धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद
बैशाख ६, २०८१ बिहिबार
अमेरिकाको ट्विन टावरमा आतंककारी आक्रमण भएको बुधबार १८ वर्ष पूरा भएको छ । आक्रमणमा ज्यान गुमाएका व्यक्तिको सम्झनामा अमेरिकामा विभिन्न कार्यक्रम गरिँदैछ ।
ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा स्मृतिसभाको आयोजना हुँदैछ । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको ट्विन टावरमा आतंककारी आक्रमण भएको थियो ।
त्यसपछि अमेरिकाको नेतृत्वमा विश्वका विभिन्न देशमा आतंकवाद विरोधी सैन्य कारबाही सुरु भयो । विश्व राजनीतिमा ९–११ को रुपमा चर्चित भएको घटनाको प्रभाव निकै रह्यो । अहिले पनि यो घटनाका धेरै कुरामा विश्वका धेरैको चासो छ ।
के भएको थियो ?
११ जना अपहरणकारीले इन्धन भरिएका चारवटा अमेरिकी व्यावसायिक जहाज अपहरण गरेर न्यूयोर्कमा रहेको वर्ल्ड ट्रेड सेन्टरका जुम्ल्याहा भवन, वासिङ्टनमा रहेको पेन्टागन भवन र पेन्सिलभेनियामा रहेको स्यांक्सभिलेमा ठोक्काएका थिए ।
आक्रमणमा कुल दुई हजार ९ सय ९६ जनाको ज्यान गएको थियो । ६ हजार भन्दा धेरै घाइते भएका थिए ।
आक्रमणको जिम्मा आतंककारी संगठन अल कायदाले लिएको थियो । अमेरिकाविरुद्ध धर्म युद्धको घोषणा गरेका अल कायदाका नेता ओसामा बिन लादेन आक्रमणकारीका मुख्य योजनाकार थिए । चारवटा जहाज अपहरणमा संलग्न गराइएको थियो । १९ जना आक्रमणकारी मध्ये १५ जना साउदी अरेबियाका थिए भने बाँकी यूएई, इजिप्ट र लेबनानका नागरिक थिए ।
सातवटा भवन रहेको कम्प्लेक्स थियो, वर्ल्ड ट्रेड सेन्टर । लोवर म्यानहटनमा रहेको कम्प्लेक्समा व्यावसायिक संस्थाका कार्यालय थिए । सन् १९७० को दशकमा बनाइएको कम्प्लेक्समा १३ सय फिट अग्ला जुम्ल्याहा भवन थिए ।
सन् १९९३ मा पनि वल्र्ड ट्रेड सेन्टर कम्प्लेसको अण्डरग्राउण्ड पार्किङमा आतंककारी आक्रमण भएको थियो । बम भरिएको ट्रक विस्फोट हुँदा ६ जनाको ज्यान गएको थियो भने एकहजार भन्दा धेरै घाइते भएका थिए । त्यो आक्रमणको जिम्मा इस्लामिक आक्रमणकारीले लिएका थिए ।
यो आक्रमणअघि नै कुनै ठूलो आक्रमण हुँदैछ भन्ने संकेत गर्ने केही घटना भएका थिए । सन् १९९३ मा सेन्टरमै तथा १९९८ मा केन्या र तान्जानियामा रहेको अमेरिकी दूतावासमा बम आक्रमण भएको थियो ।
सीआईएले ९–११ मा संलग्न केहीलाई पहिलेदेखि नै निगरानीमा राखेको थियो । तर आवश्यक कदम नचाल्दा घटना भएको बताइएको थियो ।