‘डेंगु नियन्त्रणभन्दा बाहिर छैन, निर्मूल पार्न कठिन’

 भदौ २, २०७६ सोमबार १३:५०:४५ | घनश्याम पाेखरेल
unn.prixa.net

अहिले सुनसरी लगायत देशका विभिन्न ठाउँमा डेंगुको प्रभाव देखिएको छ । विशेषगरी सुनसरीमा सबैभन्दा बढी यसको प्रभाव छ । अहिले मानिसहरु डेंगु भन्नेबित्तिकै के के न हो भनेर आत्तिहाल्ने गरेको देखिन्छ । तर खासमा डेंगु रोग के हो भन्ने जान्न जरुरी हुन्छ । यो खासगरी लामखुट्टेबाट सर्ने रोग हो । एडिस जातको लामखुट्टेबाट यो रोग सर्छ ।  एडिस एजप्टाई र एडिस एलोपिक्टस भन्ने लामखुट्टेले टोक्दा डेंगु सर्न सक्छ । 

डेंगु देखिहाल्यो वा परीक्षण गर्दा यो पोजिटिभ भेटियो भने आतिहाल्नु पर्दैन । उच्च ज्वरो आउने, आँखाका गेडीहरु भित्रसम्म दुख्ने, हड्डी दुख्ने, टाउको दुख्ने, शरीरमा डाबर देखा पर्ने, मसलहरु दुख्ने जस्ता चिन्ह र लक्षण देखिए डेंगुको परीक्षण गराउन जरुरी छ । डेंगु लागेका बिरामीमा यस्तै खालका लक्षणहरु देखिन्छन् । यो माथि उल्लेख गरेका दुवै खालका लामखुट्टेले टोक्दा देखिने लक्षण र चिन्ह हो । दुवै जातको लामखुट्टेले टोक्दा चिन्ह र लक्षण समान हुन्छ । दुवै किसिमको लामखुट्टेबाट उस्तै खालको खतरा रहन्छ । 

परीक्षण गर्दा पनि डेंगुको प्रभाव परेको देखिएका केहीमा सामान्य खालको प्रभाव हुन्छ । केहीमा मात्रै अलि गम्भीर हुने हो । १० हजार प्रभावित देखिएकोमा बढीमा १ हजार अलि बढी गम्भीर प्रकृतिका हुन्छन् । होइन भने अरु सामान्य उपचारपछि दैनिक जीवनमा फर्कन सक्छन् । गम्भीर खालका बिरामी पनि नियमीत स्वास्थ्य उपचारपछि ठिक हुन्छ ।  

अहिले धरानमा एडिस एजप्टाई नाम गरेको लामखुट्टेले टोकेर भएका बिरामीको सख्या बढी छ । पोखरामा भने दुबै खालको लामखुट्टेको टोकाइबाट बिरामी भएकाहरु भेटिएका छन् । यसको उपचार पद्धति र रोग सार्ने प्रकृति एउटै खालको हुने भएकाले उपचारमा यो कुन जातले गरायो भनेर हेर्ने गरिँदैन । दुवैको उही र उस्तै खालको उपचार पद्धति हो । 

सरसफाइमा ध्यान दिनु जरुरी 

यो रोग लाग्नु भन्दा लाग्न नदिनु नै पहिलो बुद्धिमानी हो । त्यसका लागि हामी आफै चनाखो हुनु जरुरी छ । त्यो भनेको हामी सबैले हाम्रो आफ्नो घरभित्र र वरपर सरसफाईमा ध्यान दिनु नै हो । 

डेंगु रोग नेपालमा मात्रै होइन विश्वका थुप्रै देशमा देखिएको छ । भारतकै कुरा गर्ने हो भने २०१८ को तथ्याँकअनुसार १ लाख मानियसमा यसको प्रभाव देखियो । बंगलादेशमा पनि झण्डै ४४ हजार मानिसमा देखिएको छ । विकसित भनिएका देशहरु अमेरिकामा पनि प्रत्येक वर्ष ४ सय हाराहारीमा यो रोगीहरु भेटिएको छ ।  

डेंगु रोग अलि बढी गर्मी ठाउँमा हुने रोग हो । लामखुट्टेलाई २० देखि ३३ डिगी्रसम्मको तापक्रम उपयुक्त हुन्छ । त्यही भएर गर्मी ठाउँमा देखा परिरहेको छ । तर अहिले हामीले हेर्ने हो भने पहाड तथा हिमाली भेगमा पनि देखिन थालेको छ । हाम्रै देशमा पनि पोखरा तथा काठमाण्डौ लगायतका क्षेत्रमा यसको प्रभाव देखिएको छ । यो भनेको जलवायु परिवर्तनको असर हो । बढ्दो शहरीकरणका कारण पनि यसको फैलावट बढीरहेको छ ।  

डेंगु रोग सार्ने लामखुट्टे अन्य लामखुट्टेभन्दा फरक खालको छ । यसले सफा पानीमा आफ्नो जीवनचक्र चलाउँछ । अर्थात सफा पानीमा फुल पार्छ । अरु लामखुट्टेले फोहोर पानीमा पनि फुल पार्छ तर यसले सफा खोज्छ । हाम्रा घर वरिपरि जथाभावी फालिएका टायर, बोत्तलमा जमेका पानीमा यसले फुल पार्ने लार्भा हुर्काउने काम गरिरहेको छ । हाम्रा घरघरमा सुन्दरताका लागि फूलका गमलाहरु राखिएका छन्, फूलदानीहरु छन्, कुलर तथा एसीहरु राख्ने चलन छ । यसमा जम्मा हुने पानीमा पनि डेंगु फैलाउने लामखुट्टे हुर्किरहेका हुन सक्छन् ।  

अर्को कुरा भनेको शहरीकरण बढेपछि हामीले पर्याप्त पानी सप्लाइ गर्न सकेनौँ । हामीले आवश्यक पर्छ भनेर पानी जम्मा गरेर राख्ने गर्यौँ । साना साना बाल्टिहरुमा, डब्बाहरुमा, ट्यांकीहरुमा पानी जम्मा गर्ने गर्यौँ । यसले गर्दा पनि डेंगु फैलाउने लामखुट्टेलाई सहज हुन गयो । पानी राखेका भाँडाहरु दुई तीन दिनमा सफा गरिरहने । पानी अभाव रहेको ठाउँमा पनि पानी जम्मा गर्ने हो भने छोपेर राख्नुपर्छ । 

ठ्याक्कै रोक्न सकेनौँ 

हामीले गएको वैशाखमा धरानमा पहिलो पटक यसको प्रभाव भेट्यौँ । त्यसलाई नियन्त्रणको प्रयास गर्दै गर्दा असारसम्म आइपुग्दा पानी परेपछि केही कम भयो । पानी नपर्दासम्म रोगीहरु बढेको देखियो । तर पानी परेपछि भने पहिले फैलिएको जस्तो रहेन कम हुँदै गयो । तर पनि सुनसरीमा अहिले पनि सबैभन्दा बढी यसका प्रभावितहरु छन् । तर त्योभन्दा पनि यसको व्यवस्थापन गरेको छ कि छैन भन्ने कुरा महत्वपूर्ण हो । हामीले यसको व्यवस्थापन राम्रोसँग गरेका छौँ । 

हामीलाई अलि बढी लागेको कुरा पनि प्रभाव रोकिनु पर्ने थियो भन्ने नै हो । तर ठ्याक्कै यो रोकिन सकेको छैन । यो हामीलाई पनि लागेको कुरा हो । धरानमा समस्या आइसकेपछि हामीले गरेको कृयाकलापमा कहीँ कमजोरी पो छ कि भनेर बंगलादेश, भारत र थाइल्याण्डमा डेंगु रोकथाममा काम गरिरहेका एक्सपर्टहरुलाई ल्याएर देखायौँ ।

उहाँहरुले हामीले गरेको काम खोज र नष्ट गर, अर्लि डाइग्नोसिसका कुराहरु, व्यवस्थापन गर्ने कुराहरुको बारेमा स्थलगत रुपमा नै हेर्ने काम भयो । हामीले अन्तर्राष्ट्रिय स्तरमा भएका प्रयोगहरु नै अपनाइरहेका थियौँ ।  

तर पनि यसमा खोज र नष्ट गर्ने अभियान सडक तथा खुला ठाउँमा भइरहेको भए पनि घरभित्रबाट हुन सकेन कि भन्ने उहाँहरुबाट सुझाव आयो । हामीले फगिङ गर्ने काम पनि बाटो बाटोमा त गरेकै हो ।  

ललितपुरको ग्वार्को लगायतका केही क्षेत्रमा स्थलगत रुपमा पुगेर हेर्दा पनि घरघरमा टायर राखेका ठाउँमा लामखुट्टेको फुल र लार्भा भेटियो । यो भनेको घर घरबाटै सफाइ अभियान हुनु वा भनौँ खोज र नष्ट गर भन्ने अभियान अघि बढाउनु जरुरी देखियो । अहिले हामी त्यसैतर्फ बढी केन्द्रित पनि भइरहेका छौँ । 

प्रभाव काठमाण्डौमा पनि 

एक नम्बर प्रदेश खासमा सुनसरीमा डेंगुका प्रभाव सबैभन्दा बढी छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पनि अहिले झण्डै ३२ सय बिरामीहरु छन् । त्यसपछि मकवानपुरको हेटौँडा, त्यस्तै पोखरामा पनि बिरामीहरु देखिएका छन् । पोखरामा गएको वर्ष ५ सयभन्दा बढी प्रभावित भएका थिए । तर यो पटक भने कम भएर अहिले ८७ जनामा मात्रै प्रभाव देखिएको छ ।  

अहिले काठमाण्डौमा पनि यसको प्रभाव देखिएको छ । काठमाण्डौमा ११ जना, भक्तपुरमा १ जना र ललितपुरमा ५ जना डेंगुका बिरामी भेटिएका छन् । विशेष गरी काठमाण्डौको बानेश्वर, त्रिपुरेश्वर तथा ग्राण्डी अस्पतालको वरपर डेंगुको प्रभाव देखिएको छ । ललितपुरको नक्खुतिर पनि देखिएको छ । 

यहाँको महानगरपालिका पनि खोज र नष्ट गर भन्ने अभियानमा लाग्नु पर्ने देखिन्छ । खोज र नष्ट गर भन्ने उपाय बाहेक यसको अरु उपाय छैन । त्यसैले यो अभियानलाई प्रभावकारी बनाउन प्रत्येक घरघरमा सरसफाई गर्नु जरुरी छ ।  

सुनसरीमा जब यो रोगको प्रभाव देखिएको जानकारी आयो हामीले सुरुदेखि नै नियन्त्रणका लागि प्रयास गर्यौँ । केन्द्रले हरेक सहयोग पुर्याएकै हो । विभागले टोलीहरु खटाएकै हो ।

परिचालन राम्रो भएको हो । पालिका, प्रदेश सरकार र संघीय सरकारको पुरै टोली धरानमा खटेको हो । महिला समूह, विभिन्न राजनीतिक दल सबै परिचालन गर्ने काम गरियो । खोज र नष्ट गर भन्ने अभियान घर बाहिर निकै राम्रोसँग भयो । तर कमजोरी कहाँ रह्यो भने घरभित्रको सफाइमा हामी चुक्यौँ ।  

हाम्रा केही कमिकमजोरी भए होला । तर अब त्यो सबै कमजोरीलाई आत्मसात गर्दै घरघरभित्रबाट सरसफाई गर्दै यो नियन्त्रणका लागि हामी लागिरहेका छौँ । 

हुन त स्थानीय तहमा खोज र नष्ट गर भन्ने अभियानका लागि केन्द्रीय सरकार गएर गर्न सक्दैन । त्यहीको सरकारले गर्ने हो । त्यो अभियान स्थानीय सरकार र सम्बन्धित प्रदेश सररकारले चलाउनु पर्छ । हामीले त यसको विधि र आवश्यक प्रविधिका साथै प्रयोगको कुरा उपलब्ध गराइदिने हो । 

नयाँ नयाँ ठाउँमा प्रभाव

हामीले डेंगु नियनत्रणको लागि सबै खालका उपायहरु अपनाइसकेका छौँ । हामीले जुन ठाउँमा खोज र नष्ट गर भन्ने विधि अपनायौँ, त्यो ठाउँमा अहिले डेंगु देखिएको छैन । नयाँ नयाँ ठाउँमा यसको प्रभाव देखिँदै गएको छ ।

मेरो घर वरिपरि सबै कुरा व्यवस्थित गरेको छु, गमलामा पानी पनि जम्न दिएको छैन, बोत्तल सिसाहरु पनि व्यवस्थित गरेको छु भनेपछि हाम्रो छिमेकीले पनि त्यही अनुसार गर्नु पर्यो नि । त्यो हुन सक्यो भने मात्रै यसको प्रभाव कम गर्न हामी सक्छौँ ।  

गएको वर्ष चितवन, नवलपरासी, झापा लगायतका ठाउँमा खोज र नष्ट गर भन्ने अभियान चलाईएको थियो । तर यो वर्ष सुनसरी, मकवानपुर, काठमाण्डौमा यसको प्रभाव देखियो । अहिले हामीले सोचेको ठाउँ भन्दा विल्कुल नयाँ नयाँ ठाउँमा यसको प्रभाव देखिएको छ । 

अब के रह्यो भने खोज र नष्ट गर अर्थात घर वरपर सबैले सफा राखौँ भन्ने कुरा नै मूल कुरा हो भन्ने सबैले लिनु जरुरी भएको छ । यसका लागि पालिकाले अब बेलैमा सचेत भएर आवश्यक उपाय अवलम्बन गर्नु जरुरी देखिन्छ । आगामी बजेटमा तीनै तहको सरकारले डेंगु रोग नियन्त्रणका लागि निश्चित बजेट छुट्याएर राख्नु जरुरी छ । 

निर्मूल पार्न कठिन

अहिले मान्छेहरु अहिले अलि बढी सचेत भएको पनि देखियो । केही हुनासाथ अस्पतालमा गएर जँचाइहाल्ने गरेका छन् । डेंगु नेपालमा छैन है भन्ने अवस्था बनाउन सहज छैन । युरोप अमेरिका जस्ता देशले त निर्मूल पार्न सकेको अवस्था छैन । त्यसैले नेपालले निर्मूल नै पार्न सक्ने देखिँदैन । नयाँ कुनै भ्याक्सिन आए वा नयाँ केही प्रविधि आए निर्मूल होला होइन भने त्यो सम्भव देखिँदैन ।

हामीले गर्ने भनेको यसको रोकथामका लागि अपनाइने विधि नै हो । यो फैलन नदिन अपनाइने खोज र नष्ट गर भन्ने अभियान नै हो । अहिले सरकारको रणनीति भनेको पनि खोज र नष्ट गर भन्ने नै हो । हामीले यसका प्रभावितहरुको राम्रोसँग व्यवस्थापन गरिरहेका छौँ । अहिलेसम्म एक जनाको पनि मृत्यु हुन दिएका छैनौँ । नियन्त्रणभन्दा बाहिर गयो भन्ने ठाउँ छैन । बंगलादेशमा अहिलेसम्म ४० जना डेंगुबाट मरिसकेको अवस्था छ ।

तर हामीले त्यो अवस्था आउन दिएका छैनौँ । हामी त यसको नियन्त्रणमा दिनरात लागिरहेका छौँ । नियन्त्रणमा खटिरहेका छौँ । प्रभावितहरुको संख्या बढेको पक्कै हो । तर त्यसलाई नियन्त्रण गर्नेतर्फ हामी सचेत र सजग भएर पक्कै हिँडेका छौँ । 

(स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको एनटीटी तथा भ्याक्टर वर्न रोग शाखाका प्रमुख घनश्याम पोखरेलसँग नवराज फुयाँलले गरेकाे कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: भदौ २४, २०७६

घनश्याम पाेखरेल

पोखरेल स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको एनटीटी तथा भ्याक्टर वर्न रोग शाखाका प्रमुख हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया