‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जनताले जानकारी पाउनुपर्छ, विज्ञप्ति जारी नगर्नु गल्ती’

 भदौ ३, २०७६ मंगलबार १५:१४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाको बारेमा नेपाली नागरिकले यथेष्ट जानकारी पाउनुपर्ने धारणा राख्नुभयो ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले भारतीय विदेशमन्त्री डा. सुव्रमण्यम जयशंकरको नेपाल भ्रमणको पूर्व सन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै दीक्षितले भन्नुभयो, 'केपी शर्मा ओली दुई तिहाई बहुमत प्राप्त प्रधानमन्त्री हो । उहाँ त सर्वेसर्वा हो । उहाँ बिरामी भएर सिंगापुर जानुभयो । फेरि जाँदै हुनुहुन्छ । उहाँको स्वास्थ्यको बारेमा जनताले थाहा पाउनुपर्छ । उहाँ त पब्लिक टप मस्ट फिगर हो ।’

दीक्षितले प्रधानमन्त्री देशमा नहुँदा अस्थिरता उत्पन्न हुने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँको स्वास्थ्यको बारेमा विज्ञप्ति निकाल्नुपर्दछ । जनताले जानकारी त पाउनुपर्यो नि । हुन त उहाँ औषधिको मात्रा मिलाउन फेरि जान लाग्नुभएको भन्ने कुरा आएको छ । अहिले इन्टरनेटको जमाना छ । भाइबर छ । यसबारेमा जानकारी चाहियो । उहाँको स्वास्थ्य अवस्थाबारे विज्ञप्ति चाहियो । यो त हाम्रो हकको कुरा हो । उहाँको पनि सूचना दिनु दायित्व हो । उहाँको अगाडिको भविष्य के हो ? यसबारेमा जानकारी नदिनु उहाँको टिमको गल्ती हो ।’

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री ओली भदौ ५ गते स्वास्थ्य चेक–अप (फलोअप) को लागि सिंगापुर जान लागेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘उहाँ फलो–अपका लागि सिंगापुर जाँदै हुनुहुन्छ । औषधिको मात्रा मिलाउनुपर्ने भएकोले जान लाग्नुभएको हो ।’ उनले फेरि मिर्गौला प्रत्यारोपण हुने हो कि भनेर गरिएको हल्लामा कुनै सत्यता नरहेको जिकिर उहाँले गर्नुभयो । जाने मिति तय भएपनि उताबाट प्रधानमन्त्री कहिले फर्किने भन्ने मिति अहिलेसम्म तय नभएको डाक्टर भट्टराईले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया