अरुणखोलाको डाइभर्सन बगाएपछि अवरुद्ध राजमार्ग एकतर्फी सञ्चालनमा

 भदौ ३, २०७६ मंगलबार ८:५१:५६ | दयाराम आचार्य
unn.prixa.net

फाइल फोटो

नवलपरासी – अरुणखोला पुल भाँचिएपछि निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध पूर्व–पश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।

नवलपरासीको अरुणखोलामा बनाइएको डाइभर्सन आइतबार साँझ आएको बाढीले बगाउँदा पूर्ण रुपमा यातायात अवरुद्ध भएको थियो । डाइभर्सनको मर्मत गरेर झण्डै ३० घण्टापछि यातायात एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो ।

यातायात एकतर्फी रुपमा सञ्चालनमा आएसँगै जाममा रोकिएका सवारी विस्तारै गन्तव्यतर्फ छुटेका छन् । राजमार्ग अवरुद्ध हुँदा दुवै तर्फ दश/दश किलोमिटर भन्दा लामो यातायातको लाम लागेको थियो । अहिले डाइभर्सनमा पालै पालो पूर्वतर्फबाट छुटेका सवारीलाई एक घण्टा र पश्चिमतर्फबाट छुटेका सवारीलाई एक घण्टाका दरले वारपार गराउने काम भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । पानी नपरे मंगलबार दिउँसोबाट यातायात सञ्चालनमा सहजता आउने उहाँले बताउनुभयो ।

गएको साउन २९ गते अरुणखोला पुलमा ट्रक ठोक्किएर पुल भाँचिएपछि यस क्षेत्रमा यातायात सञ्चालनमा समस्या भइरहेको छ । पुल मर्मतको काम भइरहेको र अबको तीन–चार दिनमा नै काम सकिने सडक विभागले जनाएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया