गल्याङ जीप दुर्घटना अपडेट : ज्यान गुमाउनेकाे संख्या ३ पुग्याे

 भदौ १८, २०७६ बुधबार १८:६:२७ | देव पचभैया
unn.prixa.net

पाल्पा – स्याङ्जाको गल्याङमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । एक जनाको घटनास्थलमा र दुई जनाको उपचारको क्रममा पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार उपचारका क्रममा पाल्पाको रम्भा गाउँपालिका–१ की ६० वर्षीया छलिमाया सार्की र ३२ वर्षीया मन्जु भण्डारीको ज्यान गएको छ । त्यस्तै स्याङ्जाको वालिङ नगरपालिका–१३ का नौ महिने बालक प्रसन्न परियारको घटनास्थलमा ज्यान गएको हो । 

दुर्घटनामा घाइते भएका पाँच जनाको पाल्पाको मिशन अस्पतालमा र १९ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ । उपचार भैरहेकामध्ये मिशन अस्पतालका एक जनाको र लुम्बिनी मेडिकल कलेजका चार जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । 

पाल्पाको रम्भा गाँउपालिकाको हुँगीबाट स्याङ्जाको गल्याङका लागि छुटेको ग १ ज ३८४१ नम्बरको जीप स्याङ्जाको गल्याङ नगरपालिका–३ दिमिकमा बुधबार १ बजेतिर दुर्घटनामा परेको थियो । 

दुर्घटनामा तिज मनाएर फर्किएका महिला र बालबालिकाहरु परेका छन् । 

अन्तिम अपडेट: फागुन २८, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया