नवलपरासी पूर्वमा ७१ जनामा डेंगीको संक्रमण

 भदौ २६, २०७६ बिहिबार १५:१०:१५ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी पूर्व – नवलपरासी पूर्वमा ७१ जनामा डेंगीको संक्रमण देखिएको छ । राजमार्गसँग जोडिएका बजार क्षेत्रका ७१ जनामा डेंगीको संक्रमण देखिएको स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका प्रमुख ख्याम केसीले जानकारी दिनुभयो ।

प्रमुख केसीका अनुसार सबैभन्दा धेरै डेंगीको संक्रमण गैंडाकोट नगरपालिकामा देखिएको छ । गैंडाकोट नगरपालिकामा मात्र ५२ जनामा डेंगीको संक्रमण देखिएको उहाँले बताउनुभयो ।

भदौ २५ गतेसम्मको प्राप्त तथ्याङ्कअनुसार गैंडाकोटमा ५२ जना, देवचुली नगरपालिकामा १० जना, कावासोती नगरपालिकामा ८ जना र मध्यबिन्दु नगरपालिकामा एक जनामा डेंगीको संक्रमण देखिएको छ । जिल्लाको पहाडी क्षेत्रका स्थानीय तहहरुमा भने अझैसम्म कसैमा डेंगी भएको भन्ने जानकारी प्राप्त नभएको प्रमुख केसीले जानकारी दिनुभयो ।

डेंगीको संक्रमण बढ्दै गएप्छि परीक्षणका लागि जिल्लामा किटको अभाव भएको स्वास्थ्य कार्यालय प्रमुख केसीले बताउनुभयो । गण्डकी प्रदेश सरकारले थोरै किट पठाएकाले जिल्लामा अहिले किटको अभाव भएको उहाँले गुनासा गर्नुभयो । प्राप्त किटहरु सकिएको र स्थानीय तहहरुले किट खरिद नगरेका कारण स्वास्थ्य संस्थामा किटको अभाव भएको छ ।

नवलपरासी पूर्वका डेंगी संक्रमितहरुको मध्यबिन्दु जिल्ला अस्पतालसहित स्थानीय अस्पताल र चितवनमा उपचार भैरहेको प्रमुख केसीले बताउनुभयो ।

डेंगीको संक्रमण बढेपछि यहाँका पालिकाहरुले लामखुट्टेको बास स्थान खोज र नष्ट गर अभियानलाई तीव्रता दिएका छन् । गैंडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका, मध्यबिन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाले बजार क्षेत्र लक्षित गरी विभिन्न सामुदायिक संघसंस्थाको सहकार्यमा अभियान सञ्चालन गरिरहेका छन् । 

डेंगीको संक्रमण बढदै गएपछि बजार क्षेत्रलाई केन्द्रित गरी सचेतनामूलक कार्यक्रमहरु गरेको कावासोती नगरपालिका–२ का वडाध्यक्ष लक्ष्मीप्रसाद पौडेलले बताउनुभयो ।

एक्लैको प्रयासले नियन्त्रणमा समस्या आउने भएपछि विभिन्न संघसंस्थाको सहकार्यमा लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियानसहित सचेतनामूलक कार्यक्रम गरिरहेको अध्यक्ष पौडेलले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १२, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया