प्रदेश १ को नाम र राजधानीमा हलो पनि अड्किँदैन,  गोरु पनि छुट्टिँदैन : हिक्मत कार्की

 असार २७, २०७५ बुधबार १२:३९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – प्रदेश १ को नाम र राजधानीको टुंगो छिटै लगाउने तयारी भएको छ । साउन अन्तिमसम्ममा नाम र राजधानी टुंगो लगाउने प्रदेश सरकारको तयारी छ । स्थायी राजधानी विराटनगर तोक्ने तयारी भैरहेको छ । तर आधिकारिक रुपमा कुनै मन्त्रीले बताउन चाहेका छैनन् । यसै सन्दर्भमा उज्यालोका विराटनगर सहकर्मी सुमन तिमल्सिनाले प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीसँग कुराकानी गर्नुभएको छ ।

नाम र राजधानी टुंग्याउन किन ढिला भएको हो ?

प्रदेश नम्बर ६ ले अघिल्लै संसदबाट नै कर्णाली प्रदेशको नामाकरण र राजधानी तय गरिसकेको सन्दर्भ तथा  प्रदेश नम्बर ४ ले पनि केही दिनअघि मात्र नाम र राजधानीको विषय टुङ्गो लगाएर महत्वपूर्ण अभिभारा पूरा गरिसकेको अवस्थामा एक नम्बर प्रदेशले पनि त्यो नगर्ने भन्ने कुरा हैन । हामी पनि छलफलकै क्रममा छाैँ । संसदमा रहेका दलहरु र त्यस बाहिर रहेका दलहरुसँग पनि छलफल गरिरहेका छौं । मैले भन्नु पर्दा हामीले घोषणा गरेअनुसार, यही संसद अधिवेशमा टुङ्ग्याउने भनिएअनुसार हामीले साउनभित्रमा प्रदेशको राजधानी र नामको विषयमा टुङ्ग्याउँछौं ।

आन्तरिक गृहकार्य र आन्तरिक छलफल भनेको त धेरै भैसक्यो हैन  र ?

धेरै समय भयो । योभित्रका पाटाहरु धेरै छन्, धेरै विषयसँग सम्बन्धित व्यक्तिसँग छलफल गर्नु पर्ने पनि हुन्छ । भरसक सबैको शतप्रतिशत सहमतिमा गर्न सकियोस् भन्ने हाम्रो प्रयास हो । तर त्यो सम्भावना देख्दैनौं । त्यसो हुँदा हामी प्रक्रियाबाटै अघि बढ्छौँ । केही दिनभित्रै सरकारले आफ्नो प्रस्ताव चै अगाडि बढाउँछ ।

केही दिनभित्र भनेको कहिले हो ? कति दिनभित्र प्रस्ताव पेश हुन्छ ?

निश्चित हामी साउनभरीमा पास गर्छौं । अहिले हामी राजनीति परामर्शमा अगाडि बढिरहेका छांै । परामर्श र छलफलको आधारमा चाँडोभन्दा चाँडो प्रस्ताव संसदमा दर्ता हुन्छ ।

नेकपा भित्र त छलफल टुङ्गिएको हो भन्छन् नि ?

नेकपा भित्र पनि छलफल हुँदैछ । यो चाहिँ दीर्घकालीन महत्वको विषय भएकोले र राष्ट्रिय राजनीतिमा पनि अहम विषय हो । विगतमा कतिपय मुद्दाहरु उठेका छन् । ती मुद्दालाई पनि सम्बोधन गर्नुपर्ने भएकोले ती सबै सरोकारवाला पक्षहरु र  देशको मुलभूत राजनीति नेतृत्व नेकपा, नेपाली कांग्रेस, राप्रपा, संघीय समाजवादी फोरम लगायतका दलहरु र स्थानीय तहसँग पनि  कुरा गर्नुपर्ने भएकोले केही समय लागेको हो । यो विषयमा घनिभूत छलफल चलेको छ ।  

छलफल भन्दै हुनुहुन्छ, के भयो, कति चरणमा भयो ?

यतिजना उतिजना र यति चरण भन्नेमा नजाउँ । तर यो प्रक्रिया अघि बढी रहेको छ  । राजधानीको विषयमा हामी केही छलफलको नजिक पुगेका छौं । नामको विषयमा पनि छलफल जारी छ  । राजधानी र नामको विषय सबैको चासो र सरोकारको विषय भएकोले छलफल आवश्यक छ । त्यसैको आधारमा हामी लागि परेका छौं । छलफल जारी  छ ।

त्यसो भए हलो कहाँ अड्किएको हो ?

हलो पनि अड्किँदैन,  गोरु पनि छुट्टिदैन । राजधानीको ठाउँ र प्रदेशको नाम हामी छिट्टै टुङ्गो लगाउँछौँ । केही दिनभित्रै संसदमा प्रस्ताव जाने भएकोले यो विषय अब चाँडै टुङ्गिन्छ ।
 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया