‘लेनदेनबाट हुन्छ पूर्वाञ्चल विश्वविद्यालयमा पदाधिकारी नियुक्ति’

 भदौ ४, २०७६ बुधबार १६:२१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीले  बाहिरबाट उपकुलपति तथा रजिष्ट्रार नल्याउन चेतावनी दिएका छन् ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. घनश्यामलाल दासको कार्यअवधि सकिन केही दिन मात्र बाँकी रहँदा बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै कर्मचारी संघ र प्राध्यापक संघले आयातित उपकुलपति र रजिष्ट्रार नल्याउन भनेका हुन् । उनहीहरुले ‘हामी हाम्रो विश्वविद्यालय बनाउन सक्छौँ’ भन्दै बाहिरका मान्छे नल्याउन चेतावनी दिएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयको २५ औँ वर्ष पूरा भैसकेको अवस्थामा  अहिलेसम्म आन्तरिक रुपमा नेतृत्व पाउन नसकेको आरोप लगाउँदै विश्वविद्यालय कर्मचारी संघका सभापति  राजकुमार सापकोटाले अबको नेतृत्व विश्वविद्याल भित्रैबाट छान्न  दबाब दिनुभयो । कर्मचारी संघका सभापति सापकोटाले बाहिरबाट ल्याइएका उपकुलपति तथा राजिष्ट्रार  उत्तरदायी नहुने गरेको बताउनुभयो ।

‘उनीहरु विभिन्न चलखेलबाट विश्वविद्यालयको उपकुलपतिमा आउने गरेको हुँदा उनीहरु जागिर खान मात्र अभिप्रेरित हुने गरेका छन्, उहाँले भन्नुभयो, ‘विश्वविद्यालयप्रति जिम्मेवार र जवाफदेही देखिएका छैनन् त्यसैले अब हामी हाम्रो विश्वविद्यालय आफै चलाउन सक्छौँ ।’ विश्वविद्यालयलाई अनुसन्धानको थलो बनाउन नसकेर भाँडभैलो र अस्तव्यस्त बनाएको उहाँले आरोप लगाउनुभयो ।

पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघका सभापति डा. सन्देशदास श्रेष्ठले २५ वर्षसम्म  केही उल्लेख्य प्रगति नहुनुले आन्तरिक नेतृत्वले विश्वविद्यालयलाई अगाडि बढाउँदै शैक्षिक गतिविधि गर्न सक्ने बताउनुभयो । अहिले पूर्वाञ्चल विश्वविद्यालयभित्र ७ जना प्राध्यापक र १९ जना सह–प्राध्यापक रहेकोले उनीहरुमध्येबाट नै उपकुलपति तथा रजिष्ट्रार नियुक्त गर्नु पर्ने उहाँको भनाइ छ ।

पूर्वाञ्चल विश्वविद्यालयको कुलपतिमा प्रधानमन्त्री रहने व्यवस्था रहेको छ भने सह–कुलपतिमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री रहने व्यवस्था गरिएको छ । राजनीतिक नियुक्ति हुने भएकोले यहाँको नियुक्तिको विषयमा विभिन्न समयमा प्राध्यापकहरुले यो मागलाई उठाउँदै आएको भए पनि अहिलेसम्म बाहिरबाट प्राध्यापक ल्याएर उपकुलपति बनाउने गरिएपछि उनीहरुले आन्तरिक रुपमा नै उपकुलपति बनाउन माग गरेका हुन्  ।

उपकुलपतिको कार्यकाल सकिन लागेको अवस्थामा गरिएको पत्रकार सम्मेलनको क्रममा प्राध्यापक संघका  सभापति श्रेष्ठले ‘फलाम तातेको बेला हान्यो भने मात्र आकार दिने’ भएकोले अहिले यो प्रक्रियाको विषय छलफलमा भैरहँदा आफ्ना कुराहरु सार्वजनिक गरिएको बताउनुभयो ।  अहिलेसम्म नियुक्त भएर आएका उपकुलपतिलाई  ६ महिना त विश्वविद्यालयलाई बुझ्न नै लाग्ने गरेको उहाँको भनाइ छ ।

प्राध्यापक संघका पूर्व सभापति दिनेशराज सुवेदीले पदाधिकारी नियुक्तिको विषय आर्थिक लेनदेन र चलखेलबाट सुरु हुने गरेको आरोप लगाउनुभयो । ‘पदाधिकारी नियुक्त भएर आएपछि बुझाएर आएको रकम कसरी असुली गर्ने भन्नेमा पदाधिकारीहरु भुलिँदा विश्वविद्यालयको साख जोगाउन मुुस्किल परेको छ’, सुवेदीले भन्नुभयो, ‘यी कुरामा सुधार नहुँदासम्म विश्वविद्यालयले गति लिन सक्दैन ।’

विश्वविद्यालयको काम कारबाहीलाई नै प्रभावित पार्ने गरी धम्कीपूर्ण भाषामा आएको प्राध्यापक संघ र कर्मचारी संघको विज्ञप्तिमा विश्वविद्यालयभन्दा बाहिर गएर पदाधिकारी नियुक्त गरिए विश्वविद्याल भित्र विषम् परिस्थितिको सिर्जना गर्ने र अस्तव्यस्त पार्नेसम्मको चेतावनी आएको अवस्थामा सुधारको विषयलाई भने छोएको समेत छैन । पदकै लागि भनेर आएको विज्ञप्तिले प्राध्यापकहरुभित्र आफ्नो भाग खोज्ने काम मात्र गरेको  कतिपयको भनाइ छ ।

पूर्वाञ्चल विश्वविद्यालय भ्रष्टाचारले जर्जर बनेको छ ।  त्यसलाई सुधार गर्ने र राम्रो बनाउनको लागि प्राध्यापककको भूमिका कहीँ कतै उल्लेख भएको छैन ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया