एसीसी यू–१९ एसिया कपका लागि नेपाली टिम श्रीलंका प्रस्थान, राम्राे नतिजाकाे अपेक्षा

 भदौ ७, २०७६ शनिबार १५:१२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एसीसी यू–१९ एसिया कपका लागि नेपाली टिम श्रीलंका प्रस्थान गरेको छ ।

प्रतियोगिता सेप्टेम्बर ५ तारिखदेखि सुरु हुने भए पनि नेपाली युवा टिम अभ्यास खेलका लागि अगाडि नै श्रीलंका प्रस्थान गरेको हो ।   

घरेलु मैदानमा दुई हप्ताको तयारीपछि श्रीलंकामा तीन ओटा अभ्यास खेलका लागि नेपाली युवा टिम निर्धारित मितिभन्दा पहिले नै श्रीलंका गएको हो । श्रीलंकाको वातावरणमा भिज्न र प्रशिक्षणका साथै स्थानीय क्लबसँगको अभ्यासका लागि नेपाली टिम गएको हो । नेपालले श्रीलंकामा अभ्यासका साथै 'ए' डिभिजन क्लबसँग अभ्यास खेल्नेछ । 

नेपाली युवा टिमलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले शुभकामनासहित बिदाइ गर्नुभयो । उपाध्यक्ष तिम्सिनाले नेपाल टिमले राम्रो प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताउनु भयो । 

यस्तै टिमका कप्तान रोहित पौडेलले घरेलु तयारी सोचेको जस्तो नभए पनि आफूहरुले श्रीलंकामा अन्तिम तयारी गरेर एसिया कपमा राम्रो गर्ने बताए । उनले टिममा यसपटक सबै अनुभवी खेलाडी रहेकाले एसिया कपमा सेमिफाइनलसम्म पुग्ने सम्भावना रहेको बताए ।  
 
यस्तै प्रशिक्षक विनोद दासले टिमले योजना अनुसारको तयारी नपाए पनि पछिल्लो केही महिनादेखि टिमको सेटअप राम्रो रहेकाले एसिया कपमा राम्रो नतिजाको अपेक्षा गरेको धारणा राखे ।    

नेपालले एसिया कपको तयारीका लागि एसियन क्रिकेट काउन्सिल-एसीसीसँग सुरुवातमा भारतमा प्रशिक्षणका लागि आग्रह गरेको थियो । तर एसीसीले त्यो प्रस्तावलाई अस्वीकार गरे पनि श्रीलंकामा नै पाकिस्तान र अफगानिस्तानसँग अभ्यासका लागि अनुरोध गरेको थियो । तर एसीसीले त्यो आग्रह पनि सम्भव नभएको बताएपछि अन्तिममा नेपालले स्थानीय क्लबसँग अभ्यास खेल खेल्ने तय भएको हो । 

समूह 'बी' मा रहेको नेपालले पहिलो खेलमा श्रीलंकासँग सेप्टेम्बर ६ तारिखमा खेल्नेछ । त्यसपछि ८ तारिखमा नेपालको प्रतिद्वन्द्वी बंगलादेश हुनेछ । समूहको अन्तिम खेलमा नेपालले सेप्टेम्बर १० मा यूएईसँग खेल्नेछ । समुहका दुई शीर्ष टिमले सेमिफाइनलमा स्थान बनाउने छन्

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया