स्थानीय प्रशासनको उर्दी पछि तिजको दर कहाँ र कति खाने ?

महिलालाई नियन्त्रणमा राखिरहनुपर्छ भन्ने सोचको उपज : कोमल वली

 साउन ३०, २०७६ बिहिबार १४:५४:५३ | नवराज फुयाँल
unn.prixa.net

काठमाण्डौ - केही जिल्लामा स्थानीय प्रशासनले तिजको दर कहाँ र कति खाने भनेर खटनपटन गर्न थालेपछि यसको पक्ष र विपक्षमा बहस सुरु भएको छ ।

कतिपयले तडकभडकसहित भड्किलो कार्यक्रममाथि नियन्त्रण गर्न आवश्यक भएको भन्दै स्थानीय प्रशासनले चालेको कदमको प्रशंसा गरेका छन् भने कतिपयले भने स्थानीय प्रशासनको कदमलाई महिलालाई अझै पनि नियन्त्रणमा नै राखिरहनुपर्छ भन्ने मानसिकताको उपज भएको संज्ञा दिएका छन् । 

तिजको नाममा पार्टी प्यालेस तथा होटलहरुमा तडकभडकसहित भड्किलो कार्यक्रम र खानपान हुन लागेको भन्दै विभिन्न जिल्ला प्रशासन कार्यालयले तिजको कार्यक्रम पार्टी प्यालेसमा नगर्न सूचना निकालेका छन् ।  

अहिलेसम्म कास्की, काभ्रे, धादिङ, रूपन्देही, पर्वत र स्याङ्जा जिल्ला प्रशासन कार्यालयले पार्टी प्यालेसमा दर खाने कार्यक्रम नगर्न भनेका छन् ।  

‘महिलालाई नियन्त्रणमा राखिरहनुपर्छ भन्ने सोच’ 

स्थानीय प्रशासनको यस्तो उर्दी महिलालाई अझै पनि नियन्त्रणमा नै राखिरहनुपर्छ भन्ने पुरुषवादी सोचको उपज भएको महिला नेतृ एवं राष्ट्रिय सभा सदस्य कोमल वलीको दावी छ । ‘अझै पनि धेरैजसो जिल्लाका सीडीओहरु पुरुष नै छन्’, उहाँले उज्यालोसँग भन्नुभयो, ‘यो पनि सरासर महिलालाई नियन्त्रणमा नै राखिरहनु पर्छ भन्ने पुरुषवादी मनोबृत्तिको उपज हो ।’  

तिज भन्नेबित्तिकै महिलाहरु स्वतन्त्र भएर नाचगान गर्ने, दुखसुःखका कुरा साटासाट गर्ने भन्ने हाम्रो परम्परा रहेकाले फुर्सद निकालेर केही दिन अघिदेखि नै रमाइलो गर्न लागिएको उहाँ बताउनुहुन्छ ।  

तर कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा भने सम्बन्धित पर्वका दिनमा पर्व मनाए त्यसको सान्दर्भिकता र मौलिकता झल्कने भन्दै एक महिना अघिदेखि मनाउनुको औचित्य नभएको बताउनुहुन्छ । 

‘नेपालीको प्रमुख चाड भनिएको दशैँ त ५ दिन मनाउने हामी तिज डेढ महिनाअघिदेखि मनाउनुको औचित्य छैन,’ उज्यालोसँगको कुराकानीमा उहाँले भन्नुभयो, ‘यस्तो विकृतिलाई रोक्नुको विकल्प छैन ।’ 

तर नेतृ वलीको तर्क अर्कै छ । ‘पुरुषले हरेक दिनजसो मदिरालयमा भोजभत्तेर गरेर हिँड्ने, तर महिलाले तिजको बेला केही दिन सुखदुःख साटासाट गर्न रमाइलो गर्दा समाजिक सद्भाव बिग्रने भन्ने कहीँ हुन्छ ?’ उहाँको प्रश्न छ, ‘महिला दिदीबहिनीले तिजको दर खाएर कहाँ कति दुर्घटना भयो ? कहाँको सामाजिक संरचनामा खलल् पुग्यो ?’ 

यो सबै महिलालाई नियन्त्रणमा राखिराख्ने पुरुष मनोबृत्तिको उपज भएको भन्दै उहाँले स्थानीय प्रशासनले गरेको त्यस्ता खालका सबै निर्णय तत्काल सच्चाउन पनि माग गर्नुभयो ।  

‘परम्परा जोगाउन सूचना’

तर कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा भने चाडपर्व आउनुभन्दा एक डेढ महिनादेखि नै तडकभडक देखाउने प्रवृत्ति हाम्रा सांस्कृतिक परम्परा, रीतिरिवाजमाथिकै हमला भएको दाबी गर्नु हुन्छ । 

आफूहरुले सार्वजनिक गरेको सूचना नियन्त्रणभन्दा पनि सांस्कृतिक परम्परा र रीतिरिवाज जोगाउन भएको उहाँले प्रष्टिकरण दिनुभयो । तिज नजिकिँदै गर्दा अहिले पनि ठाउँठाउँमा दर खाने कार्यक्रम भैरहेका छन् ।

चेलीलाई दाजुभाइ तथा माइतीले घरमा बोलाएर पहिले दर खुवाउने गरेकोमा अहिले भने यो परिवर्तन हुँदै गएको छ । अहिले चेलीहरु आफै समूहमा मिलेर पार्टी प्यालेस तथा होटलहरुमा भव्य कार्यक्रम गरेर एक महिना अघिदेखि नै तिजको दर खान थालिसकेका छन् ।

दर खाने, रमाइलो गर्ने काम सम्बन्धित दिनमा नै गरे सुनमा सुगन्ध हुन्थ्यो होला नि भन्ने प्रश्नमा नेतृ वली महिलालाई त्यो दिन फुर्सद नै नहुने बताउनुहुन्छ । ‘वास्तवमा भन्ने हो भने दिदीबहिनीहरुलाई त्यो दिन फुर्सद नै हुँदैन । परिवारसँगै बस्नु पर्छ । बुहारी पनि माइत गएको हुन्छ । यस्तोमा कसरी उसले रमाइलो गरोस् ?’ उहाँ प्रश्न गर्नुहुन्छ । 

‘आखिर तिजको दिन पनि श्रीमान भएका महिला दिदी बहिनीहरु श्रीमानको दीर्घायुको कामना गर्दै ब्रत बस्छन्, श्रीमान् नभएकाहरु असल श्रीमान पाउँ भन्दै ब्रत बसेका हुन्छन्’, उहाँले भन्नुभयो, ‘ब्रत बसेका बेला दिदीबहिनीहरु कसरी नाचून् ? त्यही भएर केही दिन अघिदेखि नै रमाइलो गर्न लागिएको हो ।’ 

तिजको नाममा तडकभडक बढेको भन्दै पहिलो पटक जिल्ला प्रशासन कार्यालय कास्कीले पार्टी प्यालेसहरुमा तिजको कार्यक्रम नगर्न भन्दै सूचना निकालेको थियो । त्यसपछि अरु केही जिल्ला प्रशासन कार्यालयले पनि यसैगरी सूचना निकाले ।   

चाडपर्व आउनुभन्दा एक डेढ महिनादेखि नै तडकभडक देखाउँदा विकृति निम्तने भएकाले त्यसलाई रोक्न पार्टी प्यालेसमा गरिने तिजका कार्यक्रममाथि नै रोक लगाउनु परेको कास्कीका प्रमुख जिल्ला अधिकारी बुढाले बताउनुभयो ।  

समाजमा हुँदा खाने र हुने खाने वर्गकाबीच असमानता बढ्ने भएकाले एक महिना अघिदेखि हुने  गरेका यस्ता कार्यक्रममा रोक लगाउनु परेको उहाँ बताउनुहुन्छ । 
यस्ता कार्यक्रममा महिला दिदीबहिनीहरुले गरगहना प्रदर्शन गर्ने, तडक भडक गर्ने गरेको देखिएको पनि उहाँ बताउनुहुन्छ ।  

फिर्ता लिन व्यवसायीको माग  

पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीले भने स्थानीय प्रशासनले आफूहरुको व्यापारमा अवरोध पुर्याउने गरी जारी गरेको सर्कुलर फिर्ता लिन माग गरेका छन् । स्थानीय प्रशासनले निर्णय फिर्ता नलिए अबदेखि राजनीतिक दलका कार्यक्रम पनि पार्टी प्यालेसहरुमा गर्न नदिने व्यवसायीले चेतावनी दिएका छन् । 

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका उपाध्यक्ष एवं प्रवक्ता कृष्णप्रसाद पाण्डेले न्यूनतम मापदण्ड पालना गरेरै व्यवसाय गरिरहेका आफूहरुलाई स्थानीय प्रशासनको सर्कुलरले मर्माहत बनाएको बताउनुभयो । 

तिजलाई भड्किलो र विकृतियुक्त बनाउनु हुँदैन भन्ने पक्षमा आफूहरु पनि रहेको भन्दै उहाँले त्यही अनुरुप खिर, पुरी, तरकारीसहितको भोजन गरेर रमाइलो गर्न पाउनु जो कोही नागरिकको हक रहेको बताउनुभयो । 

आफूहरुले पनि तिजलाई भड्किलो नहुने गरी व्यवसाय गरिरहेको र त्यही अनुरुप व्यवसाय गर्न सबै व्यवसायीलाई सर्कुलर गरिएको पनि उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

1 Comments

  • nabapandit

    Aug. 15, 2019, 4:21 p.m.

    तिज होईन तजविज हो कि हालको तिजको रौनक हेर्दा नेपाली महिलाहरु दुःखबाट पार पाई सकेका छन । न दुःख न रोदन, न पिडा । हाँसो, गाँसो, नाच र गान । न त माईती जानै पर्छ न भाईले लिन आउनै पर्छ । न खानलाई दुःख छ, न घरको हेला, न थकाई लागुनजेल काम छ, न हिलो र आहालमा दिनभर भिज्नु पर्छ । न दुई वजे राती ढिकी जातो घुमाउनु पर्छ, न मेला पातले लखतरान पर्नु पर्छ । एक दिनपनि दर खान फुसर्द नहुने बेलाको परम्परा अहिले फुर्सदै फुर्सदको जमानामा तिज होईन तजविज हो भन्दा कुनै फरक नपर्ला । टाउकाको कपाल कोर्नसम्म नभ्याउने त्यो बेलाको हातमा मेहन्दी लगाई सुकाउनसमेत फुर्सद हुने वेलामा तिजको आरामले नाच गानमा रमेको देखिन्छ । नाच्नु र खानुलाई तिज मान्ने र व्रतको वखानै नभएपछि तिज होईन तजविज जस्तो देखियो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया