बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा दिउँसोपछि ह...
बैशाख ८, २०८१ शनिबार
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीरको विषयमा अब भारतसँग कुनै वार्ता नगर्ने बताएका छन् ।
बुधबार न्यूयोर्क टाइम्ससँगको अन्तर्वार्तामा उनले कश्मीरको मुद्दामा दुई परमाणु शक्तिसम्पन्न देशबीच टकरावको स्थिति पैदा भएको पनि बताए । अन्तर्वार्तामा इमरानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले पटक–पटक वार्ताका लागि पहल गरेको पनि बताए । तर आफ्नो प्रस्तावलाई भारतीय पक्षले अस्वीकार गरेको उनले बताए ।
इमरान खानले अन्तर्वार्तामा भने, ‘अब कुरा गर्नुको कुनै औचित्य छैन । मैले कुराकानीका लागि धेरै कोसिस गरेँ । योभन्दा बढी मैले केही गर्न सक्दिनँ ।’ भारत प्रशासित जम्मू–कश्मीर राज्यको स्वात्तता भारतको केन्द्रीय सरकारले खारेज गरेसँगै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले लगातार आलोचना गरेका छन् । पाकिस्तानले यस विषयलाई संयुक्त राष्ट्र संघमा समेत पुर्याएको छ ।
भारत सरकारले भने कश्मीरमा बिस्तारै वातावरण शान्त हुने बताएको छ । न्यूर्योक टाइम्सलाई दिएको अन्तर्वार्तामा इमरान खानले लगाएको आरोप पनि झुटो भएको अमेरिकाका लागि भारतीय राजदूत हर्षवर्द्धन श्रृंगलाले बताए ।
इमरान खानले अन्तर्वार्तामा भनेका छन्, ‘सबैभन्दा महत्वपूर्ण कुरा त ८० लाख मानिसको जीवन खतरामा छ । हामीलाई यहाँ नरसंहार हुने र धर्मको आधारमा हत्या हुन्छ कि भन्ने डर छ ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कश्मीरको अवस्था नाजुक भएको अभिव्यक्ति केही दिनअघि दिएका थिए ।
इमरान खानले कश्मीरमा भारतले ठूलो सैन्य कारबाही गर्ने सम्भावना रहेको बताए, ‘भारतले यस्तो गरे पाकिस्तान पनि जवाफी कारबाही गर्न बाध्य हुनेछ । तपाईँ अनुमान लगाउन सक्नुहुन्छ कि दुई परमाणु शक्ति सम्पन्न देश आँखामा आँखा जुधाएर अघि बढ्ने हो भने के होला ? यस कुरामा पुरै विश्व सतर्क हुन आवश्यक छ ।’
केही दिनअघि भारतीय रक्षा मन्त्री राजनाथ सिंहले भारत अहिले पनि परमाणु हतियार ‘पहिले प्रयोग नगर्ने’ नीतिमा कायम रहेको तर भविष्यमा के गर्ने भन्ने बारेमा चाहिँ परिस्थितिमा निर्भर रहने बताएका थिए ।