भारतीय विदेश मन्त्री जयशंकर स्वदेश फिर्ता

 भदौ ५, २०७६ बिहिबार १९:२३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतीय विदेश मन्त्री डाक्टर सुव्रमण्यम(एस) जयशंकर स्वदेश फिर्ता हुनुभएको छ । बुधबार नेपाल आउनुभएका उहाँ बिहीबार स्वदेश फर्कनुभएको हो ।

नेपाल उत्रे लगत्तै विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार नै भेटघाट गर्नुभएको थियो । बिहीबार बिहान पशुपतिनाथको दर्शन गरेर उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शितल निवास पुग्नुभएको थियो ।

भारतीय विदेशमन्त्री जयशंकरलाई भेट्न नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उहाँ बसेकै होटल सोल्टी पुग्नुभएको थियो । यस्तै समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई तथा अर्का अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव पनि होटलमै पुगेर भेट गर्नुभएको थियो ।

बुधबारदेखि सुरु भएको नेपाल र भारतबीच परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौं बैठकमा सहभागी हुन उहाँ नेपाल आउनु भएको थियो । नेपाल आउँदा उच्चस्तरीय भेटघाट पनि गर्नुभएको हो ।

भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकार दोस्रो कार्यकालका लागि गठन भएपछि भारतीय विदेश मन्त्रीको यो पहिलो नेपाल भ्रमण हो ।  

परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र उहाँका समकक्षी जयशंकरले सहअध्यक्षतामा बुधबार साँझ आयोगको बैठक बसेको थियो । बैठकमा नेपालका तर्फबाट ३५ जना सहभागी भएका थिए ।

संयुक्त आयोगमा दुईपक्षीय सम्बन्धका सबै विषयलाई विभिन्न पाँच शीर्षकअन्तर्गत राखेर छलफल गरिएको थियो । राजनीतिक सुरक्षा र सीमा, आर्थिक सहयोग तथा पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत र संस्कृति तथा शिक्षाअन्तर्गत समग्र विषयमा छलफल भएको थियो ।  

यी मुख्य कार्यसूचीभित्र परेका रेल्वे लाइन, जलमार्ग, पेट्रोल पम्प लाइन, हुलाकी सडक, चेकपोस्ट स्थापना, नयाँ जलविद्युत योजनालगायतका एक दर्जनभन्दा बढी नयाँ विषयमा समझदारी र कार्यान्वयन प्रक्रिया अगाडि बढ्ने र केही हस्तान्तरण हुने सम्भावना छ ।

बैठकको सुरुमै केही नयाँ समझदारीमा दुई देशका परराष्ट्र मन्त्रीले हस्ताक्षर गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया