संविधान दिवसमा मोदी आउने सम्भावना कति ?

 भदौ ८, २०७६ आइतबार १३:५९:२७ | नवराज फुयाँल
unn.prixa.net

काठमाण्डौ - यस पटकको संविधान दिवसमा देशका सबै ठाउँ घर, गाडीमा राष्ट्रिय झण्डा होस् । हरेक घरले दीपावली मनाउन् । बिजुली नभएका ठाउँमा टुकी बत्ति बालेरै भए पनि दीपावली गरियोस् ।

यो सामान्य व्यक्तिको मात्रै चाहना होइन । देशको कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओलीको दृढ संकल्प, अठोट र प्रतिबद्धता पनि हो । ‘संविधान दिवसलाई यस पटक भव्य बनाइन्छ’ अघिल्लो हप्ता बुधबार गृहमन्त्रालयमा भएको संविधान दिवस तथा राष्ट्रिय मूल दिवस समारोह समिति बैठकमा प्रधानमन्त्रीले भन्नुभयो ।

२०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको दिनलाई सरकारले राष्ट्रिय दिवसका रूपमा भव्य रुपमा मनाउने तयारी गरेअनुरुप विभिन्न कामहरु अघि बढाएको छ । 

दिवसका दिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रमुख अतिथिको रुपमा ल्याउन गृहकार्य अघि बढेको छ । केही दिनअघि नेपाल भ्रमणमा आएका भारतका विदेशमन्त्री एस जयशंकरसँग प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपालको संविधान दिवसमा प्रमुख अतिथि बनाउने प्रस्ताव गरेको खबर बाहिरिएको थियो । 

विदेशमन्त्री जयशंकरले पनि नेपाली प्रधानमन्त्रीको निम्ता आफ्ना प्रधानमन्त्रीसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । तर अहिलेसम्म यस बारेमा औपचारिक तयारी भने नभएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई बताउनुहुन्छ । ‘यस विषयमा अहिलेसम्म औपचारिक तयारी भएको छैन, औपचारिक तयारी भएपछि जानकारी हुने नै छ’ उहाँले भन्नुभयो । 

‘तिक्तता मेट्न आउन सक्छन् मोदी’

कश्मीरको विषयलाई लिएर अहिले भारतले छिमेकी देशसँगको साथ खोजिरहेको छ । अर्कोतर्फ कश्मीरको विषयमा पाकिस्तानले अन्तर्राष्ट्रिय अदालत जाने बताइरहेको छ । पाकिस्तान कश्मीरकोबारे नेपालले पनि केही बोलोस् भन्ने चाहन्छ । यो बेला छिमेकीको साथ खोज्दै भारतीय प्रधानमन्त्री मोदी नेपाल आउनसक्ने आंकलन गरेरै संविधान दिवसको दिन प्रमुख अतिथिको निम्तो नेपालले पठाएको हुन सक्ने आंकलन गर्नुहुन्छ, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ ।

२०७२ मा संविधान जारी गर्दै गर्दा असन्तुष्टि जनाएको भारतलाई संविधान सर्वस्वीकार्य रहेको सन्देश दिन पनि प्रमुख अतिथिको रुपमा भारतीय प्रधानमन्त्री मोदीलाई निम्ता गरिएको हुन सक्ने उहाँ बताउनुहुन्छ । भारतीय प्रधानमन्त्री मोदी संविधान दिवसका दिन प्रमुख अतिथिको रुपमा नेपाल आए मधेसवादी दलहरुका लागि गतिलो झापड हुने उहाँको विश्लेषण छ । 

मधेसवादी दलले अहिले पनि संविधान संशोधनको माग छाडेका छैनन् । भारतले २०७२ मा जारी भएको संविधानलाई औपचारिक रुपमा स्वागत गरेको छैन । तर त्यही संविधानमा टेकेर भएको तीनै तहको चुनावलाई भने भारतले स्वागत गरेको थियो । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संविधान दिवसकै दिन प्रमुख अतिथि बनाएर निम्त्याए त्यो सन्देश औपचारिक रुपमै प्रवाह हुने ठानेर सरकारले त्यसप्रति तयारी थालेको हुन सक्ने परराष्ट्रविद् श्रेष्ठ बताउनुहुन्छ । 

संविधान दिवसका दिन भारतीय प्रधानमन्त्री प्रमुख अतिथिको निम्ता स्वीकार्दै नेपाल आए यो सरकारको परराष्ट्र नीति सफल भएको ठानिनुका साथै गिर्न लागेको प्रधानमन्त्रीको साख पनि फेरि उचो हुने उहाँ बताउनुहुन्छ । ‘भारत पनि कश्मीरको विषयमा छिमेकीको साथ खोजिरहेकाले नेपालको निम्तो अस्वीकार गर्ने पक्षमा रहन्छ भन्ने देखिँदैन’, ‘उहाँले भन्नुभयो, त्यसैले संविधान दिवसका दिन मोदी नेपाल आउन सक्छन् ।’ 

दुवै देशका लागि अवसर

यस्तै भारतका लागि पूर्व राजदूत दीपकुमार उपाध्याय यो दुवै देशका लागि सम्बन्ध सुधारको मौका रहेकाले भारतीय प्रधानमन्त्री नेपाल आउन सक्ने देख्नुहुन्छ । नेपाल र भारतबीच वर्षौँदेखिको सम्बन्ध रहेकाले कुनै बेलाको अवस्था के थियो भन्ने कुराले खासै महत्व नराख्ने उहाँ बताउनुहुन्छ । नेपाल आउने नआउने भन्ने विषय अरु कुराले फरक नपार्ने भन्दै मोदीको समय तालिका के छ भन्ने कुराले प्रभाव पार्ने उहाँ बताउनुहुन्छ ।

‘अन्य कुरामा व्यस्त बन्न नपरे भारतीय प्रधानमन्त्री नेपाल आउन सक्ने प्रवल सम्भावना छ, किनकि विगतमा बाँकी रहेका केही तिक्तता मेट्ने यो अवसर पनि हो’ उहाँले भन्नुभयो । 

संविधान सर्वस्वीकार्य बनाउने नबनाउने भन्ने विषय आन्तरिक विषय भएकाले भारतले खासै ठूलो कुराको रुपमा लिएको आफूले पनि नपाएको उपाध्याय बताउनुहुन्छ । ‘अहिले सरकारमै रहेको दलले पनि संविधान संशोधनको माग राखिरहेको छ यो भनेको हाम्रो आन्तरिक कुरा हो’, उहाँले भन्नुभयो, ‘यसलाई त हामीले आन्तरिक रुपमा सम्बोधन गरेर अघि बढ्नु त छँदैछ ।’ 

भारतीय प्रधानमन्त्रीको भ्रमणले सकारात्मक सन्देश दिने र सानातिना झोक्काले वर्षौँदेखिको दुई छिमेकीको सम्बन्ध बिग्रिहाल्दैन है भन्ने गतिलो उदाहरण बन्न सक्ने तर्क पनि उहाँले गर्नुभयो । 

केपी शर्मा ओली र नरेन्द्र मोदी पहिलो पटक प्रधानमन्त्री रहँदा भारतले नेपाललाई नाकाबन्दी गरेको थियो । यो बेला दुवै प्रधानमन्त्रीको पहिलो कार्यकालमा भएको घटना थियो । अहिले दुवै दोस्रो कार्यकालका लागि प्रधानमन्त्री रहँदा दुवैले आपसी सम्बन्ध सुधार गर्दै अघि बढ्ने सन्देस दिन पनि यो पहल भएको हुन सक्ने उहाँ आकलन गर्नुहुन्छ ।  

भारतीय प्रधानमन्त्री मोदीले आफ्नो पहिलो कार्यकालमा ४ पटक नेपालको भ्रमण गर्नुभएको थियो । यसअघि नै मोदीले लुम्बिनी भ्रमण गर्ने इच्छा देखाउनुभएको र संविधान दिवस पनि नजिकिँदै गरेकाले नेपालले यही मौका छोपेर भ्रमणको निम्ता पठाएको हो ।  

अन्तिम अपडेट: चैत १५, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया