ड्राइभर र भान्छेका छोराछोरीलाई पनि आफ्नै छोराछोरीले पढ्ने ठाउँमा पढाउने अरुण जेट्ली

 भदौ ७, २०७६ शनिबार १९:११:९ | एजेन्सी
unn.prixa.net

‘दान त्यही हो, जुन गुप्त हुन्छ र मद्दत त्यही हो, जुन आफ्नो दोस्रो हातलाई पनि थाहा नहोस्’, भारतीय पूर्व अर्थ मन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेट्ली पनि यस्तै थिए । 

जेट्ली आफ्ना निजी कर्मचारीहरुको जीवनस्तर उकास्न कैयौँ महत्वपूर्ण जिम्मेवारी निभाउने गर्दथे । आफ्ना कर्मचारीको रेखदेख आफ्नै परिवारका सदस्य जसरी नै रेखदेख गर्दथे । किनकि जेट्ली उनीहरुलाई पनि आफ्नै परिवारका हिस्सा मान्दथे । 

त्यस्तै कर्मचारीहरु पनि परिवारको सदस्य जसरी नै जेट्लीको हेरविचार गर्दथे । जेट्लीलाई समयमा नै औषधि दिन, खानपान लगायत सबैको ख्याल राख्दथे ।

जेटलीले एक अघोषित नीति बनाएर राखेका थिए, जसका अनुसार उनका कर्मचारीका छोराछोरी चाणक्यपुरीमा रहेको त्यही कार्मल कन्भेन्ट स्कूलमा पढ्दथे, जहाँ जेटलीका छोराछोरी पढ्दथे । यदी कर्मचारीका कुनै प्रतिभावान छोराछोरी विदेशमा पढ्न इच्छुक हुँदा उसलाई विदेश पढ्न पठाइन्थ्यो, जहाँ जेट्लीका छोराछोरी पढ्दथे । 

ड्राइभर जगन र सहायक पद्मसहित १० जना कर्मचारी जेट्ली परिवारसँग पछिल्लो दुई तीन दशकदेखि जोडिएका छन् । यीमध्ये तीन जनाका छोराछोरी अझै पनि विदेशमा पढिरहेका छन् । 

सहयोगीका एउटा छोरा डाक्टर, अर्काे छोरा इञ्जिनियर 

जेट्ली परिवारको खानपिनको पुरै व्यवस्था हेर्ने जोगेन्द्रका दुई छोरीमध्ये एउटी छोरी लण्डनमा पढिरहेकी छिन् । संसदमा छायाँ जसरी जेट्लीसँग रहने सहयोगी गोपाल भण्डारीका एउटा छोरा डाक्टर छने भने अर्का छोरा इञ्जिनियर बनिसकेका छन् । 

यस बाहेक स्टाफमध्ये सबैभन्दा महत्वपूर्ण थिए, सुरेन्द्र । उनी अदालतमा जेट्लीको अभ्यासको समयमा उनकै साथमा हुन्थे । घरदेखि अफिसम्मको सबै जिम्मेवारी सुरेन्द्रको थियो । 

कर्मचारीका छोराछोरीले एमबीए या अन्य कुनै व्यवसायिक कोर्स गर्न चाहे जेट्ली शुल्कदेखि लिएर रोजगारीसम्मको प्रबन्ध गर्दथे । जेटलीले सन् २००५ मा

आफ्ना सहायक रहेका ओपी शर्माका छोरा चेतनको कानुन विषयको पढाइका क्रममा आफ्नो ६६६६ नम्बरको एसेन्ट कार उपहार दिएका थिए । 

छोराछोरीदेखि कर्मचारी सबैलाई चेकबाट नै पैसा 

जेट्ली वित्तीय प्रबन्धनमा निकै सावधानी अपनाउँथे । एक समय उनी आफ्ना छोराछोरी (रोहन र सोनाली) लाई पकेट खर्च चेकबाट नै दिन्थे । यतिमात्र होइन, कर्मचारीहरुलाई तलब र मद्दत लगायत सबै चेकबाट नै भुक्तानी गर्दथे ।

उनले वकालत अभ्यासको समयमा नै मद्दत गर्न कल्याणकारी काेष बनाएका थिए । यो खर्चको प्रबन्ध एउटा ट्रस्टको माध्यमबाट गरिन्थ्यो । कर्मचारीका छोराछोरीले राम्रो अंक ल्याउँदा जेट्ली पत्नी संगीताले उनीहरुलाई उपहार दिएर प्रोत्साहित गर्दथिन् ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया