चन्द्रयानसँग सम्पर्क विच्छेद भएपछि मोदीले भने : विज्ञानमा विफलता हुँदैन, केवल प्रयोग र प्रयास हुन्छ

 भदौ २१, २०७६ शनिबार ९:१०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

चन्द्रमाको सतहमा उत्रनुभन्दा केही पहिले भारतीय चन्द्रयान–२ को विक्रम ल्याण्डरसँग सम्पर्क टुटेको छ ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन(इसरो) का अध्यक्ष के सिवनले भने, ‘विक्रम ल्याण्डर योजनाअनुरुप नै उत्रिरहेको थियो । चन्द्रमाको सतहभन्दा २.१ किलोमिटर टाढासम्म सबै सामान्य थियो । तर त्यसपछि उसँग सम्पर्क टुटेको छ । डेटाको समीक्षा भैरहेको छ ।’

योजनाअनुरुप विक्रम ल्याण्डर शनिबार बिहान साढे १ बजेदेखि साढे २ बजेको बीचमा चन्द्रमाको सतहमा उत्रनु पर्दथ्यो ।

भारतीय अन्तरिक्ष वैज्ञानिकको उपलब्धिको हौसला बढाउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बेंग्लोरमा रहेको इसरोको मुख्यालय पुगेका थिए । सबै सामान्य भएकाले वैज्ञानिकहरु उत्साहित देखिन्थे तर अचानक विक्रम ल्याण्डरसँग सम्पर्क विच्छेद भएपछि भने उनीहरु निरास देखिन्थे । विक्रम ल्याण्डरसँगको सम्पर्क टुटेपछि प्रधानमन्त्री मोदीले वैज्ञानिकहरुलाई हौसला दिँदै भने, ‘जीवनमा उतार–चढाव आइरहन्छ । मैले कम्युनिकेसन अफ भैरहेको देखेको थिएँ । तर यो पनि सानो उपलब्धि होइन, देश तपाईँहरुप्रति गर्व गर्दछ । तपाईँहरुको मेहनतले धेरै कुरा सिकाएको पनि छ । मेरो तर्फबाट तपाईँ सबैलाई धेरै बधाई छ । तपाईँहरुले देश र विज्ञानको सेवा गर्दै हुनुहुन्छ ।  म पूर्ण रुपमा तपाईँहरुको साथमा छु ।’

त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बिहान इसरोको मुख्यालयबाट देशवासीका नाममा सम्बोधन गर्दै चन्द्रयान–२ सँग सम्पर्क टुटे पनि आफूहरुको हौसला नटुटेको बताएका छन् । इसरोका वैज्ञानिकहरुलाई हौसला दिँदै प्रधानमन्त्री मोदीले भने, ‘तपाईँहरु भारतको शिर ठाडो पार्नकै लागि आफ्नो जीवन दिनु भएको छ । साथीहरु हिजो राति मैले तपाईँहरुको मनस्थिति बुझ्न सक्थेँ । तपाईँहरुका आँखाले धेरै कुरा भनिरहेका थिए । तपाईँहरुको अनुहारमा उदासी देखिएकाले म धेरैबेर बस्न पनि सकिनँ । कैयौँ रात तपाईँहरु सुत्नु भएको थिएन । फेरि पनि तपाईँहरुलाई बिहान बोलाउँ कि झैँ मेरो मनमा भएको थियो ।’

प्रधानमन्त्री मोदीले अगाडि भने, ‘यो मिसनसँग जोडिएका हरेक व्यक्ति एक अलग अवस्थामा थिए । धेरै प्रश्न थिए तर सफलताका साथ मिसन अगाडि बढिरहेको थियो । अचानक सबै दृश्य आउन बन्द भयो । मैले त्यो पल नजिकबाटै देखेको थिएँ, जब सञ्चार सम्पर्क विच्छेद भयो, तपाईँहरु सब हच्किनु भएको थियो । मनमा स्वाभाविक प्रश्न थियो कि के भयो कसरी भयो ? धेरै आशा थियो । तपाईँहरुलाई त्यसपछि पनि केही हुन्छ कि भन्ने आशा थियो । किनकी यस मिसनका पछाडि तपाईँहरुको परिश्रम थियो । पल–पलमा तपाईँहरुले ठूलो जिम्मेवारीका साथ यस मिसनलाई अगाडि बढाउनु भएको थियो । साथीहरु, आज भलै केही रुकावट हात लागेको छ । तर हाम्रो हौसला कमजोर भएको छैन, अझ बलियो भएको छ ।’

प्रधानमन्त्री मोदीले आजको घटनालाई कुनै साहित्यकारले रोमाञ्चित तरिकाले वर्णन गर्नुपर्ने बताए, ‘हाम्रो बाटोमा अन्तिम समयमा रुकावट आयो । तर हामी यस उद्देश्यबाट विचलित भएका छैनौँ । आज हामी योजनाका माध्यमबाट चन्द्रमामा नपुगे पनि कुनै कवि तथा साहित्यकारले आजको घटना लेख्न परे अवश्य लेख्नेछन् । हामीले चन्द्रमाका यति रोमान्टिक वर्णन गरेका छौँ कि त्यो चन्द्रयानको स्वभावमा पनि देखिएको छ ।

 त्यसैले अन्तिम चरणमा चन्द्रयान चन्द्रमासँग अंकमाल गर्न लाग्यो । आज चन्द्रमालाई छुने हाम्रो इच्छा शक्ति, संकल्प अझ बलियो भएको छ । केही घण्टादेखि पूरा देश सुतेको छैन । हामी हाम्रा वैज्ञानिकसँगै उभिएका छौँ, उभिरहनेछौँ । हामी निकै नजिक थियौँ तर आउँदा दिनमा हामीले त्यो दूरी पार गर्नेछौँ । सबै भारतीय आज गौरवान्वित महसुस गरिरहेका छन् । हामीलाई हाम्रो स्पेस प्रोग्राम र वैज्ञानिकमाथि गर्व छ ।’

भारतीय प्रधानमन्त्री मोदीले यस मिसनमा आफूहरु अवश्य सफल हुने बताउँदै हरेक असफलताले केही नयाँ कुरा सिकाउने बताए । ‘हरेक मुस्किल, संघर्ष र कठिनाइ हामीलाई केही नयाँ सिकाएर जान्छ । नयाँ प्रविधि अपनाउन प्रेरित गर्दछ । यसैबाट हाम्रो अगाडिको सफलताको यात्रा तय हुन्छ । ज्ञानको यदि सबैभन्दा ठूलो शिक्षक कोही छ भने त्यो विज्ञान हो । विज्ञानमा विफलता हुँदैन । केवल प्रयोग र प्रयास हुन्छ ।’

याे पनि पढ्नुहाेस्


अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया