यूएईमा केदारको ज्यान गएको खबर सुनेर काकाको समेत निधन, श्रीमती अचेत

 भदौ १२, २०७६ बिहिबार १६:४४:१२ | उमाकान्त पाण्डे

यूएई – माफरक अस्पताल आबुधाबीमा डेढ महिनादेखि उपचार गराइरहेका एक नेपालीको बिहीबार बिहान ज्यान गएको छ । उदयपुर पुरानदहका ३८ वर्षीय केदार कुमार कठायतको ज्यान गएको हो ।

केदारको ज्यान गएको खबर सुनेपछि उहाँका ५१ वर्षीय काका नरेन्द्रबहादुर कठायतको समेत हृदयघातका कारण ज्यान गएको परिवारले जनाएको छ । श्रीमानको ज्यान गएको खबर सुनेर श्रीमती पनि अचेत हुनुहुन्छ।

आबुधाबीमा रहेको सेक्युरिटी मिडिल ईस्ट कम्पनीमा सेक्युरिटीको काम गर्ने केदार डेढ महिना पहिले व्यायाम गर्ने क्रममा अचानक बेहोस भएर लडेपछि साथीले अस्पताल पुर्‍याएका थिए ।

शरीरमा रगत जमेको र एउटा मृगौलाले समेत काम गर्न छोडेको कारण सघन उपचार कक्षमा राखेर उहाँको उपचार भइरहेको थियो । उपचारपछि स्वास्थ्यमा केही सुधार आए पनि दुई दिनअघि फेरि पहिलेजस्तै बेहोश भएपछि डाक्टरले अब बचाउन नसक्ने बताएका थिए ।

त्यसको दुईदिन पछि बिहीबार बिहान केदारको ज्यान गएको उहाँका आफन्त सन्तोष कोइरालाले उज्यालोलाई जानकारी दिनुभयो ।

अहिले उहाँको शव खालिफा अस्पताल आबुधाबीमा सारिएको छ । शव चाँडै नेपाल फर्काउन समन्वय भइरहेको दूतावासका श्रम काउन्सिलर भेषबहादुर कार्कीले बताउनुभयो । मृतक केदारको परिवारमा बुवा आमासहित श्रीमती र दुई छोरा छन् ।

अन्तिम अपडेट: चैत २९, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया