डाेटी : सेती नदीमा डुबेर ५ महिनामा ५ जनाकाे ज्यान गयाे

 भदौ ९, २०७६ सोमबार १८:५१:४३ | विमल बिष्ट
unn.prixa.net

डोटी – सेती नदीमा परेर गएको वैशाखदेखि अहिलेसम्म पाँच जनाको गैसकेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वैशाखयता सेती नदीमा नुहाउने क्रममा पाँच जनाले ज्यान गुमाइसकेका छन् । 

झण्डै ४० वर्षदेखि ७५० मेगावाट क्षमताको जलविद्युत उत्पादन गर्ने भनेर ‘पश्चिम सेती’ का नामले चर्चामा रहेको डोटीको सेती नदीले बर्सेनि स्थानीयको अकालमै ज्यान लिने गरेको छ । 

पाँच महिनामा पाँच जनाको सेती नदीकै कारण ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार गएको जेठ महिनाको ३ गते केआईसिंह गाउँपालिका–५ का ३८ वर्षीय लोकेन्द्रबहादुर रावलको यो वर्षकै पहिलो व्यक्तिका रुपमा सेती नदीमा डुबेर ज्यान गएको हो ।

शिखर नगरपालिका–२ कालागाडमा रहेको धार्मिक तीर्थस्थल सालमुनिमा पूजा गर्ने क्रममा नुहाउँदै गर्दा नदीमा बेपत्ता हनु भएका रावलको शव नौ दिनपछि फेला परेको  थियो ।

त्यस्तै शिखर नगरपालिका–४ कि १६ वर्षीया धर्माकुमारी महरा गएको जेठ ५ गते सेती नदीमा नुहाउँदै गर्दा डुबेर बेपत्ता हुनुभयो । फुपूको घरमा आउनु भएकी धर्मा दिपायल सिलगढी नगरपालिका–५ घोल्तडा गाउँनजिक रहेको सेती नदीमा डुबेर बेपत्ता हुनु भएको थियो । प्रहरीका अनुसार उहाँको शव अहिलेसम्म पनि फेला परेको छैन । 

आदर्श गाउँपालिका–५ लामिखालका ४५ वर्षीय पुस्कर सिंह सेती नदीमा नुहाउने क्रममा गएको जेठ १३ गते डुबेर बेपत्ता हुनुभयो । गाउँबाट मलामी आउनु भएका सिंह शिखर नगरपालिका–११ गोपघाट नजिकबाट नुहाउँदै गर्दा डुबेर बेपत्ता हुनु भएको थियो । उहाँको शव १३ दिनपछि फेला परेको थियो । 

शिखर नगरपालिका–१० का बालक गोविन्द बलायर गएको असार ६ गते सेती नदीमा डुब्नु भयो । उहाँको शव डुबेको ठाउँबाट झण्डै तीन किलोमिटर तल फेला पर्‍यो । 

त्यसैगरी भदौ १ गते दिपायल सिलगढी नगरपालिका–४ राजपुर घर भएकी ८ बर्षीया बालिका करिश्मा नेपालीको सोही नगरपालिका–३ दिपायल बासुधारा नजिक नुहाउने क्रममा डुबेर ज्यान गयो ।  मामाघर जानु भएकी करिश्मा १ गते आइतबार बिहान १० बजे सेतीमा डुब्नु भएको थियो । उहाँको उनको शव बगेको ठाउँबाट एक किलोमिटर तल मटेलामा फेला परेको थियो । 

सेती नदीमा पानीको बहाव बढेका कारण नुहाउन जाँदा सामान्य लापर्वाहीले डुब्ने गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक धामीले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सेती नदीको पानी अन्य नदीको तुलनामा बढी चिसो र तेजिलो छ, जसले गर्दा अन्य नदीमा पौडी खेलेका व्यक्तिहरु सेती नदीमा छिट्टै डुब्ने गर्छन् ।’ चिसो पानीमा पौडी खेल्दा रक्तसञ्चार कम हुने र मान्छे छिट्टै थाक्ने भएका कारण पौडी खेल्न नसकेर डुब्ने गरेको उहाँको भनाइ छ । 

नदीमा डुब्नेहरुमा अधिकांश नुहाउने क्रममा डुवेका छन् । सेती नदीमा बर्सेनि स्थानीयले अकालमै ज्यान गुमाउने क्रम नरोकिँदा नदी किनाराका बस्तीहरुमा जन चेतनामूलक कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको शिखर नगरपालिका–१ का वडाध्यक्ष खडकबहादुर शाहीले बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया