चितवनमा डेंगीको पीडा: ११४० जनामा संक्रमण, मनलाग्दी परीक्षण शुल्क

 भदौ २२, २०७६ आइतबार १९:५४:३७ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - चितवनमा जिल्लामा पछिल्लाे समय डेंगीको समस्या बढ्दै गएको छ ।

अहिलेसम्म ३ हजार ११८ जना बिरामीको परिक्षण गर्दा १ हजार १४० जनामा डेंगीको संक्रमण देखिएको छ । भरतपुर महानगरपालिकामा मात्र ९ सय भन्दा बढीलाई डेंगीको सक्रमण भएको छ । 

जिल्लाको ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा डेंगुको प्रभाव धेरै देखिएको छ । अस्पतालका सवै बेडहरु बिरामीले भरिएका छन् । ज्वरोका कारण चितवनका निजी अस्पतालमा मात्रै दैनिक ६ सय बिरामी पुग्ने गरेका छन् जसमध्ये २० प्रतिशतमा डेंगी देखिने गरेको छ ।

जिल्लाका सबै अस्पतालमा ज्वरो र डेंगी संक्रमित बिरामीहरु रहेका छन् । नेपालमा सन् २००४ मा पहिलोपटक चितवनमै एक व्यक्तिमा डेंगीको संक्रमण पाइएको थियो ।

परीक्षणमा मनलाग्दी

बिरामी भएर अस्पताल पुगेका बिरामीको आफ्नै रोजाइ र अस्पतालमा चिकित्सकले पनि सिधै डेंगी परीक्षणको लागि लेखिदिने गरेका कारण समस्या देखिँदै गएको छ । बिरामी आत्तिएर छिटो परीक्षण गर्न लगाउने र चिकित्सकले पनि सिधै लेखिदिने गरेका कारण परिक्षणमा समस्या देखिँदै गएको हो । 

यस्तै समस्या देखिएपछि सरकारले यस अगाडि नै डेंगी परीक्षण जथाभावी नगर्न-नगराउन सरकारले सचेत गराइसकेको थियो । संयमित भएर उपचार गर्न भन्दै सरकारले सार्वजनिक अपिल नै गरेको थियो । 

जेठको अन्तिम हप्ता सरुवा रोग महाशाखाले विज्ञप्ति प्रकाशन गरी ३ विशेष अवस्थामा मात्र डेंगी परीक्षणका लागि सचेत गराएको थियो ।

कम्तीमा ३ दिनदेखि उच्च ज्वरो आएमा, बिरामीको रगमा सेतो रगत ४ हजार सेलभन्दा कम भएमा र प्लेटलेट १ लाखभन्दा कम भएमा डेंगी परीक्षण ठीक हुने विज्ञप्तिमा उल्लेख गरिएको थियो । तर डेंगीबाट प्रभावित जिल्ला चितवनमा ज्वरो आएर अस्पताल पुगेको दिन नै चिकित्सकले डेंगी परीक्षणका लागि लेख्ने गरेकाा छन् । बिरामीहरु डेंगीको त्रासमा रहेका कारणले पनि परीक्षण गराउन हतारिने गरेको पाइएको छ ।

सेतो रगत अभाव 

डेंगी रोगका कारण बिरामी भएकालाई सेतो रगतको आवश्यक पर्दछ । चितवनमा अहिले सेतो रगतको अभाव देखिएको छ । रक्तसंचार केन्द्र भरतपुरले दैनिक १ सय युनिट माग भएकोमा ७० युनिट मात्र उपलब्ध गराउन सकेको छ । 

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले नियमित रक्तदान नहुँदा डेगु संक्रमितलाई आवश्यक पर्ने सेतो रगत पुर्‍याउन कठिन भइरहेको बताउनुभयो । डेंगी लागेको अनुमानकै भरमा उपचार गर्ने क्रम बढेका कारण सेतो रगको अभाव हुन थालेको हो ।

डेंगी लागेको आशंकामा धमाधम रगत चढाउने क्रम बढेकाले रगतको अभाव भएको देखिन्छ । सेतो रगत स्वस्थ व्यक्तिमा ४ हजार देखि १० हजारसम्म र प्लेटलेट १ लाख ५० हजार देखि ४ लाख सम्म हुन्छ । 

बिरामीलाई बेडको अभाव

रगतको अभावसँगै बिरामीलाई अस्पतालमा बेडको पनि अभाव भएकाे छ । केन्द्रीय अस्पताल भरतपुरमा भाइरलको बिरामीको संख्या उच्च छ । अस्पतालका सबै बेडहरु बिरामीले भरिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेण्ट डा. श्रीराम तिवारीले बताउनुभयो । अस्पतालमा बेडको अभावमा एउटै बेडमा दुई जना बिरामी राखेर उपचार गराउनुपर्ने अवस्था समेत देखिएको छ ।

भाइरलले सताइरहेको अवस्थामा निजी अस्पतालहरुले बिरामीको स्वास्थ्यलाई मध्यनगर गरी झुलको व्यवस्था गरेका छन् । तर,सरकारी अस्पतालमा भने झुलको व्यवस्था छैन । 

शुल्क प्रति प्रशासनको निगरानी 

चितवनका अस्पतालले डेंगी रोग परीक्षणमा अस्पतालपिच्छे फरक शुल्क लिएपछि प्रशासनले निगरानी बढाएको छ । कम्तीमा एक हजारदेखि बढीमा २ हजार ६ सयसम्म रकम लिएको पत्ता लागेपछि चितवन प्रशासनले लागतमा दस प्रतिशतमात्रै बढाएर शुल्क लिनुपर्ने भन्दै निजी अस्पतालहरुलाई सचेत गराइसकेको छ ।

भाइरल ज्वरो र डेंगीको उच्च संक्रमणको समयमा जिल्लाका निजी अस्पतालहरुले डेंगी परीक्षण शुल्कमा एकरुपता ल्याइएको बताएका छन् । जुनसुकै निजी अस्पतालले पनि अब डेंगीको जाँच (एनएस, आइजीजी र आइजीएम) गर्दा १५ सय रूपैयाँभन्दा बढी नलिने सहमति भएको छ ।

जाँचको प्रकार र विधि एउटै तर शुल्क भने घटबढ भएको गुनासो बढेपछि प्रशासनले सचेत गराएको हो । 

विगतमा पनि थियो समस्या 

नेपालमा सन् २००४ मा पहिलो पटक चितवनमै एक व्यक्तिमा डेंगीको संक्रमण पाइएको थियो । जिल्ला स्वास्थ्य कार्यालयले दिएको तथ्यांक अनुसार आर्थिक वर्ष २०६७-०६८ मा तीन हजार २९८ जनाको डेंगी परीक्षण गरिएकोमा ७३९ जनामा संक्रमण देखिएको थियो । त्यस आर्थिक वर्षमा पाँच जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । 

आर्थिक वर्ष २०७०-०७१ मा दुई हजार २६१ जनाको परीक्षण गरिएकोमा ३७१ जनामा डेंगीको संक्रमण देखिएको थियो । आर्थिक वर्ष २०७३-०७४ मा दुई हजार ५६२ जनामा परीक्षण गर्दा ६८७ जनामा डेंगी फेला परेकोमा एक जनाको मृत्यु भएको थियो ।

आर्थिक वर्ष २०७४-०७५ मा १ हजार २ सय ९१ जनामा परीक्षण गर्दा ५९  जनामा डेंगी फेला परेकोमा एक जनाको मृत्यु भएको थियो । 

अन्तिम अपडेट: चैत २८, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया