिका मावि बड्की जाने गरेका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया