विवेकशील र कांग्रेस एक हुन्छन् भने मार्सी होइन, बास्मती चामलकै भात खुवाउँछु : प्रसाईँ

 असार २८, २०७५ बिहिबार १७:३९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं –  झापाको बी एण्ड सी टिचिङ्ग अस्पतालको सम्बन्धन प्रक्रिया छिटो पूरा गर्न कलेजका सञ्चालक दुर्गा प्रसाईँले सरकारसँग माग गर्नु भएको छ ।आफूले काठमाडौं बाहिर सुदूरपूर्वमा अस्पताल खोलेको भए पनि सरकारले सम्बन्धन नदिएर अन्याय गरेको बताउनुभयो ।  

बिहीबार रिपोर्टर्स क्लबमा भएको पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक समेत रहनुभएका प्रसाईँले सरकारले आफूलाई विगत तीन वर्षदेखि अन्याय गरिरहेको बताउनुभयो ।  

स्वास्थ्य मन्त्रालय र भवन विभागबाट सम्पूर्ण मान्यताहरु पूरा गरेर सुदूरपूर्वमा  मेडिकल कलेज खोलिएको भन्दै उहाँले गोविन्द केसी र उनका अनुयायीहरुले आफूलाई माफिया भन्दा दुःख लागेको सुनाउनुभयो ।  

बिहान उठ्दा पत्रिका पढ्न समेत डर लाग्ने गरेको भन्दै उहाँले पत्रपत्रिकाले पनि  वास्तविकता नै नखोजी आफूलाई माफिया, माफिया भनेर लेखेको दावी गर्नुभयो । ‘अरु मेडिकल कलेजहरुले गल्ती गरेका छैनन् भन्दिनँ तर गल्ती नै नगरेको ब्यक्तिलाई माफिया भनेर भन्दा मन दुख्दो रहेछ ।’

सुदूरपूर्वमा खोलिएको बी एण्ड सी को सम्बन्धन रोक्दा पूर्वका २९ लाख जनताको स्वास्थ्योपचारमा समेत असहजता आउने उहाँको भनाई छ । पहिले उपचारका लागि भारतको सिलिगुडीसम्म जानुपर्ने तर अहिले उपचारका लागि त्यस क्षेत्रका बासिन्दालाई सहज भएको प्रसाईँले बताउनुभयो ।

‘बोरामा बोकेर ल्याएका खुट्टाहरु जोडेर बिरामीलाई घर पठाएका छौं, टाउकाका गोलीहरु निकालेका छौं,’ उहाँले भन्नुभयो, ‘वर्षमा १२ करोड बराबरको निःशुल्क उपचार गर्नुका साथै राज्यलाई करोडौं रुपैयाँ कर पनि बुझाएका छौं ।’

स्वास्थ्यमा कर छुट गर्न माग गर्दै प्रसाईँले स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा समेत जोड दिनुभयो । 

वाम एकताको लागि आफूले पनि केही भूमिका खेलेको भन्दै प्रसाईले तत्कालीन नेकपा एमालेका अध्यक्ष एंव वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तात्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खाना खुवाएर बी एण्ड सीको सम्बोधन पूरा गर्न खोजिएको भनेर मिथ्या आरोप लागेकोमा पनि उहाँले आपत्ति जनाउनुभयो ।  

‘मुलुकमा स्थिर सरकार र राजनीतिक स्थायित्वको लागि मैले भूमिका खेलेको हुँ, प्रसाईले भन्नुभयो, ‘मेरो घरमा वीपीले पनि खाना खानुभएको छ, गिरिजाले पनि खानुभएको छ, नरहरि आचार्य, विश्वप्रकाश शर्माले पनि खाना खानुभएको छ ।’ 

यदि कांग्रेस र साझा विवेकशील पार्टी एक भएर अघि बढ्ने तयारी गर्छ भने आफू मार्सी चामल मात्रै होइन्, बास्मती चामलको भात खुवाउन तयार रहेको बताउनुभयो । विरोधको लागि विरोध नभई मुलुकको विकास र समृद्धिको लागि लाग्न सबैलाई आग्रह पनि गर्नुभयो ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया