'जुम्लालाई कर्णाली प्रदेशकाे माैसमी राजधानी बनाउन सकिन्छ '

 भदौ १६, २०७६ सोमबार १८:५१:१४ | नेत्र शाही
unn.prixa.net

जुम्ला – कर्णाली प्रदेश सरकारकी प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले जुम्लालाई मौसमी राजधानी बनाउन सकिने सम्भावना रहेको बताउनु भएको छ ।  

मन्त्री केसीले अहिलेको परिवेशमा पूर्वाधारको हिसाबले सुर्खेतलाई  राजधानी तोकिनु ठिक भएको तर अब हिमाली क्षेत्रका लागि पनि कर्णाली प्रदेशले नयाँ सोचका साथ मौसमी राजधानीको बहस सुरु गर्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाले गरेको पत्रकार भेटघाटमा उहाँले पूर्वाधारको हिसाबले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, उच्च पर्वतीय प्रतिष्ठान, भूगोल, कृषि सम्भावना सहितका हरेक सम्भावना र केन्द्रबिन्दु जुम्ला देखिएकाले अब युवाहरुले बहसको बिषय बनाउन आवश्यक रहेको धारणा राख्नुभयो । 

यसअघि कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले समेत संसद निर्वाचितपछि जुम्लाको राजधानी सुर्खेत भए पनि मौसमी राजधानी जुम्ला हुनुपर्ने धारणा सार्वजनिक गर्नु भएको थियो । 

मन्त्री केसीले कर्णाली प्रदेश सरकारले गरेका कामहरु समेत जानकारी गराउनु भएको छ । उहाँले संघीय राज्य संरचना व्यवस्था परिवर्तन भएको तर प्रणालीमा परिवर्तन हुन नसकेका कारण चुनौती भएको बताउनु भयो । मन्त्री केसीका अनुसार सार्वजनिक खरिद ऐन संघीयता अनुसार नभएका कारण काममा वाधा भएको दावी गर्नुभयो । 

निर्यात बढाउने नीति    

मन्त्री केसीले कर्णाली प्रदेश सम्भावना र उत्पादन गर्न सकिने क्षेत्र भएकोले प्रदेश सरकारले आयात घटाउने र निर्यात बढाउने नीति लिएको जानकारी दिनुभयो ।

कर्णाली प्रदेश सरकार स्थापनापछि दुई वर्षमा सम्भाव्यता अध्ययन गरी मध्यकालीन र दीर्घकालीन योजना निर्माण गर्न थालिएको उहाँले बताउनु भयो । ‘कर्णाली प्रदेशमा जुम्ला स्याउ, सिमी बढी उत्पादन गर्न सकिने उर्बर भूमि छ, डोल्पा मुगुमा जडिबुटी छ’, उहाँले भन्नुभयो । 

उद्योग कलकारखाना, कोल्ड स्टोर सञ्चालनमा ल्याउनका लागि सबैभन्दा पहिला बिजुली उत्पादन र कर्णाली राजमार्गलाई सहज बनाउन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । मन्त्री केसीले जुम्लाका गाउँपालिकामा धेरै क्षमता भएको कोल्ड स्टोर र जैविक विषादी उत्पादन गर्ने उद्योग स्थापनाको लागि योजना रहेको तथा चालु आर्थिक वर्षदेखि अनुदान नभइ सफ्ट लोन दिने निर्णय रहेको बताउनु भयाे ।   

अनुदान रकम दुरुपयोग हुनसक्ने भएकाले त्यसलाई रोक्न र किसानको जीवनस्तर परिवर्तन गर्न सफ्ट लोन दिन लागेको उहाँले प्रस्ट पार्नुभयाे । मन्त्री केसीले व्यवस्था नयाँ आए पनि पुरानै प्रणालीबाट काम गर्नुपर्ने बाध्यता भएकाले जनताले सोचे अनुसार काम हुन नसकेको स्वीकार गर्नुभयाे । तर प्रदेश सरकार प्रत्येक नागरिकको आर्थिक जीवनस्तर परिवर्तन गराउने योजनामा काम गर्दै आएको उहाँको दाबी छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया