मिर्गौला प्रत्यारोपणबारे जान्नैपर्ने केही कुरा

 भदौ २६, २०७६ बिहिबार १३:५:२६ | विना न्याैपाने
unn.prixa.net

शरीरमा दुई ओटा मिर्गौला हुन्छ । एउटा मिर्गौलाले काम नगर्दा अर्कोले मात्रै पनि काम गर्छ ।  तर मिर्गौला खराब भएको कुरा त्यतिबेला मात्र थाहा हुन्छ, जब दुवै मिर्गौलामा समस्या देखिन्छ । यसै विषयमा विना न्यौपानेले त्रिवि शिक्षण अस्पतालका युरोलोजिष्ट डाक्टर सुमन चापागाईँसँग कुराकानी गर्नु भएको छ । 

मिर्गौला प्रत्यारोपणलाई कसरी बुझ्ने ?

एउटा मानिसको शरीरबाट निकालेर अर्काे मानिसको शरीरमा स्वस्थ मिर्गौला राख्ने प्रक्रिया नै मिर्गौला प्रत्यारोपण हो । जसको आफ्नो मिर्गौलाले काम गर्दैन, त्यस्तो अवस्थामा स्वस्थ मानिसको मिर्गौला प्रत्यारोपण गरिन्छ । 

कस्तो व्यक्तिको मिर्गौला कस्तो व्यक्तिमा राख्न मिल्छ ? 

टिस्यु क्रस–म्याच अध्ययन गरी सकेपछि राख्ने नशा कस्तो छ ? झिक्ने मिर्गौला कस्तो छ ? मृगौला झिक्ने मान्छेको जीवनमा पछि केही असर पर्छ कि पर्दैन ? भन्ने कुराको पनि ख्याल राख्नुपर्छ । यो सबै कुरा ध्यानमा राखेर डोनर (दाता) छनोटको विधि हुन्छ । यो अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुन्छ । त्यसको आधारमा स्वस्थ्य मानिसको मिर्गौला झिकेर राख्छौँ ।  

यो विधि भनेको कस्तो हो ? 

यसमा उमेरको क्राइटेरिया (सीमा) हुन्छ । उसको मिर्गौला स्वस्थ छ कि छैन या कुनै रोगबाट संक्रमित छ कि छैन ? भनेर हेर्नुपर्ने हुन्छ  । त्यसपछि जो स्वस्थ छ, जसले मृगौला दिँदा पनि स्वस्थ भएर बाँच्न सक्छ, उसको शरीरमा कुनै असर पर्दैन भने त्यस्तो व्यक्ति छान्ने प्रकृया नै डोनर स्लेक्सन क्राइटेरिया (दाता छनोट सीमा) हो । 

मिर्गौला प्रत्यारोपण गरिसकेपछि पहिलेजस्तै काम गर्छ  ? 

अरुको चिज आफ्नो शरीरमा राख्यो भने शरीरले सहँदैन । त्यसको लागि हामीले अनेकथरी औषधि चलाउँछौँ । अहिले एकदमै राम्रो खालका औषधि आएको हुँदा सजिलो भएको छ । यो जुन मान्छेमा राखिन्छ, त्यही मान्छे अनुसार हुन्छ । कसैकसैकोमा धेरै समयसम्म पनि रहन्छ भने कसैकोमा तुरुन्तै काम नगर्ने हुन सक्छ । तर औषधिले गर्दा धेरै हदसम्म सफलतापूर्वक गर्न सफल भएका छौँ  ।

मिर्गौला लिने मान्छे र दिने मान्छेले के के कुरामा ध्यान दिनुपर्छ  ? 

यसमा सबैभन्दा पहिला हेर्ने भनेको दिने मान्छेको हो । उहाँको दुई ओटा मिर्गौला हुन्थ्यो, त्योबाट एउटा जाँदैछ र अब एउटाले बाँच्नु पर्ने हुन्छ । त्यसको लागि उहाँले धेरै सतर्कता अपनाउनुपर्ने हुन्छ । कुनै एउटा मिर्गौला ढुङ्गाले बिग्रिन्थ्यो भने अब एउटालाई जोगाउनु सबैभन्दा ठूलो कुरा हो । त्यसैले बेलाबेलामा जाँच गर्नुपर्ने हुन्छ । त्यसबाहेक पे्रसरको रोग, सुगरको रोगले असर गर्‍यो भने दुई ओटालाई त फेल गर्न सक्ने हुन्छ भने एउटालाई झन् चाँडै फेल गर्न सक्छ ।   

प्रत्यारोपण गर्दा पनि कहाँ गर्ने र कहाँ नगर्ने भन्ने हुन्छ कि ?

नेपाल सरकारले केही संस्थालाई लाइसेन्स दिएको हुन्छ । त्यसमा धेरै आधारहरु हुन्छन् । एक जनाले गर्छु भनेर हुँदैन । नफ्रोलोजिको गु्रप, सर्जरीको ग्रुप, एनेसथेसियाको गुप्र सबै चाहिन्छ  । अप्रेसन गरेपछि बिहान, बेलुका जुनबेला पनि हेर्न सक्ने डाक्टर चाहियो । त्यस्तै रेडियोलोजी चाहिन्छ । जसले गर्दा मिर्गौला ठिक छ छैन, नशा कस्तो छ ? रगत राम्रोसँग सञ्चालन भएको छ कि छैन ? भनेर जाँच गरिरहनु पर्छ । त्यसैले यो सबै टिम भएको ठाउँ रामो मानिन्छ । 

नेपालका कति ओटा अस्पतालमा मिर्गाैला प्रत्यारोपण सम्भव छ ? 

अहिले ६, ७ ठाउँमा अनुमति दिइएको छ । सबैभन्दा पहिला त्रिवि शिक्षण अस्पतालमा ११ वर्र्ष पहिला सुरु भएको हो । अहिलेसम्म हामीले ६ सय मिर्गौला प्रत्यारोपण गरिसकेका छौँ । वीर अस्पताल तथा मानव अंग प्रत्यारोपण केन्द्र र अहिले निजी अस्पतालले पनि सुरु गरेका  छन् ।  

प्रत्यारोपण सबैको पहुँचमा छैन होला, कति लाग्छ उपचार खर्च ? 

नेपाल सरकारले निःशुल्क गर्ने भनेर कुरा ल्याएको छ । यो राम्रो कुरा हो । तर जति पनि मिर्गौला रोगी छन्, उनीहरुका लागि यतिले मात्र पुग्दैन । दक्ष जनशक्ति उत्पादन गर्ने राम्रो अस्पताल र टिमको उपलब्धता हुनुपर्छ ।  

प्रत्यारोपणमा जोखिम पनि त हुन्छ होला नि ? 

दिने मान्छेलाई सबैभन्दा सुरक्षित हुनेगरी नियम बनाउँछौ । जसले गर्दा पछि दातालाई समस्या नआओस् । उहाँहरुको स्वास्थ्य सबैभन्दा प्राथमिकतामा पर्दछ । त्यसैले जोखिम अवश्य नै छ, धेरै कुरामा ध्यान पुर्‍याइएको हुन्छ ।   

प्रत्यारोपणको गम्भीर समस्या भनेको कतिपय अवस्थामा दान गरिएको मृगौलालाई रोगीको शरीरले स्वीकार नगर्न सक्छ । तर यस्तो सम्भावना एकदमै कम हुन्छ ।

तत्काल समस्या नदेखिए पनि पछि समस्या हुन्छ कि हुँदैन ? 

एकदम हुन्छ । कहिलेकाहीँ त्यहाँभित्र पानी जम्न सक्छ । पिसाब नली साँघुरोे भएर त्यसको लागि धेरै अप्रेसन गर्नुपर्ने हुन्छ ।

ट्रान्सप्लान्ट सर्जरी गर्न युरोलोजिष्ट नै चाहिने भएकाले पिसाब नली थैलीमा जोड्ने काम आफैँ गर्नुपर्छ । 

बिस्तारै मिर्गौलाले काम नगर्ने हुनसक्छ ।  

सबैभन्दा महत्वपूर्ण कुरा भनेको जसलाई हामी मिर्गौला प्रत्यारोपण गर्छाैं, त्यो मान्छेले नियमित औषधि खाने र नियमित जाँच गर्नुपर्ने हुन्छ । त्यो छुट्यो भने सिस्टम फेल हुन सक्छ । त्यसैले ३ महिना, ६ महिनामा जाँच गर्नुपर्छ । 

मिर्गौला प्रत्यारोपण सुरु भएको १० वर्ष भैसक्यो । पहिलाको भन्दा के के परिवर्तन भएको छ ? 

धेरै परिवर्तन भएको छ । पहिला एउटा नशा भएको मृगौला प्रत्यारोपण गर्थ्याैँ भने अहिले दुई/तीन ओटा नशा भए पनि हामी अगाडि बढेका छौँ र सक्छौँ पनि ।

विशेष खालका सामग्रीहरु, साना लुपहरुको प्रयोग गरेर साना–साना धागोले पनि मसिना नशाहरुलाई सिलाएर गर्ने प्राविधिक उपकरणको उपयोग गर्न पाएका छौँ ।  ग्रुप नमिलेको पनि हामीले मिलाएर गर्न सकेका छौँ । अहिले जस्तोसुकै जटिल प्रकृतिका मिर्गौला प्रत्यारोपण पनि गर्न सक्ने क्षमता बढ्दै गएको  छ । 

जति पनि मिर्गौला प्रत्यारोपण गरेकाहरु हुनुहुन्छ, उहाँहरुले के के कुरामा ध्यान दिनुपर्छ ? 

– नियमित औषधि खाने
– आफू अनुशासनमा बस्ने  
– डाक्टरकोमा नियमित जाने
– सानो समस्यालाई सिरियस भएर हेर्ने  
– यो संवेदनशील चिज हो, यसलाई जोगाउनु पर्छ भनेर सोच्नु पनि पर्‍याे । 

अन्तिम अपडेट: असोज २८, २०७६

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया