अरुणखोलामा ‘डाइभर्सन’ निर्माण गरी यातायात सञ्चालन

 साउन २९, २०७६ बुधबार ११:१३:३० | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – मध्यविन्दु नगरपालिका अन्तर्गत पर्ने अरुणखोला पुल भाँचिदा अवरुद्ध यातायात डाइभर्सन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । भाँचिएको अरुणखोला पुलदेखि एक किलोमिटर उत्तरतर्फबाट डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार उत्तरतर्फ रहेको करमघारी गाउँतर्फ खोलामा रहेका खाल्डो पुरेर डाइभर्सन निर्माण गरिएको छ । अस्थायी रुपमा यातायात सञ्चा लनमा यसले सहयोग पुर्‍याएको भए पनि पानी पर्दा समस्या हुने उहाँले बताउनुभयो । पानी पर्दा खोलामा पानीको सतह बढने तथा डाइभर्सन बगाउँदा फेरि यातायात अवरुद्ध हुन सक्ने उहाँले बताउनुभयो ।

भाँचिएको पुल मर्मत गर्न भने केही दिन लाग्ने प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । पुलको तल्लो सतहबाट नै मर्मत गर्नुपर्ने भएकाले पुलबाटै पूर्ण रुपमा यातायात सुचारु गर्नका लागि केही दिन लाग्न सक्ने उहाँले बताउनुभयो । साना सवारी भने पुलबाट नै आवतजावत गरिरहेका छन् ।

बुधबार बिहान ना ६ ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किँदा पुल भाँचिएर यातायात अवरुद्ध बनेको थियो । अहिले रोकिएका सवारी आ–आफ्नो गन्तव्यतर्फ लागेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।

अन्तिम अपडेट: चैत ११, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया