बालविवाह गरेकी किशोरी धरौटी तिर्न नसक्दा थुनामा

 भदौ १३, २०७६ शुक्रबार १३:४२:३६ | अमर सुनार
unn.prixa.net

दैलेख – बालविवाहको मुद्दामा धरौटी तिर्न नसक्दा चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ की १८ वर्षीया किशोरी एक महिनादेखि कारागारमा थुनिएकी छिन् ।

दैलेख जिल्ला अदालतले गएको साउन ८ गते मागेको ३५ हजार धरौटी बुझाउन नसक्दा उनी थुनामा परेको दैलेख कारागारका जेलर जीतबहादुर खत्रीले बताउनुभयो ।

उनलाई बिहे गरेर लग्ने आठबीस नगरपालिका–२ सिगौडीका ३९ रामप्रसाद जैसी भने आफ्नो हिस्साको ३५ हजार धरौटी बुझाएर त्यही दिन तारेखमा छुटेका थिए । बिहे गरेर लैजाने जैसी छुटे पनि किशोरी भने धरौटी तिर्न नसक्दा जेलमा थुनिनु परेको छ ।

गएको असार १४ गते बाल विवाह गरेको भन्दै किशोरीकी आमाले उजुरी दिएकी थिइन् । आमाको  उजुरीको आधारमा प्रहरीले दुवैलाई असार १६ गते गिरफ्तार गरेर मुद्धा चलाएको थियो ।

चार छोराछोरीको बाबुले छोरीसँग विवाह गरेपछि उनीबाट छुटाउन परिवारले मुद्धा हालेको भए पनि अदातले धरौटी मागेपछि धरौटी तिर्न नसक्दा किशोरी जेल चलाउन भएकी हुन् । किशोरीको परिवारजन छाक टार्नै मुस्किल पर्ने अति विपन्न छन् ।

किशोरी विवाह गर्ने रामप्रसादका आफन्त भने किशोरीकी आमाको कारण थुनिनु परेकाले धरौटी तिर्ने जिम्मेवारी पनि आमाकै भएको भन्दै बसेका छन् । तर चामुण्डाबिन्द्रासैनी नगरपालिका–५ की वडा सदस्य तुली कामीले भने धरौटी पनि विवाह गरेर लैजाने पुरुषले नै तिर्नु पर्ने बताउनुभयो ।  

मुलुकी अपराध संहिताको दफा १७३ मा विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन भनिएको छ । यसरी भएको विवाह स्वत रद्ध हुनुका साथै यस्तो विवाह गर्ने र गराउनेलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँ जरिबाना हुने व्यवस्था छ ।

१८ वर्षभन्दा मुनि उमेर भएकालाई सुधार केन्द्र वा परिवारको जिम्मा लगाइने भए पनि १८ वर्ष उमेर पुगेकाले किसोरीसँग धरौटी माग गरिएको जिल्ला अदालत दैलेखले जनाएको छ ।   

अन्तिम अपडेट: बैशाख ४, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया