टेकु अस्पतालका तीन जना डाक्टरलाई डेंगुको संक्रमण !

 भदौ १७, २०७६ मंगलबार १८:३२:४० | विष्णु विश्वकर्मा
unn.prixa.net

काठमाण्डौ – सरुवा रोग अस्पताल टेकुका तीन जना डाक्टरलाई डेंगुको संक्रमण भएको छ ।

अस्पतालका वरिष्ठ फिजिसियनसहित तीन जना डाक्टरमा डेंगुको संक्रमण पुष्टि भएको अस्पतालका प्रशासकीय प्रमुख रुपनारायण खतिवडाले जानकारी दिनुभयो । अरु ८ जना कर्मचारी पनि बिरामी परेका छन् ।

‘बिरामीको जाँच गर्दागर्दै डाक्टरलाई पनि डेंगुको संक्रमण देखिएको छ’, ‘उहाँले भन्नुभयो, ‘अरु ८ जना अस्पतालकै कर्मचारी पनि बिरामी छन् । डाक्टरसहित ११ जनाको उपचार भइरहेको छ ।’

डेंगुको संक्रमण हुनेमा डाक्टरसहित कार्यालय सहयोगी, स्वीपरलगायतका कर्मचारी छन् । पछिल्लो समय चाप बढेपछि बिरामीको उपचारमा खटिएका डाक्टरलाई समेत डेंगुको संक्रमण देखिएको अस्पतालका प्रमुख खतिवडाको भनाइ छ । बिरामी डाक्टर र कर्मचारीको नाम भने खुलाइएको छैन ।

एकैदिन ५ सय ९ जनाको रगत परीक्षण !

मंगलबार मात्रै टेकु अस्पतालमा ५ सय ९ जनाले डेंगुको परीक्षण गरेका छन । पछिल्लो समय काठमाण्डौ उपत्यकामा डेंगुको संक्रमण बढेसँगै बिरामी जाँचका लागि टेकु अस्पताल पुग्ने गरेका छन् ।

मंगलबार जाँच गराएको रिर्पोट बुधबार आएपछि बिरामीको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । अस्पतालमा अहिले २४ जनाको उपचार भइरहेको छ । ९० जना बिरामी उपचारपछि घर फर्किएका छन् ।

अस्पतालले १ हजार ५ सय ४ जनाको रगत परीक्षण गरे पनि एक सय बढीमा डेंगु पुष्टि भएको छ । डेंगुका कारण मोरङ, सुनसरी र चितवनमा गरी ३ जनाको ज्यान गइसकेको छ भने ४ हजार बढी बिरामी छन् ।

‘डेंगु हेल्प डेस्क’ र ‘फिभर क्लिनिक’ सेवा सुरु !

एकैदिन ५ सय जनासम्म बिरामी अस्पताल पुगेपछि ‘डेंगु हेल्प डेस्क’ स्थापना गरिएको छ । अस्पतालमा डेंगुका बिरामीको लामो लाइन लाग्न थालेपछि हेल्प डेस्क नै स्थापना गरेर सेवा सुरु गरिएको अस्पतालका प्रशासकीय प्रमुख खतिवडाले जानकारी दिनुभयो ।

‘बिरामीको चाप बढेपछि अस्पताल बाहिरै छुट्टै डेस्क स्थापना गरेरै सेवा सुरु गरेका छाैँ’, उहाँले भन्नुभयो, ‘गम्भीर प्रकृतिका डेंगुका बिरामीका लागि ल्याबमा ‘फिभर क्लिनिक’ पनि सञ्चालन गरेका छाैँ।’

परीक्षणका लागि अस्पताल आउने गम्भीर प्रकृतिका बिरामीको संख्या पनि बढेपछि ‘फिभर क्लिनिक’ समेत सञ्चालन गरिएको उहाँको भनाइ छ ।

यसअघि टेकु अस्पतालले बिरामीको संख्या बढेपछि २४ शय्या डेंगु बिरामीका लागि छुट्याएको थियो । अस्पतालमा अहिले २४ जना बिरामीको उपचार भइरहेको छ । 
‘एडिज’ प्रजातिको लामखुट्टेले टोकेपछि डेंगु भाइरसको संक्रमण हुन्छ । सफा पानीमा बस्ने, बिहान, दिउँसो र बेलुकी बढी सक्रिय हुने र एकै लामखुट्टेले दश जनासम्मलाई टोक्ने भएकाले डेंगुको महामारी फैलिन सक्नेन जोखिम हुन्छ ।

टाउको दुख्ने, उच्च स्वरो आउने, शरीरमा बिमिरा देखिने, हातखुट्टा गह्रौँ हुने, खान मन नलाग्ने, हिँड्न गाह्रो हुने, रुघाखोकी लाग्ने जस्ता लक्षण देखिएमा डेंगु हुन सक्ने भएकाले तुरुन्तै जाँच गराउन डाक्टरको सल्लाह छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

1 Comments

  • Bharat Kumar shrestha

    Sept. 3, 2019, 10:21 p.m.

    होइन अस्पतालको नाम नै "सरुवा रोग अस्पताल" छ , अनि रोग नलागेर के लाग्छ त भन्या ?? "सरुवा रोग नियन्त्रण अस्पताल" हुनुपर्ने होइन र ? नाम नै परिवर्तन गरौ है / अनि डेंगु रोगवाट बच्न के गर्नुपर्छ , रोकथामको उपायहरुका बारेमा जानकारी दिइनुपर्छ /मान्छे धेरै ओहोरदोहोर हुने ठाउँमा जस्तै बसपार्क, कलङ्की, रत्नपार्क, कोटेश्वर, गौशालामा परामर्श केन्द्र र सचेतना शिविर संचालन गर्न जरुरी छ , साथै देशका अन्य स्थानमा पनि यस वारेमा सचेतना अभियान चलाउनुपर्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया