आउँदाे कात्तिकभित्र घर बनाउन सुरु नगर्ने लाभग्राहीलाई अनुदान नदिइने

 भदौ २७, २०७६ शुक्रबार ६:२५:४० | रासस
unn.prixa.net

भक्तपुर - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पको लाभग्राही सूचीमा परेको भूकम्पपीडितले आउँदो कात्तिक मसान्तभित्र घर निर्माण कार्य शुरु नगरे अनुदान नपाइने बताउनुभएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, भक्तपुरले बिहीबार गरेको निजी आवास पुनर्निर्माण कार्यक्रमसम्बन्धी गोष्ठीमा उहाँले कात्तिक मसान्तभित्र घरको जग पनि नहाल्ने लाभग्राहीले अनुदानको रकम नपाउने बताउनुभयो ।
     
तेस्रो किस्ता आउँदाे माघ मसान्तसम्म लिइसक्नु पर्ने गरी घर निर्माण सुरु गर्न आग्रह गर्दै उहाँले गाउँगाउँमा रहेका इञ्जिनियरलाई गाउँ नछाड्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘विभिन्न परीक्षा र अन्य बहानामा कोही पनि इञ्जिनियरले गाउँ नछाड्नुस्, काम गर्न मन नलागे बिदा लिनुस्, तर गाउँ नछाड्नुस्, गाउँ छाड्ने र प्रभावकारी रुपमा काम नगर्ने इञ्जिनियरलाई अब बिदाइ गरिन्छ ।‘’

उहाँले वडादेखि नगरपालिकासम्मका प्रमुखलाई दैनिक काममा नजाने इञ्जिनियरलाई हाजिर नगराउन आग्रह गर्नुभयो । उहाँले स्थानीय जनप्रतिनिधि र इञ्जिनीयरले एकै पटक परिचालन हुँदै आ–आफ्नो क्षेत्रमा कहिलेसम्म पुनर्निर्माणको काम सम्पन्न गराउने भन्नेबारेमा लक्ष्य निर्धारण गर्दै योजनाबद्ध रुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारले आफैँ धितोजमानी बसेर सहुलितयमा तीन लाख रुपैयाँसम्मको ऋण दिने भने पनि भूकम्पपीडितले ऋण लिन नसकेको अवस्था र कारण पहिचान गर्न इञ्जिनियरलाई निर्देशन दिँदै उहाँले जनप्रतिनिधिले यसमा सहयोग गर्न आग्रह गर्नुभयो । 

नक्कली भूकम्पपीडितले घर बनाएका छन् भने त्यसको पहिचान गरी कानूनीरुपमा पहिलो किस्ता फिर्ता गर्ने र घर बनाउनै नसकेर नबनाएकाको हकमा भने समस्या पहिचान गरेर समाधान खोज्ने उहाँको भनाइ थियो । कार्यक्रममा प्राधिकरण भक्तपुर एकाइका प्रमुख ध्रुव गैडालगायत विभिन्न व्यक्तिले पुनर्निर्माणको पछिल्लो अवस्थाबारेमा आफ्नाे धारणा राख्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया