गाडीको कुम्भ मेला : विद्युतीय कारको लर्को, भन्सार छुट र सरल ऋणले आकर्षण बढ्यो

 साउन २७, २०७६ सोमबार १८:२:४६ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – नाडा अटोमोबाइल एसोसिएसन अफ् नेपालले भदौ १० गतेदेखि काठमाण्डौमा नाडा अटो शो गर्दैछ ।

सबै प्रकारका गाडीको कुम्भ मेला मानिने अटो शोका लागि नाडाले अहिले धमाधम तयारी गरिरहेको छ । यसपटकको नाडा अटो शो मा विद्युतीय गाडीले मुख्य प्राथमिकता पाउने नाडाले जनाएको छ ।

सरकारले विद्यतुीय गाडीमा भन्सार छुट दिने देखि बैंकहरुले पनि ८० प्रतिशतसम्म ऋण दिने भएकाले ग्राहकको चासो विद्युतीय गाडीमा बढेको छ । यसैलाई ध्यान दिएर अटो शोमा विभिन्न कम्पनीका झण्डै १ दर्जन मोडलका विद्युतीय गाडी प्रदर्शनीमा राख्ने तयारी भैरहेको छ ।

यसअघि नै बजारमा बिक्री भैरहेका महिन्द्राको ईटूओ र इभेरिटो, कियाको सोल ईभी त अटो शोमा राखिने नै छ, त्यसबाहेक केही पुराना कम्पनीका नयाँ मोडल र नयाँ कम्पनीका विद्युतीय गाडी पनि राखिनेछ । अटो शोलाई नै लक्षित गरेर केही कम्पनी नेपाल भित्रिएका छन् ।

शोमा सिप्रदी ट्रेडिङले पहिलोपटक टाटाको विद्युतीय गाडी सार्वजनिक गर्नेछ । टाटा टिगोर ईभी शोमा सार्वजनिक हुनेछ । एकपटक चार्ज गर्न ३ घन्टा लाग्ने र यसले १ सय ३० किलोमिटर यात्रा गर्न सकिनेछ ।

हुन्डाई कोना अटो शोको अर्को आकर्षण हुनेछ । हुन्डाई मोटर्सका नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्सले यो गाडी बिक्री गर्न थालिसकेको छ । तर नाडा अटो शोमा भने पहिलोपटक यो गाडी सार्वजनिक हुँदैछ । एकपटक चाजै गर्दा यो गाडी ३२०–३५० किलोमिटरसम्म गुड्न सक्छ ।

यसअघि सियोल ईभी बेचेर उत्साहित भएको कन्टिनेन्टल ट्रेडिङले यसपटकको अटो शोमा कियाको निरो सार्वजनिक गर्दैछ । एकपटक चार्ज गरिसकेपछि यो गाडी ४ सय ५० किलोमिटर भन्दा धेरै गुड्न सक्ने किया कम्पनीको वेबसाइटमा उल्लेख छ ।

यस्तै भदौ १० गतेदेखि सुरु हुने अटो शोमा एमजी कम्पनीको  विद्युतीय गाडी पनि प्रदर्शनीमा राखिनेछ । एमजी मोटर्सको जेडएस ईभी प्रदर्शनीमा राखिनेछ । नेपालका लागि आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सका अनुसार यो गाडी एकपटक चार्ज गरिसकेपछि ३ सय ५० किलोमिटरभन्दा धेरै कुद्न सक्छ ।

यस्तै चिनियाँ कम्पनी बीवाईडीले पनि यसअघि नै आफ्ना विद्युतीय गाडी नेपालमा बिक्री गरिरहेको छ । तर आउँदो अटो शो बीवाईडी को पनि नयाँ मोडलको विद्यतुीय गाडी सार्वजनिक हुँदैछ । बीवाईडी ले एम–३ गाडी सार्वजनिक गर्न लागेको हो । २०१४ को बेइजिङ अटो शोमा राखिएको यो गाडी अहिले चीनमा लोकप्रिय हुँदै गएको छ ।

भन्सार छुट र बैंकको सहज ऋणले थप आकर्षण

सरकारले विद्युतीय गाडीको प्रयोग बढाउन भन्सार छुट दिनेदेखि बैंकको कर्जामा पनि सहुलियत दिएको छ । सरकारी सहुलियतको उपयोग गर्दै अहिले धेरैजनाले विद्युतीय गाडीमा चासो दिएका छन् ।

निजी प्रयोगका लागि आयात हुने गाडीमा जम्मा १० प्रतिशत मात्रै भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर भ्याट लाग्छ । यस्तै सार्वजनिक प्रयोगको लागि आयात हुने विद्युतीय गाडीमा जम्मा १ प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट लाग्ने गरेको छ । जबकी इन्धनबाट चल्ने गाडीको भन्सार शुल्क २ सय प्रतिशतसम्म लाग्ने गरेको छ ।

यस्तै विद्युतीय गाडी किन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पनि सजिलो छ । राष्ट्र बैंकले विद्युतीय गाडीमा मूल्यको ८० प्रतिशतसम्म कर्जा दिन सक्ने व्यवस्था गरेको छ । अहिले ‘क’ वर्गका धेरै बैंकले विद्युतीय गाडी किन्न गाडीको मूल्यको ८० प्रतिशतसम्म कर्जा दिने गरेका छन् ।

धेरैजसो बैंकहरुले विद्युतीय गाडी किन्दा लगेको कर्जामा बढीमा १० प्रतिशत मात्रै ब्याज लिने गरेका छन् । 

अन्तिम अपडेट: फागुन २८, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया