वर्षभरी रोजगारी दिन इलाममा युवा श्रमिक दस्ता गठन

 भदौ २०, २०७६ शुक्रबार १३:१७:८ | सुजता सुनुवार

इलाम– इलामका बेरोजगार युवाहरुलाई वर्षभरी काम दिन युवा दस्ता गठन गरिने भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगारको सूचीमा सूचीकृत युवाहरुलाई वर्षभरी रोजगारी दिने लक्ष्यसहित जिल्लाको सूर्योदय नगरपालिका र रोङ्ग गाउँपालिकाले युवा दस्ता गठन गर्ने भएको हो ।

दुई पालिकाले बजेट तथा नीति कार्यक्रमको व्यवस्था नै गरेर छुट्टै निर्माण समूह तयार गर्न लागेको रोजगार संयोजक विष्णु रिजालले जानकारी दिनुभयो । सूर्योदय नगरपालिकाका झण्डै दुई सय र रोङ्ग गाउँपालिकाका छ सय जनालाई विभिन्न स्थानमा निर्माण गरिने भवनमा खटाउन श्रमिक युवा दस्ता गठन गरिने पालिकाले जनाएका छन् ।

रोजगार संयोजक रिजालका अनुसार, नगरपालिकाले आवसीय गृहको व्यवस्थासमेत गर्नेछ । पालिकाले दस्ताका लागि एक करोड रुपैयाँ बजेट छुट्याएको छ । युवालाई आफ्नै पालिकामा मात्रै होइन, आवश्यक परे अन्य पालिकाका लागि पनि खटाउन सकिने नगरपालिकाले जनाएको छ ।

सूर्योदय नगरपालिकाले बेरोजगार सूचीमा सूचीकृत मध्येबाट सीपको अधारमा श्रमिक दस्तामा समावेश गर्ने नगरपालिकाका उपाध्यक्ष दुर्गादेवी भट्टराईले बताउनु भयो ।

उहाँका अनुसार, ‘सेवा शर्त र परिचालन सम्बन्धीको व्यवस्था नगरपालिकाको कार्यविधिमा नै उल्लेख गरिनेछ । नगरपालिकाले सञ्चालन गर्ने विकास निर्माणको आयोजनामा आवश्यकता र सीप अनुसार तयार भएका योग्य जनशक्ति खटिने छन् ।

विकास निर्माणको आयोजनामासमेत आवश्यकता र सीप अनुसार खटाइने भएकोले वर्षभरी नै श्रमिकलाई काम दिने पालिकाको योजना छ । रोङ्ग गाउँपालिकाले भने निर्माण अभियान्ताका लागि भनेर छनोटमा परेका युवालाई सीप सिकाउन र औजारको व्यवस्था गर्न १० लाख रुपैयाँ बजेट विनियोजन गरेको पालिका अध्यक्ष शमशेर राईले जानकारी दिनुभयो ।

युवाहरुलाई रोजगारी दिनकै लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतकै मागमा आधारित कार्यक्रम सञ्चालन गरिने पालिकाले जनाएको छ । रोङ्ग निर्माण अभियान चलाउन संघीय सरकारलाई समेत बजेट माग गरेको अध्यक्ष राईले बताउनु भयो ।

यसअघि जिल्लाका १० पालिकामा १० हजार पाँच सय ८१ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत कामका लागि आवेदन दिएका थिए । जसमध्ये एक हजार दुई सय २७ जनालाई काम दिइएको थियो ।

अन्तिम अपडेट: चैत १५, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया