अवरुद्ध मध्य पहाडी सडकखण्ड दुई सातापछि सुरु

 भदौ ६, २०७६ शुक्रबार १८:३०:२९ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – ताल फुटेसँगै तालको पानीले पक्की सडक बगाउँदा अवरुद्ध बनेको मध्य पहाडी लोकमार्गअन्तर्गत बाग्लुङ–बुर्तिबाङ सडकखण्ड सुरु बनेको छ ।

बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाअन्तर्गत तुरतुरे भन्ने स्थानमा गएको साउन २० गते ताल फुटेसँगै त्यस सडक खण्डको दुई सय मिटर पक्की सडक खोलाले बगाएपछि सडक पूर्ण रुपमा बन्द भएको थियो ।

सडक सुरु गर्न मध्य पहाडी सडक आयोजनाले दैनिक तीन वटा डोजर र एक्स्काभेटर प्रयोग गरेर सडक माथिबाट चट्टान फुटाएर सडक चौडा पारेको थियो ।

चाडबाड नजिकिँदै जान थालेको अवस्थामा सडक अवरुद्ध बनेपछि  जिल्ला प्रशासन, स्थानीय  गाउँपालिका, नगरपालिका र मध्य पहाडी सडक आयोजनालगायतको सहयोगमा १६ दिनपछि अवरुद्ध सडक पूर्ण रुपमा सुरु बनेको जिल्ला प्रशासन कार्यालय बाग्लुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताउनुभयो ।

‘सुरुमा हेर्न जाँदा निकै अप्ठेरो र चट्टान थियो, त्यो हेर्दा यति चाँडै खुलाउन सकिन्छ जस्तो लागेको थिएन, सडक खुलाउनका लागि आयोजनालाई जिम्मा दिइएको थियो, समयमै काम गरेर अवरुद्ध सडक सुरु बन्यो’, प्रमुख जिल्ला अधिकारी क्षेत्रीले भन्नुभयो ।

सडक सुरु भएपछि गुल्मी र बाग्लुङ हुँदै बुर्तिबाङसम्म पुग्ने सवारीका साधनहरु यतिबेला सहज तरिकाले आवतजावत गर्न थालेका छन् । सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रका ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाका हजारौँ मानिसहरु थप समस्यामा परेका थिए ।

गएको वर्षको भदौ २९ गतेको अविरल वर्षाका कारण ठूलो पैह्रो गएर अचानक बढीगाढ खोला थुनेपछि तुरतुरेमा तीन सय मिटरभन्दा लामो कृत्रिम ताल बनेको थियो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया