बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा दिउँसोपछि ह...
बैशाख ८, २०८१ शनिबार
लमजुङ – नेपाली मौलिकता झल्किने र लमजुङे संस्कृतिसँगै जोडिएको प्रचलित भाका हो, ठाडो भाका ।
त्यही भाकासँग गाँसिएको चर्चित नाम हो ‘भेडीखर्के साइँला’ । ठाडो भाका लमजुङसहित गोर्खा, तनहुँ, कास्कीमा गुन्जने लोपान्मुख भाका पनि हो । त्यसो त ठाडो भाकाका पिता वांग्रे हाँडीखोलाका देउबहादुर दुरा र कास्कीका पञ्चेसुब्बा गुरुङलाई नै मानिन्छ ।
त्यसलाई यो समयसम्म पनि टिकाइराख्ने श्रेय स्व. भेँडीखर्के साइँलालाई नै जान्छ । माया, पिरती, दुःख–सुख, गाउँले जनजीवनका भाव समेटेर साढे ७ दशकसम्म ठाडो भाकाको संरक्षणमा लाग्नुभएका साइँला अहिले हामीमाझ हुनुहुन्न ।
विक्रम संवत १९९० भदौ २९ गते बुवा बलभद्र अधिकारी र आमा नन्दकुमारी अधिकारीको कोखबाट साविक सिन्दूरे गाविस–६, दुराडाँडा लमजुङमा जन्मिनुभएका साइँलाको २०७४ साल भदौ २६ गते ८४ वर्षको उमेरमा निधन भएको हो ।
दोश्रो स्मृति दिवस मनाइयो
बिहीबार साइँलाको दोश्रो स्मृति दिवस मनाइएको छ । भेँडीखर्के साइँला समृति प्रतिष्ठान लमजुङको पहल तथा विभिन्न सहयोगी व्यक्ति तथा संघसंस्थाको सहयोगमा सुन्दरबजारको लक्ष्मीनारायण मन्दिर परिसरमा बनाइएको साइँलाको शालिक र उहाँको तस्बिरमा माल्यार्पणमा गरी स्व. साइँलाको दोश्रो स्मृति दिवस मनाइएको भेँडीखर्के साइँला स्मृति प्रतिष्ठान लमजुङका सचिव एवम् विद्याजयोति माविका प्रअ सूर्यबहादुर केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्र, उपमेयर ज्ञानु शाह, भेँडीखर्के साइँला स्मृति प्रतिष्ठान लमजुङका अध्यक्ष शम्शेरबहादुर लौडारी लगायतले साइँलाको शालिक, तस्बिरमा माल्र्यापण गरेका थिए ।
मौलिक लोक गीत–संगीतमा स्व. साइँलाले पुर्याएको योगदान अतुलनीय रहेको सुन्दरबजार मेयर मिश्रले बताउनुभयो ।
ठाडोभाका जोगाउनु आवश्यक
ठाडो भाका विशेष गरी दुरा/गुरुङ जातिको संस्कृति हो । जानकारहरुका अनुसार दुरा जातिको उद्गमस्थल लमजुङलाई नै मानिन्छ ।
आफ्नो सिंगो जीवन नै ठाडो भाकाको संरक्षणमा बिताए पनि राज्यले भेँडीखर्के साइँलाको योगदानलाई राज्यले चिन्न नसकेकोमा स्व. साइँलाका ज्वाइँ एवम् भेँडीखर्के साइँला स्मृति प्रतिष्ठान लमजुङका अध्यक्ष शम्शेरबहादुर लौडारी दुःखेसो गर्नुहुन्छ । ‘जनताले चिने । तर आजीवन मौलिक ठाडोभाका संरक्षणमा लाग्नुभएका भेँडीखर्के साइँलालाई राज्यले चिन्न सकेन’, उहाँले दुःखेसो गर्नुभयो ।
मौलिक ठाडोभाका संरक्षणमा पुरै जीवन अर्पण गर्नुभएका साइँलाको राज्यले यथेष्ठ सम्मान गर्न नसकेको गुनासो गर्नुहुन्छ, ठाडोभाका गायनमा अघि बढिरहनुभएकी लोक दोहोरी गायिका मञ्जु विक ।
‘ठाडोभाका संरक्षणमा उहाँको योगदान अतुलनीय छ,’ उहाँले गुनासो गर्नुभयो, ‘उहाँको जीवनकालमा पनि राज्यले खासै सहयोग र सम्मान गर्यो जस्तो लाग्दैन ।’
ठाडोभाका संरक्षणमा सबै जुट्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।
ठाडोभाका शिरोमणि साइँलाको निधनसँगै पछिल्लो समय लमजुङे ठाडोभाका हराउँदै जान थालेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङका अध्यक्ष अनुज अधिकारी बताउनुहुन्छ ।
‘मौलिक ठाडो भाका हराउँदै जान थालेको छ’, उहाँले भन्नुभयो, ‘पछिल्लो समय कतिपयले मौलिक ठाडोभाकाको मौलिकतालाई भुलेर नै यो भाका गाउने गरेका छन् ।’
मौलिक ठाडोभाका संरक्षणमा आफूहरु लागिरहने बताउँदै अधिकारीले प्रख्यात लोक दोहोरी गायक राजु परियारका साथै गायिका मञ्जु विक, राधा भण्डारी, रमेश परियार, उत्तम गुरुङ, धम्पु दुरालगायतका गायक–गायिका ठाडोभाका संरक्षणमा जुटिरहेको उल्लेख गर्नुभयो ।
आफ्नो पूरा जीवन नै ठाडोभाकाको संरक्षणमा बिताउनुभएका ठाडो भाका शिरोमणि भेँडीखर्के साइँला हामीमाझ नभए पनि उहाँका कृति सदा अमर, अजर रहने छन् ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।
Binod bk
Sept. 12, 2019, 8:15 p.m.दोश्रो स्मृति दिवसको दिनमा भेडीखर्क साहिंलालाई हार्दिक श्रद्दान्जली दिन चाहन्छु / उहाँको निधनले सिंगो देश र संस्कृति अनि ठाडो भाका प्रेमीलाई अपुरणीय क्षती व्यहोर्नुपरेको छ / आशा छ, सबै एकजुट भएर कला संस्कृति, ठाडो भाका जोगाउनु र जगेर्ना गर्न संधै तत्पर रहनुहुनेछ / म पनि ठाडो भाकाको असाध्य प्रेमी हुँ, ठाडो भाकाको बारे पत्रपत्रिका र रेडियोमा आउँदा अति खुशी लाग्छ / मा पनि ठाडोभाका गाउन सक्छु, तर परदेश बसेकोले कला र गला ओझेल परे जस्तो भयो / कहिँकतै ठाडोभाका जागरण प्रतिस्थान भए सम्पर्कमा रहन चाहन्छु / धन्यवाद !