गोरखा दरबार पुनर्निर्माण : १६ महिनामा बल्ल मूल ढोका राखियो

 भदौ २७, २०७६ शुक्रबार १५:४८:९ | किरण लोहनी
unn.prixa.net

काठमाण्डौ – गोरखा दरबार पुनर्निर्माणको ठेक्का अवधि सकिन ३ महिना मात्रै बाँकी रहँदा बल्ल मूल ढोका राखिएको छ ।

दरबार पुननिर्माणका लागि २०७४ सालको कात्तिकमा पचली सिभाको जेभी नामको ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार आउँदो मंसिर मसान्तसम्ममा पुनर्निर्माणको काम पूरा हुनु पर्ने भए पनि हालै मात्रै भुईँतलाको काम सुरु भएको हो ।

भुईँतलाको मूलढोका विधिपूर्वक स्थापना गरिए पनि त्यही तलाको अरु पाँच वटा ढोका र आँखीझ्याल जडानको काम भने बाँकी रहेको छ । काठको काम सकिएपछि मात्रै परम्परागत इँटाको गाह्रो लगाउने काम सुरु हुने पुननिर्माणको प्राविधिक रेखेदेखमा खटिनुभएका पुरातत्व विभागका इन्जिनियर नविन पाण्डेले बताउनुभयो । उहाँका अनुसार हालसम्म पुनर्निर्माणको झण्डै २५ प्रतिशत काम सकिएको छ ।

अहिलेकै गतिमा काम भए अबको ६ महिनामा गोरखा दरबार पुननिर्माणको काम पूरा हुने उहाँको भनाइ छ । ‘बीचमा रोकिए पनि अहिले निकै राम्रो गतिमा काम भैरहेको छ, यही गतिमा काम भए अबको ६ महिनाभित्र नयाँ दरबार बनिसक्छ’, पाण्डेले भन्नुभयो, ‘काठको काम गर्ने र गाह्रो लगाउने कामदारबीच तालमेल मिल्नुपर्छ, अनि फाटाफट काम हुन्छ ।’

ऐतिहासिक गोरखा दरबार ४ तल्लाको रहेको थियो । पुनर्निर्माणका क्रममा पनि पुराना संरचना परिवर्तन नहुने गरी चारै तल्लाको दरबार बन्नेछ । निर्माण व्यवसायी सुशीलबाबु श्रेष्ठले भने आगामी फागुन मसान्तसम्ममा दरबार पुनर्निर्माणको काम सकेर पुरातत्व विभागलाई हस्तान्तरण गर्ने दाबी गर्नुभएको छ । जग बलियो बनाउने भन्दै विभागका इन्जिनियरहरुले अध्ययनका लागि अतिरिक्त पाँच महिना समय लिएकाले पुनर्निर्माणको काम लक्ष्य अनुसार हुन नसकेको उहाँको भनाइ छ ।

मंसिरमा ठेक्का अवधि सकिने भए पनि झण्डै ६ महिना म्याद थप हुने पुरातत्व विभागका कर्मचारीहरुको भनाइ छ । पुनर्निर्माणलाई गति दिनका लागि गोरखा दरबार हेरचाह अड्डा, पुरातत्व विभाग र निर्माण व्यवसायीबीचको समन्वयमा जोड दिइएको हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले बताउनुभयो । ‘अहिले हामी निरन्तर पुनर्निर्माणको काममै ध्यान दिइरहेका छौँ, निर्माण व्यवसायी पनि सक्रिय भएर लाग्नुभएको छ’, उहाँले भन्नुभयो, ‘काममा तालमेल मिलिरहेको छ, डाँडामा भएको दरबारसम्म निर्माण सामग्री ल्याउन र पानीको बन्दोबस्त गर्न गाह्रो भएकाले काममा अलि ढिलाइ चाहिँ भएकै हो ।’

२०७४ सालको कात्तिकमा ठेक्का सम्झौता भए पनि २०७५ सालको वैशाख ७ गते  मात्रै विशेष साइत निकालेर दरबारको जग पूजा गरी पुनर्निर्माणको काम सुरु भएको थियो । पुनर्निर्माणका लागि ऐतिहासिक दरबार जगैसम्म भत्काइएको छ । पुननिर्माणका लागि ठेकेदार कम्पनीसँग ४ करोड ३७ लाख रुपैयाँमा गएको वर्षको कात्तिकमा ठेक्का सम्झौता भएको थियो ।

भक्तपुरे शैलीको गोरखा दरबारमा विक्रम संवत १९९० को भूकम्पमा पानी छिरे पनि देखिने गरी ठूलो क्षति भएको थिएन ।  २०७२ को भूकम्पले भने दरबारको पूर्वी भागमा क्षति पुगेको थियो । दरबारमुनिको संरचना अध्ययनका क्रममा ढुंगा फुटेको, पूर्वी भागमा ठूलाठूला प्वाल परेको भेटिएको थियो ।

ऐतिहासिक गोरखा दरबारको निर्माण कहिले भएको भन्ने यकिन नभए पनि राम शाहको पालामा निर्माण सुरु भै त्यसपछिका राजाहरुको पालामा संरचना थप र स्वरुप परिवर्तन भएको इतिहासविद्हरुले बताउने गरेका छन् । राम शाहदेखि पृथ्विनारायण शाहसम्मका १० राजाले त्यही दरबारबाट राजकाज चलाएका थिए ।

अन्तिम अपडेट: चैत १६, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया