धान गोडेर मल नहाल्दा गाँज हाल्दैन, बाला लाग्दैन

धानबालीलाई मरुवा र डडुवा रोगबाट कसरी जोगाउने ?

 भदौ १३, २०७६ शुक्रबार ९:२०:५ | विष्णु विश्वकर्मा
unn.prixa.net

काठमाण्डौ – भक्तपुरका किसान संजोग श्रेष्ठ पातमा कालो–खैरो टिम्का परेका धानका केही बोट समातेर नार्कको बाली रोग विज्ञान महाशाखा ल्याबमा आउनुभयो ।

खेतको आधा भागमा यस्तै धान देखेपछि उहाँ यसपटक पनि ललितपुर खुमलटारमा रहेको नार्कको बाली रोग विज्ञान महाशाखा पुग्नु भएको हो ।

श्रेष्ठले ल्याएका पातलाई महाशाखाकी वैज्ञानिक प्रतिक्षा शर्माले ‘माइक्रोस्कोप’मा राखेर राम्रोसँग हेर्नुभयो । दुई तीन पटक ओकाईफर्काइ हेरेपछि उहाँले धानमा मरुवा रोग लागेको पत्ता लगाउनुभयो ।

‘भक्तपुरबाट आएका नमूनालाई हेर्दा अहिले धानमा मरुवा रोग लाग्न सुरु भएको छ’, किसान श्रेष्ठको गुनासो सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘पोहोर पनि उहाँको खेतमा यो रोग लागेको थियो । यस वर्ष पनि मरुवा रोग नै देखियो । उपचारको विधि र विषादीको नाम दिएर पठाएका छौं ।’

भक्तपुरका किसान श्रेष्ठको जस्तै पहाड र तराईका धेरै खेतमा अहिले मरुवा रोग देखिएको छ । काठमाण्डौ उपत्यका आसपासका किसान रोग लागेको धानको बोट नै बोकेर खुमलटार पुग्ने गरेका छन । धान तथा अरु बालीमा लागेको रोग किराबारे पर्याप्त जानकारी लिएर उनीहरु फर्किने गरेका वैज्ञानिक शर्माले बताउनुभयो ।

‘अहिले धानको सिजन भएकाले धेरै किसान धानमा लागेको रोग किराको समस्या लिएर आउनुहुन्छ’, उहाँले भन्नुभयो, ‘हामीले पनि रोग किराबारे राम्रोसँग अध्ययन अनुसन्धान गरेर समाधानको उपाय सुझाउने गरेका छौ । रोग किराको प्रकोप देखिएको ठाउँमा टिम बनाएर हामी आफैँ पनि पुग्छाैँ ।’

धान कसरी गोडमेल गर्ने ? 

अहिले किसान धान गोडमेल गर्न व्यस्त छन । धानलाई झारबाट जोगाउन गोडमेल गरिन्छ । धानबाली सपार्नका लागि गोडमेल गरेपछि मल हालिन्छ । यसबेला धानमा रोग किरा लाग्ने बेला पनि हो ।

‘धेरै किसान हातले नै धान गोड्छन् । कतिपयले भने हाते मेशिनको प्रयोग गर्छन्’, नेपाल कृषि अनुसन्धान परिषद नार्कका वरिष्ठ धान बाली वैज्ञानिक हरिकृष्ण उप्रेतीले भन्नुभयो, ‘यो मेशिन प्रयोग गर्नलाई धान लाइनमा रोप्नुपर्छ । रोप्नेबेला लाइनमै रोपेका किसानले मात्रै अहिले गोड्दा हाते मेशिन प्रयोग गर्न सक्छन् । नभए हातले नै गोड्नुपर्छ ।’

वैज्ञानिक उप्रेतीका अनुसार धान रोपेको २०/२५ दिनपछि गोड्नुपर्छ । धान गोड्दा झार राम्रोसँग उखेल्नुपर्छ । राम्रोसँग गोडमेल गरेपछि मात्रै राम्रोसँग धान फल्न पाउँछ ।

कुन मल कसरी हाल्ने ? 

धान गोडमेल गरेसँगै मल हाल्नुपर्छ । रोप्दाखेरी जसरी मल हालिन्छ, गोडमेल गर्दा पनि मल हाल्यो भने धानले राम्रोसँग गाँज हाल्छ र बाला लाग्छन् । धान रोप्दा युरिया, डीएपी र पोटास हाल्ने गरिन्छ । अहिले गोडमेल गर्दा भने सबैभन्दा धेरै युरिया मल हाल्नुपर्छ । गाउँघरतिर गोबर मल हाल्ने गरिन्छ ।

धान हुर्किने, बढ्ने र फल्ने बेला नाइट्रोजनको आवश्यकता पर्ने भएकाले युरिया मल हाल्नुपर्ने वैज्ञानिक उप्रेतीको भनाइ छ । ‘धान गोडमेल गरेपछि मल हाल्नुपर्छ । मल हाल्दा नाइट्रोजन, फस्फोरस र पोटासको पूर्ति गर्नुपर्छ । त्यसैले अहिले युरिया मल अनिवार्य हाल्नुपर्छ’ उहाँले भन्नुभयो, ‘गोडमेल गर्दा मल हालिएन भने धानको बोटले धेरै गाँज हाल्दैन । बाला लाग्दैन ।’ 

धान धेरै फल्नका लागि धेरै गाँज हाल्नुपर्छ । धेरै बाला लाग्नुपर्छ । यसका लागि मल चाहिन्छ । धानले अरु तत्व घाम, हावा, पानीबाट लिन्छ । तर मल नहाल्दा बाला नलाग्न पनि सक्छ । युरिया मल धानबालीमा तीन पटकसम्म हाल्नुपर्छ । पहिलो पटक धान रोप्दा हालिन्छ । त्यसपछि पहिलो पटक धान गोड्दा हाल्नुपर्छ । अनि दोस्रो पटक धान गोडमेल गर्दा पनि युरिया हाल्नुपर्छ ।

बालीमा नाइट्रोजन उडेर जाने भएकाले पटक पटक युरिया मल हाल्नुपर्ने नार्कका बरिष्ठ धानबाली वैज्ञानिक उप्रेती बताउनुहुन्छ । अरु मलजस्तो यो लामो समयसम्म रहिरहँदैन । ‘डिएपी पोटास जस्तो गरी यो मल लामो समयसम्म रहिरहँदैन, उडेर जान्छ’ उहाँले भन्नुभयो, ‘धानका लागि अनिवार्य चाहिने भएकाले पटक पटक भए पनि युरिया हाल्नु पर्ने भएको हो ।’

धान खेतमा चाहिने जति मल हालियो भने गाँज धेरै हाल्छ । धेरै गाँज हाल्यो भने धेरै बाला लाग्छ । मलखात पुग्यो भने सबै बालामा धान फल्छ । बाला पोटिलो पनि हुन्छ ।

उहाँका अनुसार मल हाल्दा पानी बग्न दिनु हुँदैन । खेतमा जाने कुलो बन्द गर्नुपर्छ । खेतबाट पानी बग्ने आलीका छिद्र पनि राम्रोसँग टाल्नुपर्छ । आकाशे पानी परिरहेका बेला मल हाल्नु हुँदैन । यसले मल बगाएर लैजाने हुन्छ । पानीले बगाएमा मल हाले पनि लाग्दैन । बिहान शीत परेका बेला पनि मल हाल्नु हुँदैन ।

घाम लागेका बेला मल हाल्नु उत्तम मानिन्छ । मल हालेको कम्तीमा २४ घण्टा पानी नपरेमा धानबाली सप्रिन्छ । बाली सप्रिएमा धान उत्पादन पनि धेरै हुन्छ ।

मरुवा र डडुवा रोगबाट धान कसरी जोगाउने ? 

धान बालीमा अहिले मरुवा रोग देखिएको छ । पहाडी जिल्लामा मरुवा रोग देखिएको छ भने तराईका जिल्लामा डडुवा रोग लाग्छ । दुबै रोगले धानबाली फस्टाउन दिँदैन । सुरुमा पातमा काला–काला टिम्का पर्ने यो रोगले पछि बोट सुकाउँछ । बोट पहेलो हुँदै सुकेपछि बढ्न सक्दैन भने राम्रोसँग हुर्किन पाउँदैन । हुर्किन नपाएपछि गाँज हाल्दैन । बाला लाग्दैन ।

गोडमेल गरेर मल हालेपछि रोग किरा लाग्ने जोखिम हुन्छ । पानी पर्ने र घाम पनि लाग्ने अवस्थामा मरुवा रोग लाग्छ । धानले गाँज हाल्ने र बाला निस्कने बेला मरुवा रोगले समस्या पार्छ । तराइमा डडुवा रोग लाग्ने बेला पनि यही हो ।

धानलाई मरुवा र डडुवा रोगबाट जोगाउनका लागि विषादीको प्रयोग गर्नुपर्ने वैज्ञानिकको सुझाव छ । रोप्ने बेलामा यी रोग नलाग्ने जात लगाएमा भने यो रोगबाट धानबाली जोगाउन सकिन्छ । डडुवा र मरुवा रोगबाट जोगिने उपाय भनेको ढुसीनासक विषादीको प्रयोग हो । ढुसीनासक विषादी साप, डेरोसाल, कासुकी र ट्राइसाइकोजोक लगायतका विषादी प्रयोग गर्न सकिने नार्कका वैज्ञानिक उप्रेती बताउनुहुन्छ ।
 
‘डडुवा र मरुवाबाट जोगाउन ढुसीनासक विषादी हाल्नुपर्छ’ उहाँले भन्नुभयो, ‘विषादी हाल्दा मात्राको ख्याल गर्नुपर्छ ।’ उहाँका अनुसार किराबाट धानबालीलाई जोगाउन स्टिकरको पनि प्रयोग गर्न सकिन्छ ।

यसका लागि नजिकैका कृषि प्राविधिकसँग सल्लाह लिनुपर्छ । गोडमेलसँगै मल हाल्ने र रोग किराबाट जोगाउन दैनिक धानको हेरचाह गर्नुपर्ने उहाँको भनाइ छ ।

‘बुढाकापाले ‘घोकन्ते विद्या धाउन्ते खेती’ उखान हाल्छन् । यसको अर्थ बिरुवाले बोल्दैन’ उहाँले भन्नुभयो, ‘यसका लागि दैनिक हेरचाह गर्नुपर्छ । बोटको अवस्था थाहा पाउनुपर्छ । उसले देखाएका लक्षण चिन्नुपर्छ । अनि मात्रै बालीलाई रोग किराबाट जोगाउन सकिन्छ ।’

यस वर्ष देशभर ९४ दशमलव ८३ प्रतिशत धान रोपाइँ भएको कृषि विभागले जनाएको छ । यो गएको वर्षभन्दा एक प्रतिशत कम हो । गएको वर्ष ९५ प्रतिशत रोपाइँ भएको थियो ।

रोपाइँं हुने कूल १५ लाख हेक्टर क्षेत्रफलमध्ये यस वर्ष १३ लाख ८ सय ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको कृषि विभाग अन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ ।

मनसुन ढिला सुरु हुनु र तराईमा बाढी आएका कारण यस वर्ष कम रोपाइँ भएको हो । सबैभन्दा धेरै रोपाइँ हुने प्रदेश २ मा यस वर्ष ९३ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा धान रोपाइँ भएको छ । पोहोरको भन्दा कम रोपाइँ भएकाले यस वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको छ ।

अन्तिम अपडेट: चैत २३, २०८०

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया