‘लू’ काे जाेमिखसँग लड्न सरकारसँग रणनीति छैन, पूर्वतयारीकाे ...
बैशाख ११, २०८१ मंगलबार
यही भदौ २० गते ७७ वर्ष सात महिना सात दिन पुगी जँक्वः(भीमरथारोहण अर्थात् बूढो पास्नी) मनाउन लाग्नुभएका उद्यमी घनश्याम राजकर्णिकार आफ्ना र नातेदार र कुलकुटुम्बलाई आफै निम्तो दिन छोरीहरुका साथ दिनभर आफै कार हाँकेर घरघर पुग्नुभयो ।
उहाँ र धर्मपत्नी शान्तालाई जँक्वःको पूर्वसन्ध्यामा भदौ १५ गते भिक्षुभिक्षुणीहरुले बौद्ध परम्परानुसार परित्राण पाठ गरी शुभकामना र आशिष दिए भने भदौ १७ गते साहित्यकारहरु मात्र जमघट गराई उहाँले बधाई र शुभकामना थाप्नुभयो । यसै वर्ष उहाँको साहित्य लेखनको ५५ वर्ष पनि पुग्दैछ ।
उहाँ हालसम्म एसिया, युरोप र अमेरिकाका २० भन्दा बढी राष्ट्र पुग्नुभयो भने छिमेकी देश चीन पुग्न पनि तीव्र लालायित हुनुहुन्छ । जहाँ टेके पनि नियात्रा लेख्ने उहाँ ल्हासा मात्र जाने निमन्त्रणा आए पनि त्यहाँ जानुभएको छैन । स्वदेशभन्दा उहाँलाई बढी विदेशकै यात्राले बढी तानेको छ ।
संयोग र व्यावसायिक काम पनि त्यस्तै पर्यो उहाँलाई । कति देश घुमियो भनी कण्ठस्थ भन्न पनि सक्नुहुन्न । उहाँको पहिलो नियात्रा कृति ‘विदेशको यात्रा स्वदेशको सम्झना’ (२०३७) यति लोकप्रिय भइदियो कि उहाँ आफै प्रकाशक रहेको सो कृतिको सातौँ संस्करण प्रकाशन भइसकेको छ । सरल भाषाशैली, तीव्र अनुभूति र कौतुहलता तथा पाठकलाई लेखकले घुमेको स्थानमा लान सक्ने विशेषता सो कृतिको भएको भनी आफूले पाठकको प्रतिक्रिया पाएको लेखक बताउनुहुन्छ ।
यात्रा विवरणमा निजी अनुभूति घोलिने नियात्रालाई लोकप्रिय बनाउनुभएका लेखकका नियात्रासम्बन्धी मात्रै नेपाली र अंग्रेजी गरी छ कृति प्रकाशित छन् । ‘विदेशको यात्रा स्वदेशको सम्झना’, ‘देशप्रदेशको भ्रमण’ २०४३ (तेस्रो संस्करण), ‘बौद्ध तीर्थयात्राः नालन्दादेखि लुम्बिनीसम्म’ २०६० (तेस्रो संस्करण) ‘यात्रा अमेरिकाको माया नेपालको’ २०६९ (तेस्रो संस्करण), ‘यात्राको लहरीमा हिउँफूलकी रानी’ २०७४ र ‘माइ ट्राभल्स इष्ट एण्ड वेष्ट’, ‘यात्राको लहरीमा’ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पुरस्कार पनि जितेको छ ।
त्यसो त उहाँले संस्कृति मन्त्रालयबाट प्रदान गरिएको महाकवि देवकोटा पुरस्कार २०७१ र शमी साहित्य साधना सम्मान २०७३ लगायत करिब दुई दर्जन सम्मान, पुरस्कार एवं पदक पनि पाइसक्नुभएको छ ।
बौद्धदर्शन, उद्यम र लेखनलाई एकसाथ अपनाउनुभएका राजकर्णिकार लेखनले नै आफूलाई समाजमा चिनाएको बताउनुहुन्छ । विशेष गरी व्यावसायिक कामको सिलसिलाले विदेशमा पुर्याए पनि त्यसलाई लेखनमा उतारी सुरुसुरुमा आफै प्रकाशक बनी प्रकाशन गर्न पाएकाले कृति बजारमा आउन सकेकामा उहाँ गौरव गर्व गर्नुहुन्छ । ‘पैसा नभएको भए कृति पनि कहाँ निक्लन्थ्यो र ?’ उहाँ आफैँसँग प्रश्न गर्नुहुन्छ ।
उहाँका ‘केही चिन्तन केही मन्थन’ (२०३५), ‘सम्झनाको लहरमा लहरिँदै जाँदा’ (२०५२), ‘पवित्र सम्झना आमाको’ (२०५५), ‘गजराज राजकर्णिकारको वंशावली’(२०६१), ‘अनुभव र अनुभूतिमा घनश्याम राजकर्णिकार’(२०६२), ‘बुद्धज्योतिका केही रश्मि’(२०६४) कृति र ‘बुद्धको सम्झना कल्याणको कामना’(२०३९) सम्पादित कृतिले पनि उहाँलाई विशिष्ट पहिचान दिलाएका छन् ।
बिहानको समय योग, विपश्यना ध्यान, संस्कार च्यानलमा अध्यात्म विषय र युट्युबाट बौद्ध प्रवचन श्रवण गर्ने राजकर्णिकार बिहानकाे भोजनपछि १० बजे कृष्ण पाउरोटी भण्डार प्रालिको आफ्नो कारखानामा पुगी २ बजेसम्म रेखदेख गर्नुहुन्छ जहाँ धर्मपत्नी शान्ता तथा पाँच छोरीहरु रीना ताम्राकार, दीपा ताम्राकार, प्रज्ञा श्रेष्ठ, सृष्टि श्रेष्ठ र पूजा शिख्राकार सञ्चालक र प्रबन्धक रही आफ्नो कम्पनीलाई अघि बढाइरहेका छन् ।
कारखानामा पाउरोटी, केक, कुकिज, पेस्ट्री आदिका मात्र ६०–७० आइटमहरु बन्छन् । दिउँसो बाहिरी काम र साहित्यिक कार्यक्रमहरुमा पुग्ने उहाँ बेलुकी मात्र लेखपढमा लाग्नुहुन्छ । उहाँले घुमेका देशमा मन परेकामा जापान, अमेरिका र सिङ्गापुर, शहरमा टोक्यो, हिरोशिमा, न्यूयोर्क, चेन्नई, पुने, पेरिस र लण्डन, विदेशी खानामा साउथ इण्डियन खाना, पिजा, ब्रेड बटर, ब्राउन ब्रेड, मल्टीग्रेन ब्रेड, हाइ फाइबर कुकिज, चिज केक, ब्ल्याक फरेष्ट पेष्ट्री, पेय पदार्थमा अमेरिकी मिल्क कफी र क्यापुचिनो कफी, भेषभूषामा जापानी किमोनो लागेको छ ।
‘अमेरिकीहरु फ्रेण्डली पाएँ, जापानीहरु रमाइला लागे, जर्मनहरु कर्तव्यनिष्ठ र डेनिसहरु फुर्तिलो पाएँ’, उहाँले भन्नुभयो । नेपालका कमै ठाउँमा पुग्नुभएका उहाँ पोखरा, अन्नपूर्ण, लुम्बिनी र नगरकोट मन पराउनुहुन्छ । आफन्तहरुसँग सम्पत्तिका मामिलामा निकै उतारचढाव, तनाव र द्वन्द्व भोग्नुभएका राजकर्णिकार विपश्यना ध्यानले नै आफूलाई हृदयाघातबाट जोगाएको जिकिर गर्नुहुन्छ । विपश्यनापछि माछामासु छाड्नुभएका उहाँ उच्च रक्तचाप र मधुमेहले नछुँदा भने सन्तोष व्यक्त गर्नुहुन्छ ।
‘मनमा शान्ति लिन सकूँ, लोभ गर्न नपरोस्, लिनुभन्दा दिन सकूँ, बुद्धको शिक्षा पालना गर्न सकूँ’, कृष्ण पाउरोटी भण्डार प्रालि र बौद्ध प्रवचन समाजका अध्यक्ष राजकर्णिकार कामना गर्नुहुन्छ ।
उहाँ हाल घनश्याम राजकर्णिकारका प्रतिनिधि नियात्रा र पाउरोटीका अग्रणी मेरा पिताजी दुई कृति प्रकाशनको तयारीमा हुनुहुन्छ । सके नियात्रा पुरस्कार र घनश्याम राजकर्णिकार फाउण्डेशन खडा गर्ने सोचमा हुुनुहुन्छ उहाँ । ‘मलाई अब घुम्न पुग्यो, चीनको ग्रेटवाल र नेता माओत्सेतुङको शव हेर्ने रहर चाहिँ खूबै छ । धेरै घुमियो, धेरै देखियो, लेख्नचाहिँ कहिल्यै छाड्दिनँ’, उहाँ भन्नुहुन्छ ।