कपिलवस्तुमा प्रहरीले रक्सी खाएर ‘ड्युटी’ गर्ने गरेकाे सर्वसाधारणकाे गुनासाे

 भदौ ७, २०७६ शनिबार १९:३१:३२ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – आम सर्वसाधारणलाई रक्सी सेवन गरी सवारी साधन चलाए कडा कारबाही गर्ने प्रहरी भने आफैँ रक्सी सेवन गरी ड्युटीमा खटिने गरेकाे पाइएकाे छ । 

जिल्ला सदरमुकाम तौलिहवाको वडा प्रहरी कार्यालयका प्रहरीहरु बर्दीमै रक्सी सेवन गरेर ड्युटी गर्ने गरेको पाइएको छ । जिल्लाका विभिन्न चोक गस्तीमा निस्कने प्रहरीहरु आफैँ रक्सी सेवन गरी ड्युटी गर्दा आम सर्वसाधारणहरु प्रहरीको यस्तो व्यवहारबाट आक्रोशित छन् । 

शुक्रवार साँझ ७ः ३० बजे तौलिहवाको भवानी भिक्षु चोकमा ड्युटीमा रहेका वडा प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक मिलन चौधरी प्रहरी बर्दीमै रक्सीको मातमा ड्युटीमा थिए । आफैँ रक्सी सेवन गरेका चौधरीले सर्वसाधारणलाई जाँच गर्ने र सार्वजनिक नियम कानुनका पाठ सिकाउँदै थिए । 

प्रहरीले आफैँ ड्युटीका बेला रक्सी सेवन गर्ने अनि हामीलाई कानुन सिकाउने भन्दै सर्वसाधारणहरुले विरोध गर्दैगर्दा उनी भने उल्टै सर्वसाधारणलाई थर्काउँदै थिए । उनको यस्तो व्यवहारको खबर जिल्ला प्रहरी कार्यालयमा पुगेपछि उनलाई तत्काल वडा प्रहरी कार्यालयबाट तानेर जिल्ला प्रहरी कार्यालयमा हाजिर गराइएको छ । 

जनताको सेवामा खटिने वडा प्रहरी कार्यालयका प्रहरीहरुबाट उल्टै जनतालाई दुःख दिने गरेको गुनासो आफूकहाँ आउने गरेको यशोधरा गाउँपालिकाकी उप प्रमुख कन्यावती उपाध्यायले बताउनु भयो । इमरजेन्सी अवस्थामा अस्पताल आउने बिरामीहरुलाई पनि लाइसेन्स र ब्लु–बुकका नाममा वडाबाट खटिएका प्रहरीहरुले अनावश्यक दुःख दिने गरेको वडाध्यक्ष उपाध्यायले भन्नुभयो । 

‘ड्युटीमै रक्सी खाँदै हिँड्ने प्रहरीलाई कस्तो कारबाही हुन्छ, हामी पनि हेर्छौँ’, उप प्रमुख उपाध्यायले भन्नुभयो, ‘नियम कानुन जनतालाई मात्रै हो कि बर्दीधारी प्रहरीलाई पनि लागू हुन्छ ?’

अन्तिम अपडेट: चैत १६, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया