भोजपुरमा लाखेजात्राको रौनक हराउँदै

 साउन २९, २०७६ बुधबार १६:२०:४८ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर - नेवार समुदायको साँस्कृतिक पर्व लाखेजात्रा पहाडी जिल्ला भोजपुरमा दशक अघि हर्षेाल्लास र धुमधामका साथ मनाइन्थ्यो । छुट्टै मौलिक संस्कार र पहिचान बोकेको लाखेजात्रा यतिबेला लोप हुने अवस्थामा पुगेको छ ।

नेवार समुदायको बाहुल्य रहेको भोजपुर सदरमुकाममा धुमधामका साथ लाग्ने लाखेजात्राको रौनक पछिल्लो समय बिस्तारै हराउँदै गएको छ ।
१० वर्ष अघि भोजपुर सदरमुकामसँगै गाउँ-गाउँमा समेत लाखेजात्रा धुमधामका साथ लाग्ने गर्थ्याे । गाउँबाट सदरमुकाममा समेत जात्रा देखाउन आउनेको बाक्लै घुइँचो लाग्थ्यो ।

बजारमा लाखे निस्किँदा बाटोमा खुट्टा राख्ने ठाउँसमेत हुँदैनथ्यो । लाखे हेर्ने मानिसहरुको भिडले केटाकेटी र वृद्ध-वृद्धाहरुलाई हिँडनसमेत मुश्किल पर्थ्याे । तर अहिले सदरमुकाममा समेत लाखेजात्रा हेर्न निकै मुस्किल पर्न थालेको छ । पछिल्ला वर्षका लाखेजात्रा सुनसान बन्न थालेका छन् । नागपञ्चमीदेखि सुरु भएर कृष्णजन्माष्टमीको भोलिपल्टसम्म लाग्ने लाखेजात्राको चहलपहल भोजपुरमा क्रमशः हराउँदै गएको छ । 

युवापुस्तालाई लाखेजात्राप्रति वितृष्णा पैदा हुँदै गएकोले अपहेलित भावना सृजना भएका कारण दिनानुदिन लोप हुँदै गइरहेको नेवार समुदायका अग्रजहरु बताउँछन् । ‘लाखेजात्रा उत्थान गर्ने युवाहरु पर्याप्त नभएकाले दिनदिनै लोप हुँदै गइरहेको छ’, स्थानीय नविन प्रधानले बताउनुभयो । 

संरक्षण, संवर्द्धन गर्नुपर्ने खालका उर्जाशील युवाहरु विदेशिने, पढाइका सिलसिलामा जिल्लाबाट बाहिर जानुपर्ने भएकाले थप संकटमा परिरहेको उनीहरु बताउँछन् । पछिल्लो पिँढीले संस्कार संस्कृतिको साटो व्यापार व्यवसायप्रति बढी आस्था राख्ने भएका कारण लोप हुँदै गएको अर्का स्थानीय ध्रुवलाल श्रेष्ठले बताउनुभयो ।

‘युवाशक्ति पढाइ र जागिरका लागि बाहिर जाने भएकाले जागरण गर्ने युवा शक्ति हुदैन । त्यही भएर सुनसान वातावरणमै लाखे सकिन्छ ’, उहाँले भन्नुभयो ।

राज्यले विशेष व्यवस्था गरेको खण्डमा लाखेजात्रा संरक्षण गर्न सकिने भोजपुर लाखे समाजका अध्यक्ष विनम श्रेष्ठले बताउनुभयो ।  
लोपोन्मुख लाखेका लागि जनजाति महासंघ भोजपुरले निरन्तरता भनिए पनि त्यसमा प्रतिनिधित्व गर्ने नेवार समुदायका प्रतिनिधिहरुको कमजोरीका कारण केही संरक्षणमा रहेको संस्कार समेत मेटिएर जान लागेको उनीहरुले बताए ।

संरक्षणका लागि प्रतिनिधित्व गर्ने नेवा प्रतिनिधिले बढी सक्रियता दिनुपर्ने बताए । लाखेनाचको बारेमा गाँउमा छरिएर रहेका नेवार समुदायले प्रशिक्षण गर्नुपर्ने तथा ‍चेतनशील बनाउनुपर्ने उनीहरुकाे भनाइ थियाे । 

देशमा चलेको दशक लामो सशस्त्र द्वन्द्वले नेवार समुदायका मानिसहरु सुविधासम्पन्न शहरतिर पलायन भएका र गाउँमा भएका युवाहरुको कम चासोका कारण वर्षाेँदेखिको सांस्कृतिक पर्व लाखेजात्रा लोप हुँदै जान थालेको हाे ।

नेवार समुदायको धार्मिक र सांस्कृतिक रुपमा गहिरो सम्बन्ध रहेको लाखे नाचबाट हुने ढोलको आवाजले गुन्जयमान भोजपुरका गाउँघर सुनसान बन्दै गएका छन् ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया