मौसम : पश्चिमी भू–भागमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना

 भदौ ९, २०७६ सोमबार ९:१०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सोमबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले पश्चिमी भू–भागमा सामान्य बदली रहेको छ भने अन्य ठाउँको मौसम सामान्यतया सफा रहेको छ । 

मनसुनी न्यूनचापीय रेखा (मनसुनी समयमा वर्षा गराउने प्रणली) साविक स्थानभन्दा केही दक्षिणतर्फ सरेको मौसमविद्हरुले बताएका छन् । मनसुनको न्यूनचापीय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण–उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगालदेखि बंगालको खाडीको शिरसम्म बुझ्नुपर्ने हुन्छ ।

भारतको मध्य प्रदेशको उत्तरी भाग तथा आसपासका क्षेत्रमा एउटा न्यूनचापीय प्रणली विकसित भएको छ । मनसुनी गतिविधि त्यति सक्रिय नभए पनि स्थानीय वायुको प्रभावले केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविदहरुले बताएका छन् ।

सोमबार दिउँसो देशभरी सामान्य बदली रहि केही ठाउँमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुनेछ । देशको पश्चिमी भूभागका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, सोमबार राति पनि पश्चिमका केही भूभागामा भारी वर्षा हुने महाशाखाले जनाएको छ । 

पश्चिमका केही भूभागमा भारी वर्षाको सम्भावना भएकाले यात्रा गर्दा सतर्कता अपनाउन पनि महाशाखाले सुझाव दिएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया