संरक्षणकाे अभावमा सदरमुकाम नजिकैकाे झरना बेवारिसे बन्दै

 भदौ २४, २०७६ मंगलबार ७:३६:९ | डीबी बिष्ट
unn.prixa.net

तस्बिर : जगत खड्का

बझाङ – हेर्दा आकर्षक र लोभ लाग्ने बारील झरना उचित प्रचारप्रसार र संरक्षणको अभावका कारण बेवारिसे जस्तै बनेको छ । 

जयपृथ्वी नगरपालिका–९ बारीलमा पर्ने बारील झरना सदरमुकाम चैनपुर नजिकै रहेको भए पनि स्थानीय सरकारले कुनै पनि वास्ता नगरेका कारण बेवारिसे जस्तै बनेको हो । 

आफ्नो पँहुच नभएका कारण झरना ओझेलमा परेको स्थानीय पुरन गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफैँले लगानी गर्न सकिँदैन । स्थानीय सरकारदेखि केन्द्र र प्रदेश सरकारले यसमा कुनै चासो नै देखाएन । अन्य ठाउँमा यो झरना भएको भए अहिले सम्म आन्तरिक तथा बाह्य पर्यटक को घुईचो लाग्नुका साथै स्थानीयले रोजगारीसमेत पाउँथे ।’ 

झरना अवलोकन गर्न आउने आन्तरिक पर्यटकलाई मात्र व्यवस्थित गर्न स्थानीय सरकारले चासो दिने हो भने धेरै राम्रो हुने गिरी बताउनु हुन्छ । ‘हाम्रो लागि त यो झरना बोझ जस्तै बन्दै गएको छ । धेरै मान्छेहरु आउँछन्, सोधपुछ गर्छन् तर झरना जाने बाटो देखाउने साइन बोर्ड पनि छैन’, उहाँले भन्नुभयो ।  

माथिल्लो गाउँ बारीलका केही स्थानीय बासिन्दाले मरेका पशु, चौपाया झरनामा फ्याँक्ने र पछिल्लो समय झरना दुर्गन्धित बन्दै गएको स्थानीयले गुनासो गरेका छन् । झरना हेर्न जाने धेरैले झरना कुरुप बन्दै गएको बताउने गरेका छन् । 
 
‘सानो छँदा गोठालो गएर बारील झरना नजिक बसेर झरना को सुसेरासँगै विभिन्न भाकामा गीत गाउँदा निकै आनन्द आउँथ्यो’, जयपृथ्वी नगरपालिका–१० खेईराका जयलाल कुँवरले भन्नुभयो । पहिले झरना सफा देखिए पनि अहिले झरना वरपर रहेका रुख काटिँदा उजाड देखिएको उहाँले बताउनु भयो । 

संरक्षणको माग राख्दै, पर्यटकीस्थलको रुपमा घोषणा गरिनुपर्छ भनेर नगरपालिकालाई पटक पटक आग्रह गरे पनि कसैले कुरा नसुनेको गाँउलेहरुको गुनासो छ । 

वडा नम्बर ९ का वडाध्यक्ष नवराज कोइरालाले भने झरनाको संरक्षण गर्न बिरुवा रोपेर सामुदायिक वनमा लैजाने नीति बनाएको बताउनु भयो । झरनाको संरक्षणका लागि नगर परिषद्मा बजेटको व्यवस्था गरियोस् भन्दै प्रस्ताव राखेपनि चासो नदिइएको उहाँको दावी छ ।

सदरमुकाम चैनपुर देखि १५ मिनेटको दुरीमा रहेको बारील झरना संरक्षणका लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको समेत ध्यान जान आवश्यक रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया