चीन र भारत सम्बन्धमा नेपाली नेताको उत्ताउलो कुटनीति

 भदौ २५, २०७६ बुधबार १८:५२:२७ | सम्पादकीय
unn.prixa.net

साढे दुई हप्ताको फरकमा दुई छिमेकी देशका विदेश मन्त्री नेपाल आए, उच्चस्तरीय भेटघाट गरे र फर्किए ।

फर्किँदा दुवै विदेश मन्त्रीले नेपाललाई केही सहयोग गर्ने वचन दिए । तर भारतीय विदेश मन्त्रीको भेट र सहयोगलाई खासै वास्ता गरिएन । चिनियाँ विदेश मन्त्रीको भेट र सहयोग भने महत्व र चर्चाको विषय बनेको छ ।

आइतबार चीनका विदेश मन्त्री वाङ यी आउनुअघि ४ गते भारतका विदेश मन्त्री एस जयशंकर काठमाण्डौ आउनुभएको थियो । तर भारतका विदेश मन्त्रीसँग भन्दा चिनियाँ विदेश मन्त्रीसँग नेपालको आशा बढी देखियो र प्रधानमन्त्रीदेखि नेताहरुले पनि चिनियाँ विदेश मन्त्रीलाई नै बढी महत्व दिए । तर आश गरे र महत्व दिएअनुसार चिनियाँ विदेश मन्त्रीले सहयोग गरेनन् भनेर यतिबेला सर्वसाधारण मात्रै होइनन्, नेताहरु पनि खिस्रिक्क परेका छन् ।

यो पटक चिनियाँ विदेश मन्त्रीको सद्भाव भ्रमण थियो, तर हाम्रा नेताहरुले यसलाई धेरै बढाइचढाइ गरी नागरिकका मनमा अस्वाभाविक आश जगाए ।

चिनियाँ विदेश मन्त्री वाङ यी आइतबार काठमाण्डौ ओर्लन नभ्याउँदै धेरैलाई लागेको थियो, उनले ठूलै कोसेली पोको बोकेर आएका छन् । सरकारी तहकै विशिष्ट व्यक्तिहरुले समेत केही योजनामा सहमति हुने विश्वास लिएका थिए । तर चिनियाँ विदेश मन्त्रीको भ्रमण धेरैले आशा गरेअनुसार भएन । आएको बेला केही दिएर फर्कौं न त भन्ने शैलीमा हात्तीको मुखमा जिरा छरेझैं गरी चिनियाँ विदेशमन्त्री फर्किए ।

आपतकालीन अवस्थाको तयारीस्वरुप पाँच हजार थान टेण्ट दिने, नेपालमा चिनियाँ भाषा पढाउन स्वयंसेवक शिक्षक पठाउने र मनाङमा ३५ करोड रुपैयाँमा अस्पताल बनाइदिने चीनको वचन घरमा आएका पाहुनाले केटाकेटीलाई चकलेट दिएजस्तो मात्रै भएको छ ।

यो भ्रमणमा केरुङ–रसुवागढी–काठमाण्डौ रेल्वे परियोजना, बीआरआई र बीआरआईअन्तर्गत छनोट भएका नौ परियोजनाको लगानीको स्वरुप तथा कार्यादेश टुंगिने अपेक्षा थियो । कम्तीमा पनि नेपालका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले भ्रमण पूर्वर भ्रमणताका गरेका भाषण सुन्दा नागरिकले यति सहमति वा सम्झौता त पक्कै होला भन्ने निष्कर्ष निकालेका थिए । तर यी योजनाका विस्तृत स्वरुप, ढाँचा र मोडालिटीबारे कुनै कार्ययोजना तयार भएकै थिएन ।

नेपाली नेताको यो केटौलो ठट्टाको मूल्य भविष्यमा नेपाली नागरिकले कसरी चुक्ता गर्नुपर्ने हो भन्ने कुरा त भविष्यले नै देखाउनेछ ।

यो चिनियाँ विदेश मन्त्रीको सद्भाव भ्रमण थियो, तर हाम्रा नेताहरुले यसलाई धेरै बढाइचढाइ गरी नागरिकका मनमा अस्वाभाविक आश जगाए । नेपालीले आश गरेअनुसार सहयोग र सम्झौतामा हस्ताक्षर गर्नु भएन । योजना र तयारी नै नभएको कुरा भएन भनेर नेपाली खिस्रिक्क मात्र परे । चिनियाँ विदेश मन्त्रीले उहाँका राष्ट्रपतिले नेपाल भ्रमण गर्नसक्ने झिनो संकेतसम्म दिनुभयो ।

एक त यो भ्रमणमा नेपालको आशा र अपेक्षा बढी भयो । अर्को कुरा प्रधानमन्त्री र शीर्ष नेताहरुले भारतीय विदेशमन्त्रीलाई भन्दा चिनियाँ विदेशमन्त्रीलाई बढी महत्व दिए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र  भारतीय विदेश मन्त्री एस जयशंकरसँगको भेटको तस्बिर सामान्य थियो । कोठामा भेट्दा एकछिन अनौपचारिक भलाकुसारी गरेजस्तो देखिन्थ्यो । तर चिनियाँ विदेश मन्त्रीसँग भेट हुँदाको तस्बिर भने फरक थियो । दुवै देशको झण्डासहित प्रधानमन्त्री ओली र विदेश मन्त्री वाङ आमनेसामने बस्ने व्यवस्था गरिएको थियो ।

तर भारतीय विदेश मन्त्री जयशंकरलाई भेट्दा भने यस्तो विषयमा ख्याल गरिएको थिएन । न त दुवै देशको झण्डा राखिएको थियो न त आमने सामने बस्ने व्यवस्था नै मिलाइएको थियो । दुई देशका उत्तिकै महत्व राख्ने पाहुनासँग भेट हुँदा गरिएको फरक व्यवहारले कुटनीतिक मामिलामा नेपाल भारत र चीनबीच कच्चा खेल खेलिरहेको छ भन्ने कुरा मात्र बुझिनेछ ।

चिनियाँ राष्ट्रपतिको भ्रमण भयो र त्यो भ्रमणमा यसबारे ठोस प्रगति भयो भने केही आशा बढाउन सक्छ ।

यस्तै भारतीय विदेश मन्त्री नेपाल आउँदा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का वरिष्ठ नेता माधवकुमार नेपालले मर्यादाक्रमको खोचे थापेर भेट गर्नुभएन । प्रोटोकलअनुसार कुनै देशको विदेश मन्त्रीलाई भेट्न नमिल्ने भन्दै दुवै नेताले भेट अस्वीकार गरेका थिए । तर चिनियाँ विदेश मन्त्रीसँग भने प्रचण्डले होटलमै भेटवार्ता गर्नुभयो ।

दुई छिमेकी देशका विदेश मन्त्री नेपाल आउँदा सरकार र शीर्ष नेताहरुबाटै गरिएको दुई खाले व्यवहारले नेपाल चीन र भारतसित असमान र अलग टाइपको सम्बन्धमा छ भन्ने कुरा अन्तर्राष्ट्रिय समुदायले स्पष्टै बुझेको छ । नेपाली नेताको यो केटौलो ठट्टाको मूल्य भविष्यमा नेपाली नागरिकले कसरी चुक्ता गर्नुपर्ने हो भन्ने कुरा त भविष्यले नै देखाउनेछ ।

खासगरी २०७२ सालको भारतीय नाकाबन्दी र भारतसितको एकल आर्थिक परनिर्भरताका कारण भोग्नुपरेको कठिनाइका कारण पछिल्ला दिनहरुमा चीनसित नेपालको आकांक्षा बढेको छ । यसलाई सम्बोधन गर्ने क्रममा केही राम्रा काम भएका पनि छन् । तर प्रगति हुन सकेको छैन । सीमा नाका व्यवस्थित, स्तरोन्नति, सडक सञ्जाल विस्तार तथा रेलको विषयमा चीनसँग ठोस वार्ता र निष्कर्ष निकाल्न बाँकी छ । चिनियाँ राष्ट्रपतिको भ्रमण भयो र त्यो भ्रमणमा यसबारे ठोस प्रगति भयो भने केही आशा बढाउन सक्छ ।

तर तत्काल नेपालले दुवै छिमेकीसँग समदूरी राख्न र अर्थतन्त्रबाट लाभ लिन सक्नुपर्छ । यहाँका योजनामा भारतसँगै चीनको पनि प्राथमिकतामा पार्न सक्नुपर्छ । भएका योजना र सहमतिलाई कार्यान्वयनको लागि कुटनीतिक क्षमता प्रदर्शन गर्न सक्नुपर्छ । यसका लागि नेपाल परिपक्व छ भन्ने देखाउन राज्य सञ्चालकहरुले सबैभन्दा पहिले आफ्नो उत्ताउलो र केटौलो व्यवहार त्याग्नै पर्छ । 

अन्तिम अपडेट: असोज २६, २०७६

तपाईको प्रतिक्रिया